आत्मनिर्भरताको अभियान अपरिहार्य– राजीव पहारी (अध्यक्ष, युवा सङ्घ, नेपाल)

आत्मनिर्भरताको अभियान अपरिहार्य– राजीव पहारी (अध्यक्ष, युवा सङ्घ, नेपाल)


rajib-pahariसत्ताको नेतृत्व गरेको पार्टी नेकपा (एमाले)को भ्रातृ सङ्गठन ‘युवा सङ्घ नेपाल’को नवनिर्वाचित केन्द्रीय अध्यक्ष हुन् राजीव पहारी । तत्कालीन अवस्थामा एमाले फुटेर माले पार्टी बन्दा अनेरास्ववियुका अधिकांश नेता मालेतिर लागे पनि करिब एक्लै अनेरास्ववियुमा टिकेर कास्कीको सङ्गठन हाँकेका उनी जुझारू स्वभावका युवा हुन् । कथित जनयुद्धको समयमा युद्धको विपक्षमा उभिएर उनले आफ्ना सङ्गठनका कार्यकर्ता जोगाउन पटक–पटक जोखिम मोलेका चर्चा अहिले पनि एमालेपङ्क्तिमा चल्ने गर्छ । १८ वर्षकै उमेरमा कास्की जिल्लाको अनेरँस्ववियु अध्यक्ष बनेका उनी विद्यार्थी सङ्ख्यामा देशकै ठूलो पृथ्वीनारायण क्याम्पसको ०५६ सालमा स्ववियु सभापति बनेका थिए । ०६० सालसम्म पीएन स्ववियु हाँकेका पहारीकै पालामा त्रिभुवन विश्वविद्यालयबाट देशकै नमुना स्ववियु घोषित भयो । पार्टीमा केपी ओली पक्षधर भनेर चिनिए पनि पहारीले युवा सङ्घभित्र पन्पिएको दुवै गुटलाई मिलाउन प्रमुख भूमिका निभाएको श्रेय पाएका छन् । एमाले कास्की सचिवालय सदस्य, प्ररायुसङ्घ केन्द्रीय सदस्य, अञ्चल इन्चार्ज, युवा सङ्घको महासचिव हुँदै हाल युवा सङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित पहारीसँग समसामयिक विषयमा गरिएको सङ्क्षिप्त कुराकानी प्रस्तुत गरिएको छ ।

