सय घोडा पाल्नुभन्दा एउटा हात्ती पाल्नु नै बेस

सय घोडा पाल्नुभन्दा एउटा हात्ती पाल्नु नै बेस


चोरको खुट्टो काट् भन्दा चोरले फुत्त खुट्टो तान्छ भन्ने भनाइ विख्यात छ । अहिलेका राजनीतिक दलहरू त्यही गर्दै छन् । पूर्वराजाले विभिन्न ठाउँमा घुम्ने क्रममा उनका समर्थक र अनुयायीहरूले जयजयकार गरे, त्यसबाट उनलाई पनि आस लाग्यो होला, जहाँ जान्छन् त्यत्रो लस्कर मान्छे आएर स्वागत गरिदिएपछि हौसला जाग्यो पनि होला त के पहाड खस्यो ?
आज लोकतान्त्रिक गणतन्त्र आयो भनिएको छ । तर, हामीले लोकतन्त्रको अनुभूति के गर्न पायौँ ? प्रजातन्त्रमा स्वतन्त्र रूपले अभिव्यक्ति दिन पाइन्छ भन्थे तर प्रेसमाथि अङ्कुश लगाउन थालिएको छ, के लोकतन्त्रमा मुख थुन्दै हिँड्ने ? अहिले सिजनको बेला आलु धार्नीको सय रुपैयाँ नाघिसकेको छ । छोराछोरी स्कुलमा पढाइसक्नु छैन । महिनाको ८–१० हजार कमाउने मान्छेले यहाँ बाँच्नै नसक्ने अवस्था भइसक्यो । कि मर्नुपर्‍यो कि बहुलाउनुपर्‍यो भनेझैँ भएको छ । बहुलाउने दिन नै आउँदै छ धेरैको । न बत्ती छ न पानी, न त भनेको बेला ग्यास र मट्टीतेल नै पाइन्छ । शान्ति र सुरक्षा छैन । कतिपय नेताहरू ‘अहिले तपाईंहरूले बोल्न त पाउनुभएको छ, राजाको टाइममा बोल्न पाउनुभएको थियो ?’ भनी प्रतिप्रश्न गरेर थुमथुम्याउन खोज्छन् । के बोल्न पाउनकै लागि मात्र त्यत्तिका मान्छेहरू मरिदिएका हुन् त ? खाना, नाना र छाना चाहिन्छ नागरिकलाई बोल्न मात्र पाएर हुन्छ ? राजाको सम्पत्तिबारे धेरै कुरा आउँछ यहाँ । अहिलेका गणतन्त्रवादी नेताका सम्पत्तिका कुरा गर्दा दक्षिण एसियामै धेरै कमाउने नेता हामीकहाँ छन् भनेर चर्चा चल्न थालिसक्यो । यसको छानबिन हुनुपर्छ कि पर्दैन ? ०६२÷६३ को आन्दोलनमा स्वतन्त्र रेडियो बचाउ आन्दोलनसँग मिलेर सडकमा उत्रिएर सङ्घर्ष गर्ने मानिस म पनि एक हुँ । त्यतिबेला राजसंस्थाले साँच्चै देश खाएकै होला भन्ने मलाई पनि लागेको थियो, तर त्यो त मेरो ठूलो भ्रम पो रहेछ । दल र नेताका झोला र झण्डा बोक्ने आसेपासेले बाहेक अरू कसैले अहिले पाएका छैनन्, चम्चेहरूले त रजाइँ गरेका छन्, कुम्ल्याएका छन् ।
तसर्थ, म त के भन्न बाध्य भएको छु भने हजार घोडा पाल्नुभन्दा त एउटै हात्ती पाल्नु बेस हो । अहिले टोलैपिच्छे ‘राजा’ छन्, कानुन लाग्दैन तिनलाई जे–जे गरे पनि । प्रहरीले केही गर्न सक्दैन, सर्वसाधारण नागरिकले अनेक सास्ती खेप्नुपर्छ, जसको कुनै राजनीतिक पहुँच छैन । त्यसैले कसैको खुट्टो तान्नुभन्दा दलहरूले आफूले राम्रो काम गरेर देखाउनुपर्‍यो । पूर्वराजाले राजसंस्थाबारे कुनै सहमति भएको थियो भनेर जो अभिव्यक्ति दिनुभएको छ, मैले त त्यतिबेलै पनि सुनेको हो गोप्य सहमति भएको छ अरे राजासँग भन्ने । राजासँग सहमति भएको कुरा तत्कालै सुनाउँदा कार्यकर्ताले मार्छन्, बिस्तारै माहोल बनेपछि मात्र राजसंस्था स्थापना गराउने भन्नेमा नेताहरूले सहमति जनाएकै थिए भन्ने बजारमा गाइँगुइँ सुनिएको हो । चार–चार वर्षमा पनि संविधानको खेस्रोसम्म कोर्न नसक्नेहरू अहिले अझै संविधानसभा पुनस्र्थापनाको नाटक मञ्चन गर्न लाज मानिरहेका छैनन् । तसर्थ, सहमतिको केही आधार छ भने पूर्वराजाले बाहिर ल्याइदिनुभए हुन्छ । हिजो नेताका कुरामा लागेर तपाईंलाई फाल्ने जनता आज पुनः ल्याउनुपर्छ भन्दै अघिसरेका छन् । यो लोकतन्त्र, गणतन्त्र जे–जे भने पनि गनाउनेतन्त्र नै भइसकेको छ । यसबाट वाक्कदिक्क भइसकेका छन् जनता, म पनि त्यस्तै वाक्क भएको छु ।
– छविरमण अधिकारी, सिनामङ्गल, काठमाडौं