प्रवेश श्रेष्ठ र अनिलकुमार थापा सातौँ राष्ट्रिय खेलकुद– २०७२ अन्तर्गत १५औँ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा आ–आफ्नो स्पर्धामा च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भक्तपुरका प्रवेशले ८० केजी तौल समूहमा पहिलो भएका हुन् । त्यस्तै सोही प्रतिस्पर्धामा सुनसरीका पारस भुजेल दोस्रो र काठमाडौंका नरेश मालाकारले तेस्रो भएका थिए । यसैगरी चितवनका अनिलले ८० केजीमाथि शीर्ष स्थान हासिल गरेका थिए । नुवाकोटका तिलक तामाङ दोस्रो र झापाका तुल श्रेष्ठ तेस्रो भएका थिए ।
राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित प्रतियोगिताको ५५ केजीमा काठमाडौंका रवि महर्जन पहिलो, कास्कीका सुरेश गुरुङ दोस्रो र काभ्रेका उमेश बलामी तेस्रो भए । ६० केजीमा ललितपुरका रुजेश शाहीले पहिलो, कपिलवस्तुका सञ्जीवकुमार श्रेष्ठले दोस्रो तथा मोरङका रमेश कार्की तेस्रो भएका थिए । ६५ केजीमा झापाका रामबहादुर दाहाल पहिलो, काठमाडौंका अनिललाल श्रेष्ठ दोस्रो तथा त्रिभुवन आर्मी क्लबका दीपकध्वज शाही तेस्रो भएका थिए । त्यस्तै सातौँ राष्ट्रिय खेलकुदको पहिलो राष्ट्रिय प्रतियोगिताको ७० केजीमा काभ्रेका रामहरि खनाल पहिलो, भक्तपुरका उज्ज्वलरत्न बज्राचार्य दोस्रो तथा रूपन्देहीका चन्द्रमान श्रेष्ठ तेस्रो भए । ७५ केजीमा काठमाडौंका महेश्वर महर्जन पहिलो, चितवनका नवीनकुमार गुरुङ दोस्रो र दोलखाका सुवर्ण खड्का तेस्रो भएका थिए ।
विजेतालाई राखेपका सदस्यसचिव केशवकुमार विष्ट, नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठलगायतले पुरस्कृत गरेका थिए । त्यसअघि प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले प्रतियोगिताको उद्घाटन गर्दै सातौँ राष्ट्रिय खेलकुद भव्य र सफलतापूर्वक सम्पन्न गर्न शुभकामना दिएका थिए । प्रतियोगितामा विभिन्न २५ जिल्ला र त्रिभुवन आर्मी क्लबका गरी जम्मा ६७ पुरुष खेलाडीले विभिन्न सात तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । पहिलो दिन भएका प्रिजजिङ राउन्डको प्रत्येक तौल समूहबाट पाँच–पाँच खेलाडी फाइनलमा प्रवेश गरेका थिए । अन्तिम दिन तिनै खेलाडीबीच उपाधिका लागि भिडन्त भएको थियो । प्रत्येक तौल समूहको उपाधि विजेता मिस्टर नेपालसमेत बनेका छन् ।
प्रतिक्रिया