क्याम्पसमा तालाबन्दी भएको छैन

क्याम्पसमा तालाबन्दी भएको छैन


घटना र विचार साप्ताहिकमा गत साता ‘कनिष्टलाई काखी च्याप्दा क्याम्पसमा तालाबन्दी’ शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा उल्लेख गरिएझैँ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा क्याम्पसप्रमुख नियुक्तिका विषयलाई लिएर एक पक्षबाट विवाद खडा गर्न खोजिएको भए पनि त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा तालाबन्दी भएको कुरा पूरै झुटो र काल्पनिक हो । असार १५ सम्म पठनपाठन बन्द भए पनि प्रशासन चालू नै रहेको जानकारी गराउन चाहन्छु । नयाँ क्याम्पसप्रमुखमा केशवराज शर्मा नियुक्त भएर आएपछि क्याम्पसको समग्र वातावरणमा सुधार आएको यथार्थलाई पूरै ढाकछोप गर्दै पूर्वाग्रही समाचार सम्प्रेषण गराइएको छ । घटना र विचारजस्तो पुरानो र लोकतन्त्रको वकालत गर्ने पत्रिकामा यथार्थ नबुझी यस्तो समाचार प्रकाशित भएकोमा हामीलाई दु:ख लागेको छ ।
– टंकप्रसाद भट्टराई (अध्यक्ष, प्रजातन्त्रवादी प्राध्यापक संघ, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा), हरिबोल भट्टराई (सभापति स्ववियु, त्रिबक्या), चित्रादेवी गैरे (कावा सभापति, त्रिवि कर्मचारी संघ, त्रिबक्या)

गजुर फेरेको हो, भ्रष्टाचार भएको होइन
सम्पादकज्यू,
०६९ जेठ ३१ गतेको घटना र विचार साप्ताहिकको वर्ष १७ अङ्क ५० को पृष्ठ ७ मा ‘मन्दिरका अध्यक्ष भ्रष्टाचारमा लिप्त’ शीर्षकको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ । समाचारमा रकम हिनामिना र प्रलोभनमा परी गजुर राखेको भनी भ्रम पार्न खोजिएको छ । यसबारे तथ्य कुरा के हो भने ०६८ असोज १५ गते नै पदमप्रकाशेश्वर महादेव मन्दिरको आर्थिक वर्ष ०६७÷६८ को १३ लाख २७ हजार नौ सय ५० रुपैयाँ ५४ पैसाको लेखापरीक्षण भइसकेको छ । पुरातत्वव विभागबाट आएको एक लाख रकमको पनि काम भई लेखापरीक्षणमा आइसकेको छ ।
०६७ मङ्सिरमा स्थानीय कुमारराज शाहीले सुनको जलप भएको पुरानै (२५ वर्षअघि चोरी भएको गजुरजस्तै) शैलीको गजुर राख्ने प्रस्ताव गर्नुभएको थियो । ०६७ माघमा सुकदेव राजभण्डारीले मन्दिर सञ्चालक समितिसँग परामर्श नगरी आधुनिक शैलीको गजुर राखेको साँचो हो । तर, त्यसअघि नै प्रस्ताव गरेका कुमारराज शाहीकी आमाको निधन भई गजुर ढिलो पुगेकाले ०६८ चैत २६ को मन्दिर सञ्चालक समितिको निर्णयले राजभण्डारीले मनोमानी राखेको गजुरको ठाउँमा शाहीले ल्याएको गजुर राखिएको प्रस्ट पार्न चाहन्छु ।
समुदायमा रही पवित्र भावनाले काम गर्दा पनि मलाई क्षुद्र र भ्रष्ट भनी लाञ्छाना लगाइएबाट म दु:खी भएको छु । मैले सामाजिक संस्थामा नराम्रो काम गरेको भए संस्थाको हिसाबकिताब हेर्न, कार्यसमितिमा छलफल गराउन वा साधारणसभामै छलफल गर्न सकिने भए पनि संस्थासहितको बदनाम गराउने कार्यप्रति आपत्ति प्रकट गर्दै खण्डन प्रकाशन गरिदिन अनुरोध गर्दछु ।
– विदुरलाल कायस्थ (अध्यक्ष, पदमप्रकाशेश्वर महादेव मन्दिर, सत्ती, कैलाली)