स्वीकृत पञ्चाङ्गकै यो हविगत

स्वीकृत पञ्चाङ्गकै यो हविगत


हाम्रो मुलुकको धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक चाडपर्वहरूमा केही वर्षदेखि विभिन्न कोणबाट विचलन, विकृति र विसङ्गति पैmलिरहेको उदाहरणीय यथार्थता मःपूजा र यःमधिपुन्हीःका अतिरिक्त अब नागपञ्चमी र दुर्वाष्टमीमा पनि छोएकोे छ । हाम्रा यी चाडपर्वहरू चान्द्रमान एवम् सौरमानका आधारमा ज्योतिषीय कालगणनाअनुसार निरुपण भई कर्मकालव्यापिनीलाई नै प्रधानता दिइएको पाइन्छ । तिथि क्षय वा वृद्धि भएमा पनि परम्परागत चाडपर्वहरूमा असर नपर्ने गरी ज्योतिषग्रन्थ एवम् धर्मशास्त्रहरूमा विधिसम्मत व्यवस्था गरिएको हुनाले ती शास्त्रहरूद्वारा निर्दिष्ट वैशिष्ठ्य महत्ताले हाम्रा धार्मिक एवम् सामाजिक–सांस्कृतिक कर्म र कृत्यहरूको उद्देश्य, महत्व र स्थायित्वमा पनि बलवान बनाएका छन् । यदि यसलाई अन्यथा सोचिएमा शास्त्रीय मर्यादाको नियम भङ्ग गरी विधिको अनुशासन तोडिएको पुष्टि हुन्छ । अतः नेपाली जनताले आ–आफ्ना सम्पत्तिरूपी मौलिक पहिचानलाई जगेर्ना गर्दै सही मानेमा शास्त्रसम्मत नियम र विधिबमोजिम धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक चाडपर्वहरू शुद्धताका साथ उपभोग गरी पुण्य प्राप्त गर्न सकून् भन्ने मूल उद्देश्य लिई ईश्वरको उपहारस्वरूप जन्मने मनुष्यले आफ्नो जीवनकालमा कमसेकम पूर्वजले तय गरेका वैदिक, आध्यात्मिक एवम् तन्त्रोक्त विधिविधानयुक्त परम्परागत मौलिक चाडपर्वहरू नबिर्संदा पनि यसको संरक्षण र सम्बद्र्धन हुने हुन्छ ।
यसर्थ मुलुकका धुरन्धर विद्वत्वर्ग रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिको स्वीकृतिमा प्रकाशित सूर्यसिद्धान्तद्वारा प्रतिपादित पञ्चाङ्ग पात्रोहरूमा उल्लेखित यस वर्ष ०६९ को नागपञ्चमी र दुर्वाष्टमी पर्व बिलकुल मिलेका छैनन् भने ती पात्रोका आधारमा प्रकाशित विभिन्न सङ्घ–संस्था एवम् समूहहरूद्वारा प्रकाशित गोजीपात्रो एवम् दिनदर्शिकाहरूमा पनि ती पर्वहरू स्वतः मिलेका हुँदैनन् । अतः विज्ञहरूले त्यसरी जथाभावी चाडपर्वहरू तय गर्नु प्रचलित धर्मसिन्धु र निर्णयसिन्धुलगायतका अन्य ग्रन्थहरूमा उल्लेखित शास्त्रीय प्रमाणहरू विपरीत छन् । किनभने, १. नागपञ्चमी ः शास्त्रानुसार श्रावणशुक्लपक्षको पञ्चमी तिथिका दिन सूर्योदयबाट ३ मुहूर्त अर्थात् ६ घडी वा त्योभन्दा अधिक भएको पञ्चमी मात्र नागपञ्चमी हुने र पुण्य फलप्राप्तिका लागि त्यस्तो शुद्ध पञ्चमीमा गरिने नागोपासना, पूजन, ब्रतोपवासले मात्र नागदेवताको आशीर्वाद पाउन तथा नागदोषबाट मुक्त हुनको निमित्त प्रशस्य एवम् ग्राह्य मानिन्छ । तर, नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा स्वीकृत यस वर्षको पात्रोहरूमा साउन ९ गते मंगलबार पञ्चमी १ घडी ५० पला मात्र छ र यस्तो पञ्चमीमा नागपूजानादि कृत्यका लागि शास्त्रीय मर्यादाअनुसार प्रशस्य हुँदैन र शुद्ध पनि मानिँदैन भने अघिल्लो दिन साउन ८ गते सोमबार चतुर्थी ५ घडी ३८ पला मात्र रहेको र कमसेकम ६ घडी नभईकन पञ्चमीलाई त्यस चतुर्थीले वेध (अशुद्ध) गर्न नसक्ने भएकोले शास्त्र सिद्धान्तअनुसार साउन ८ गते सोमबारको पञ्चमी तिथि प्राप्त कालमा नै सबैले आ–आफ्ना घरको द्वारमा नागको आकृति वा चित्र टाँसी नागपूजा गर्नु सर्वथा शास्त्रसम्मत उचित हुन्छ र यसका लागि ज्योतिषग्रन्थ एवम् धर्मशास्त्रीय अनुमति पनि प्राप्त छ । यदि यसअघि पहिले पनि ३ मुहूर्त अर्थात् ६ घडीभन्दा कम पञ्चमीमा नागपूजन् गरिँदै आएका छन् भन्ने हो भने सोे गल्ती गरेर आइरहेका छौँ र त्यस्तो जघन्य गल्तीलाई निरन्तरता दिनु हुँदैन । तसर्थ, शास्त्रीय वचनानुसार गलत एवम् अशुद्ध र अशास्त्रीय परम्परालाई चेतना भएपश्चात् तोडेर शास्त्रसम्मत् सुधार गरी मध्याह्नव्यापिनी पञ्चमीमा अर्थात् साउन ८ गते सोमबार नै नागपञ्चमी पूजन् गर्नुपर्छ । अतः ज्योतिषीय गणना घडी पलाका कारण नेपाल पञ्चाङ्ग निर्णायक समितिको स्वीकृतिमा प्रकाशित पात्रोहरूअनुसार साउन ९ गते मंगलबार नागपञ्चमी पर्व हुँदैन ।
२. दुर्वाष्टमी ः धार्मिक दृष्टिकोणले अति महत्वपूर्ण दुर्वाष्टमी व्रत पर्व भाद्रशुक्ल अष्टमीतिथि प्राप्त कालमा मनाउनुपर्ने भए तापनि यस वर्ष सो भाद्रशुक्ल अष्टमीमा अधिकमास परेकोले मलमास पक्षमा दुर्वाष्टमी व्रतपर्व लिन मिल्दैन र अगाडिको अष्टमीमा दुर्वाष्टमी व्रतपर्व गर्नु भन्ने स्पष्ट धर्मशास्त्रीय निर्णय भएको हुँदा दुर्वाष्टमी व्रत एवम् गौरापर्व वा गौराष्टमी व्रत मनाउने दिन यो वर्ष शुद्धभाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्णजन्माष्टमी साउन २५ गते वृहस्पतिबारका दिनमा नै दुर्वाष्टमी व्रत पनि लिनुपर्ने भयो । अतः नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा स्वीकृत पात्रोहरूमा उल्लेख भएबमोजिम मलमासको पक्ष भाद्रशुक्ल भाद्र ८ गते शुक्रबार दुर्वाष्टमी व्रतम भनी लेखिएको धर्मशास्त्रविपरीत भएकोले मिलेन ।
‘शास्त्रग्रन्थ थाहा छैन हामीले भनेअनुसार नै गर्नुपर्छ’ भन्नेहरूको पछि लागेर ‘कर्मणो यस्य यः कालस्तत्कालव्यापिनी तिथिः’लाई बेवास्ता गर्दै सूर्योदयकालीन प्राप्त तिथि एक पल वा एक घडी मात्र भए पनि दिनभर त्यही तिथि हुन्छ भनी तोकिएको कर्म कालविशेषको चाडपर्वहरू मान्नु सर्वथा शास्त्रीय वचनविपरीत नै हुन्छ । अतः जिम्मेवार नेपाल पञ्चाङ्ग निर्णायक समिति र सम्बद्ध विद्वान्जन सबैले शास्त्रीय मर्यादातिर पनि विशेष ध्यान दिई यी चाडपर्वहरूको तिथिमितिहरू पालना गरेर सुधारेको वा संशोधित जानकारी सर्वसाधारणमा सार्वजनिक रूपमा सम्प्रेषित गर्नु वाञ्छनीय हुन्छ र चुप लागेर बस्न मिलेन अन्यथा, सम्बन्धित पक्षले कारणसहित आफ्नो व्यहोराकोे आधार र प्रमाण सार्वजनिक गरी स्पष्टता प्रकट गर्नु नै पर्दछ ।
– दैवज्ञ कीर्तिमदन जोशी (पञ्चाङ्ग निर्देशक समिति सदस्य, नेपाल संस्कृत विश्वविद्यालय), मो. ९८४१७६९९०४,

