भलो गर्नेहरू अघि बढिरहून्

भलो गर्नेहरू अघि बढिरहून्


लगभग एघार वर्षअगाडि म बागमती अञ्चल प्रहरी प्रमुख थिएँ । त्यतिबेला सवारीसाधनहरूको लाइसेन्स बाँड्ने कार्य अञ्चल प्रहरी कार्यालयको जिम्मामा थियो । सबैभन्दा धेरै सवारीसाधन बागमतीमै भएका कारण लाइसेन्स लिने चाप पनि यहीँ हुनु स्वाभाविकै थियो । लाइसेन्स वितरणकार्य सबै व्यक्तिहरूसँग सम्बन्ध राख्ने कार्य हुने गर्दछ । त्यसमा ठूलाबडाका सिफारिस पनि आउने गर्दछन् । साथीभाइले भन्ने पनि गर्दछन् । पैसा कमाउन त्यो प्रक्रियालाई दुरुपयोग गर्नेहरू पनि हुने गर्दछन् । त्यहाँ पैसा कमाउने उद्देश्यले गएका कर्मचारीहरू पनि हुने गर्दछन् । त्यहीँबाट विज्ञापन खोज्ने व्यक्ति पनि हुन्छन् । धम्की दिँदै फाइदा लिन खोज्ने तत्वहरू पनि हुने गर्दछन् । त्यसैले लाइसेन्स दिने कार्य एक जटिल प्रकारको काम हुने गर्दथ्यो ।
त्यो प्रक्रिया आमजनताका लागि सकेसम्म सरल र सुलभ बनाउन चाहन्थेँ म । त्यसैले आमजनतालाई आफ्नो खुवीअनुसार कसैलाई नभनेर नै क्षमताका आधारमा लाइसेन्स प्राप्त गर्न सक्ने अवसर प्राप्त होस् भन्ने चाहन्थेँ । आमजनतालाई सरल र सुलभ ढङ्गले लाइसेन्स दिने कार्य सक्दो सुधार गर्न मैले एक एस्पीको संयोजकत्वमा सुधार गर्नुपर्ने बुँदाहरू सिफारिस गर्न अनुरोध गरेँ । त्यसमा धेरै बुँदाहरू आए । त्यसमध्ये एक थियो ट्रायल लिने स्थान ज्यादा समय प्रयोग गर्न नपाइने हुँदा आवेदकहरूले धेरै दिन कुर्नुपर्ने बाध्यता र त्यो बाध्यताको फाइदा उठाई आवेदकसँग पैसा खाने प्रक्रिया ।
एउटा समस्या के रहेछ भने काठमाडौंमा दैनिक एक–दुई सयसम्मले पनि लाइसेन्सका लागि अवेदन दिने गर्दा रहेछन् र त्यो आवेदन दिनेमध्ये केवल पचास–साठीजनाको मात्र पहिलो जाँचअन्तर्गत ट्रायल हुने गर्दो रहेछ । प्रत्येक दिन झण्डै सय सङ्ख्याकाले आवेदन दिएपश्चात् ट्राइल दिन नपाएर अड्किएकाहरूको सङ्ख्या दिनप्रतिदिन थपिँदै जाँदोरहेछ र त्यस्तो सङ्ख्या म पुग्दा झण्डै दुई–तीन हजारजति नै पुगिसकेको रहेछ । जब ट्रायल जाँच दिने पालो आएन त्यसपछि आवेदकहरूले मेरो पालो कहिले आउँछ ? भनेर बुझ्न जानुपर्ने र कुर्नुपर्ने बाध्यता आएछ । त्यो बाध्यता भएका व्यक्तिहरूमध्ये कसैलाई हतार हुनु पनि स्वाभाविक थियो । अब यहीँनेर दलालहरूको चलखेल सुरु भएछ । दलालहरूले त्यस्ता व्यक्तिहरूलाई हामी ट्रायल छिटो गरिदिन्छौँ भन्दै पैसा माग्ने र तल्ला प्रहरी कर्मचारी मिलाई त्यस व्यक्तिको नामलाई अगाडि सारिदिने अभ्यास सुरु हुन थालेछ । यही अभ्यासले निकै ठूलो रूप लिन थालेपछि सर्वसाधारण पनि यही बाटो सजिलो छ भनेर कुर्नुभन्दा छड्के बाटोबाट हिँड्न थालेछन् ।
