सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका-९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार (११ साउन) शिलान्यास गरिएको छ ।
भारत सरकारको करिव ७ करोड पचास लाख आर्थिक सहयोगमा निर्माण हुन लागेको विद्यालय भवनको काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दन र शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
मित्रराष्ट्र भारतको उच्च प्रभाव सामुदायिक विकास परियोजनामध्ये दार्चुला जिल्लामा सञ्चालन भइरहेको यो एघारौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना रहेको र शैल्यशिखर नगरपालिकामार्फत कार्यान्वयन हुने जनाइएको छ ।

शैल्यशिखर नगरपालिकाका मेयर तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गर्दै नयाँ पूर्वाधारले दार्चुलाको शैल्यशिखर नगरपालिकाका विद्यार्थी र शिक्षकहरूका लागि सिकाइको वातावरण बढाउन मद्दत गर्ने विश्वास प्रकट गरेका छन् ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गरेको भारतीय दूतावासले जनाएको छ ।
प्रतिक्रिया