बाबुरामले बगाए !
सरकारविपक्षी राजनीतिक दलहरूको घोर विरोधका बाबजुद कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराई पूर्ण आकारको बजेट ल्याउन तल्लीन देखिएका छन् । सहमतिका लागि कुर्सी छोड्लान् कि भन्ने आश लगाएर बस्नेहरू उनको यो जिरहपन देखेर जिल्ल र रनभुल्ल परेका छन् । राष्ट्रपतिले केही गर्लान् कि भनेर बाटो हेर्नेहरूको आँखा टट्टाइसक्यो तर कसको डरले हो उनले केही कदम चाल्नै सकेनन् । उल्टै बाबुरामले त राष्ट्रपतिलाई नै धम्क्याउन पो सुरु गरेको अनुभूति हुन्छ । राष्ट्रपति तीन महिनाका लागि पेस्की बजेट ल्याउन सुझाउने प्रधानमन्त्रीचाहिँ पूर्ण बजेट ल्याउने र निर्वाचन गरेर नयाँ प्रधानमन्त्रीलाई मात्र कुर्सी सुम्पिने अड्डी नछोड्ने । काङ्ग्रेस र एमालेको आन्दोलनको हुति पनि देखियो । नपत्याउने खोलाले बगाउँछ भन्थे, डा. बाबुराम भट्टराईले पनि नपत्याउँदो चालले मुलुक नै बगाइदिने भए । जनता हुतिहारा भएपछि अब बाबुरामले चलाएको हावामा बग्नुबाहेक के नै बाँकी रह्यो र ?
– शारदा थापा, विशालनगर, काठमाडौं