मेराअगाडि त्यतिबेला विभिन्न चुनौतीमध्ये एक यो नयाँ चुनौती आयो । त्यतिबेला प्रहरीको आफ्नै ट्रायल लिने स्थान नभएका कारण बग्गीखानासँग जोडिएको नेसनल ट्रेडिङ लिमिटेडमा ट्रायल लिने काम हुन्थ्यो । नेसनल ट्रेडिङ लिमिटेडमा दशदेखि पाँचसम्म आफ्नै कार्यालय लाग्ने हुँदा आफ्नो हातालाई उक्त कार्यालयले बिहान ६ देखि ९ बजेसम्म मात्र प्रयोग गर्न दिँदो रहेछ । बिहान दुई–तीन घण्टामा जति गरे पनि दैनिक आवेदनलाई धान्न सक्ने त्यस ट्रायल लिने स्थलको क्षमता रहेनछ ।
अब यस समस्यालाई हेर्ने मसँग दुईवटा दृष्टिकोण हुन सक्थ्यो, पहिलो– जे छ त्यसैलाई निरन्तरता दिने र पहिला आवेदन दिनेलाई पहिला ट्रायलको अवसर हुने प्रक्रियालाई बलियो बनाएर लैजाने र दोस्रो– ट्रायलका लागि नयाँ स्थान खोजेर सबैलाई छिटो–छरितो सेवा प्रदान गर्ने । मैले दोस्रो विकल्प रोजेँ र त्यतिबेला सवारी फाँट भनिने लाइसेन्स प्रदान गर्ने शाखाका प्रमुखलाई नयाँ विकल्पबारे पनि सोच्न निर्देशन दिएँ । पहिला हामीले प्रहरी कार्यालयभित्रै कतै गर्ने सोच राख्यौँ, त्यो सम्भव भएन । दोस्रो– टुँडिखेलमा हुन सक्छ कि भनी सोच्यौँ । त्यो पनि सम्भव भएन । सिंहदरबारभित्र कतै हुन सक्छ कि भन्ने पनि सोचियो तर सुरक्षाका दृष्टिले पनि सम्भव भएन । अन्तमा खोज्दै जाँदा हामीले कलंकी चोकभन्दा पश्चिम ट्रकपार्क बनाउन भनी राखिएको खाली जमिन पायौँ । त्यसको धनीसँग कुरा गर्दा उनले त्यो जमिन ६ महिनाका लागि निःशुल्क प्रदान गरी प्रहरीलाई सहयोग गर्ने वचन दिए । हामीले सोच्यौँ ६ महिनाभित्र अहिलेको समस्या समाप्त गर्न पाए त्यसबीच नयाँ स्थान पनि आउन सक्छ, यही सोच राखी मैले तत्कालीन डीआईजी साहवलाई टेलिफोनबाट जानकारी गराएँ । कानुनमा ट्रायल लिने स्थानको व्यवस्था गर्ने जिम्मा लाइसेन्स लिने कार्यालयले नै तय गर्ने व्यवस्था थियो ।
आखिर केही दिनपछि हामीले ढुङ्गाअड्डा भन्ने ठाउँमा ट्रायल लिने काममा सुरु गर्‍यौँ । त्यो स्थान हामीले दिनभरि प्रयोग गर्न पाउने र स्थान पनि करिब असी रोपनी भएको हुँदा महिनौँदेखि अड्किएर बसेका आवेदनहरूले भटाभट ट्रायल परीक्षा दिन पाए । दिनभरि नै त्यहाँ ट्रायल हुने सम्भावना थियो । त्यसपछि मैले सवारी फाँटमा निर्देशन दिएँ कि जुन दिन कसैले आवेदन दिन्छन् यदि ट्रायल प्रक्रियामा जाने उम्मेदवार छन् भने त्यही दिन नै ट्रायल समाप्त गरिदिनू ।
जब यसरी जुन दिन प्रक्रिया पुर्‍याई आवेदन दियो त्यही दिन ट्रायल हुन सक्ने भएपछि त्यहाँ कसैले दलाली गर्ने र पैसा माग्ने सम्भावना नै भएन । पास हुने पास हुन्थे फेल हुने फेल । कामकारबाही भटाभट हुन थाल्यो । मैले कमसेकम जनतालाई सेवा दिने कार्यमा छिटो–छरितोपन आएकोमा खुसी व्यक्त गरेँ ।
केही समयपछि त्यहाँबाट मेरो सरुवा भयो । ममाथि अख्तियारमा भ्रष्टाचारको मुद्दा हालियो । त्यसमा छानबिन भयो । छानबिनको क्रममा सूर्यनाथ उपाध्याय नेतृत्वको अनुसन्धान अधिकृतले मलाई बारबार यही आसयको प्रश्न गरे कि ‘तपाईंले ट्रायल लिने स्थान सारेर धेरैभन्दा धेरै लाइसेन्स दिँदै भ्रष्टाचार किन गर्नुभयो ?’
जब म यो प्रश्न अनुसन्धान अधिकृतको मुखबाट सुन्थेँ, मेरो मनमा एउटा विश्वास गहिरोसँग बस्न पुग्थ्ये कि यो देश सतीले सरापेको देश हो । यहाँ राम्रो गर्नेको भलाइ हुँदैन भन्ने कथन ठीकै रहेछ । यो प्रश्न निकै दिन सोधियो । ठाउँ सार्नु परेकै भ्रष्टाचार नहोस् भनेर थियो भन्दै त्यसबखतको अवस्था बुझाउन म प्रयास गर्दथेँ, तर त्यहाँ कोही पनि यसरी मेरो कुरा मान्न तयार थिएनन् । ती अनुसन्धान अधिकृतलाई कुनै अफिसरले आफूले दिने सेवालाई जनमुखी बनाउनका लागि उसले सेवा दिने प्रक्रिया परिवर्तन गर्न सक्छ वा गर्न हुन्छ भन्ने सोचाइ नै थिएन । उनी केवल त्यो परिवर्तन भ्रष्टाचार गर्नकै लागि थियो भन्नेमा नै विश्वस्त थिए । अर्को पाटो अर्थात् मेरो सोचको पाटो उनी खोल्न र हेर्न तयार नै थिएनन् ।
अहिले त्यो अनुसन्धान अधिकृतले मलाई त्यो प्रश्न सोधेको पनि झण्डै आठ वर्ष बितिसकेको छ तर पनि मैले त्यो प्रश्न र त्यस प्रश्नद्वारा ममाथि लगाइएको मित्थ्या आरोप मैले अझै विर्सेको छैन । उनले यदि अर्कोतर्फबाट सोचेको भए मानिसलाई सरकारी सेवा लिन घुस खुवाउनुपर्ने बाध्यता मैले समाप्त गरिदिएकोमा उनले मलाई धन्यवाद पनि दिन सक्थे तर त्यतापट्टि उनको सोच नै थिएन । उनको दिमागमा केवल नकारात्मक सोच नै भरिएको थियो । मपछि पुनः त्यो ट्रायल दिने स्थान उही पुरानो नेसनल ट्रेडिङमै सारियो ।
मैले विकसित देश र अविकसित देशका जनताबीच एक मौलिक मित्रता यो पनि पाएँ कि अविकसित देशमा कोही कसैको राम्रो कामको कदर वा प्रशंसा गर्न चाहँदा रहेनछन् । ज्यादै कम मात्र व्यक्ति हुँदा रहेछन् जसले अरूका राम्रा कामको प्रशंसा गर्छन् । राम्रो कामको प्रशंसा गर्न पनि ज्यादै फराकिलो हृदय चाहिने रहेछ । यहाँ क्रमशः चाहे राजनीतिमा होस्, कर्मचारी तन्त्रमा होस्, व्यापारिक सर्कलमा होस् कसैले राम्रो काम गर्न सक्छ भन्ने नै विश्वास हुन छोडिसकेको छ । सबैलाई सबैप्रति शङ्का मात्र हुन थालेको छ ।
नेपालको अहिलेको विकासको स्तर र मानिसहरूको नकारात्मक सोचको आँकडा अध्ययन गर्ने हो भने अझै धेरै वर्ष यो मुलुकमा विकास वा रचनात्मक काम हुने छाँट देखिँदैन । विकास वा सिर्जनाका लागि पुराना असफल भएका नीति, नियम, कार्यप्रणाली परिवर्तन गर्नुपर्ने हुन्छ । त्यो गर्न कि त कोही तयार नै छैनन् कि त गर्नेहरू आफैं समस्यामा परेका छन् । धेरै वर्षअघि मैले गरेको राम्रो कामलाई उल्टो ढङ्गले सोचेर मलाई अपमानजनक प्रश्न गर्ने अख्तियारका तत्कालीन अनुसन्धानकर्ताको अनुहार मात्र पनि सम्झँदा अझै पीडा र आक्रोश जन्मन्छ, तर मैले यसको जवाफ इजरायलमा पाएँ । जब मैले जीवनभर अरूकै भलाइमा सक्रिय रहेका जिसस क्राइस्टलाई झण्डै १९ दिनसम्म (क्रसकाठमा) झुन्ड्याएर किला ठोकी तत्कालीन मान्छेहरूले आरोप लगाएर मारेको देखेँ– त्यसपछि मैले बुझेँ हामीले भगवान् भनेर मँन्ने देवी–देवताहरूले त त्यसरी आरोप, अपमान, पीडा खेप्नुपर्ने रहेछ भने म त एक तुच्छ मानिस मात्र न हुँ । त्यसपछि मलाई लाग्यो– समाजमा आफ्नो भलाइबाहेक पूरै समाजको भलाइ सोच्ने कमै व्यक्ति हुन्छन् । तर, जो–जो यो कठिन यात्रामा लाग्नुभएको छ तपाईंहरू अपमान, आरोप, दुःख–कष्टसँग अत्तालिएर पछि हट्नुहुँदैन, नत्र यो समाज मानिस बस्नलायक हुने छैन । थोरै भए पनि त्यस्ता मानिस अघि बढी नै रहनुपर्छ ।