० युवा सङ्घको नेतृत्व तपाईंको काँधमा आएको छ, जिम्मेवारी निर्वाहको सन्दर्भमा चुनौती र सम्भावना के–के देख्नुभएको छ ?
– असोज १५ देखि १८ सम्म काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले युवा सङ्घ नेपालको अध्यक्षको जिम्मेवारी सर्वसम्मत रूपमा मलाई सुम्पिएको छ । त्यसलगत्तैै बसेको स्थायी कमिटीको बैठकबाट सङ्को नेतृत्वतहमा रहेका सबै साथीहरूलाई कामको बाँडफाँड गरी जिम्मेवारी दिने काम पनि सम्पन्न भएको अवस्था छ । स्पष्ट भिजन र मिसनका साथ यो सङ्गठन अघि बढेको छ, बढ्दै छ । यतिबेला युवा सङ्घले बाह्य हस्तक्षेपको अन्त्य गरी राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने, परनिर्भरता हटाएर आत्मनिर्भरतालाई प्रश्रय दिने उद्देश्यका साथ देशव्यापी अभियान सञ्चालन गरिरहेको छ । वर्तमान परिवेशमा युवा सङ्घको यो प्रयास अत्यन्त सान्दर्भिक भएकैले मुलुकभरका तमाम युवा साथीहरूले यसको स्वागत गर्दै साथ दिएका छन् । विगत ११ महिनादेखि युवा सङ्घभित्र विवादको अवस्था रहेकोमा मैले नेतृत्व लिएपछि सबै विवादहरू हल भएका छन् । परिवर्तित परिस्थितिमा सङ्घलाई नयाँ दायित्वका साथ अघि बढाउनुपर्ने जुन चुनौती छ, यो मैले गम्भीरतापूर्वक मनन गरेको छु । सबै नेताहरूबाट स्नेह र मार्गदर्शन पनि प्राप्त भएको छ । मुुलुकभित्र अधिकारप्राप्तिको लडाइँ अब करिब–करिब समाप्त भइसकेकाले अब देशलाई आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा कसरी समृद्ध तुल्याउने भन्ने विषय प्रमुख बनेर हाम्रासामु खडा भएको छ । यस आवश्यकतालाई परिपूर्ति गर्ने दायित्वबोध गर्दै स्पष्ट भिजनका साथ जेटको गतिमा हामी अघि बढ्नेछौँ । बाटो पक्कै चुनौतीयुक्त छ, तर लक्ष्य हासिल गर्न हाम्रो दृष्टि र पाइला दृढ छन् ।
० छिमेकी देशबाट यतिबेला अघोषित रूपमा नाकाबन्दी गरिएकाले असहजताको अवस्था उत्पन्न भएको छ, यसको निकासका लागि आफ्नो स्तरबाट युवा सङ्घले कुनै सोच या रणनीति बनाएको छ ?
– छिमेकी भारत नेपालभन्दा निकै गुणा ठूलो, शक्तिशाली र विकसित मुलुक भए पनि उसले नेपाल एक शान्तिप्रिय सार्वभौम राष्ट्र हो भन्ने तथ्यलाई मनन गर्नुपर्छ भन्ने हाम्रो प्रस्ट र दृढ धारणा रहिआएको छ । कतिपय सन्दर्भमा भारतका व्यवहार या गतिविधि नेपालप्रति असहिष्णुजस्तो पनि देखिएको छ, यसप्रति युवा सङ्घ नेपाल घोर असहमतिसहित निन्दा गर्दछ । यस परिप्रेक्षमा युवा सङ्घले कैयन भारतीय नेतालाई कूटनीतिक ढङ्गले घचघच्याउने र छिमेकीको नाताले नेपालप्रति न्यायोचित व्यवहार गर्न आग्रह पनि गर्दै आएको छ । भारतले सहअस्तित्व र सहकार्यका आधारमा नेपालसँगको सम्बन्धलाई अघि बढाउनुपर्छ भन्ने हामी फेरि पनि दोहो-याउन चाहन्छौँ । भारत र नेपालबीच रोटीबेटीको सम्बन्ध रहेको कुरा कसैले इन्कार गर्न सक्दैन, तर यस्तो सम्बन्धको संवेदनशीलता बिर्सेर अन्तर्राष्ट्रिय नियमविपरीतको व्यवहार गर्नु नाजायज छ ।
० रोटीबेटीको सम्बन्ध भएको मुलुकबीच यस्तो दूरावस्था किन निम्तियो होला ?
– भारतीय नेताहरूले ‘नेपालका राजनीतिक मामला नेपालकै सरोकारका विषय हुन्, नेपाली जनता र राजनीतिक दलहरू स्वयम्ले आफ्ना मामला सल्टाउनुपर्छ, हामीले त सद्भाव मात्र राख्ने हौँ’ भन्दै आएका छन् । तर, भारतका पछिल्ला गतिविधि उल्लेखित अभिव्यक्तिभन्दा विपरीत देखिएका छन् । नयाँ बनेको नेपालको संविधानमा आफूले चाहेका कुरा परेनन् या आफूले भनेजस्तो भएन भन्ने बहानामा भारतले अघोषित नाकाबन्दी गरेर नेपाल र नेपाली जनतालाई जुन प्रकारको कष्ट पु-यायो, यसले भारत स्वयम्को छविमा धक्का पु-याएको छ, उसैलाई पनि यसले घाटा पु-याएको छ । भारत यसप्रति गम्भीर हुनुपर्छ भन्ने हाम्रो ठहर छ । जहाँसम्म यस अघोषित नाकाबन्दीविरुद्ध युवा सङ्घको कदम के होला भन्ने सवाल छ, हामीले त विगतदेखि नै ‘हिमाल, पहाड, तराई, कोही छैनौँ पराई’ भन्ने नारा दिएर त्यसलाई व्यवहारमा लागू गर्ने–गराउने प्रयत्न गरिआएका छौँ । हामीले तराई–मधेसका बाइस जिल्लामा युवा जागरण कार्यक्रम सञ्चालन ग-यौँ, यसले तराई–मधेसमा सकारात्मक प्रभाव पारेकै हो । तराई–मधेसका जनता पनि नेपाली नै हुन्, उनीहरू पनि देशलाई उत्तिकै माया गर्छन् । तर त्यहाँका केही मुट्ठीभर मठाधीशहरू जो आफूलाई मधेसी जनताको मुक्तिदाता देखाएर उल्टै शोषण–दमन र उत्पीडनमै राखिरहन चाहन्छन्, त्यस्ताहरूको कारण केही समस्या देखिएको छ । यसलाई चिर्न पनि हामी कटिबद्ध छौँ । यस्ता तत्वहरूको प्रभावमा कतै भारत पनि परेको त होइन भन्ने सन्देह जो पैदा भएको छ, यसबारे भारतीय शासकलाई सही सन्देश प्रवाह गर्ने प्रयत्न हाम्रो जारी छ । वास्तविकता बुझेपछि भारतको रवैयामा पनि परिवर्तन आउने अपेक्षा गर्न सकिन्छ ।
० संविधान निर्माणको क्रममा मधेसी, थारू, जनजातिका सवालमा नेकपा एमाले असहिष्णु बनेको तर्क पनि गरिएको छ, यो वास्तविक हो कि आरोप मात्र हो नि ?
– यो नितान्त आरोप हो । तुलनात्मक रूपमा एमाले त उनीहरूको हकहितप्रति ज्यादा संवेदनशील पार्टी हो र उनीहरूका सबै मागलाई संविधानले सम्बोधन गरेको छ । बरु हिमाली, पहाडी जनताको मागचाहिँ समुचित रूपमा सम्बोधन हुन नसकेको अनुभूति गरिएको अवस्था छ । मधेसका सबैजसो माग संविधानमा समेटिएका छन्, तर त्यताबाट उठाइएका केही माग यस्ता छन् जसले राष्ट्रिय एकता वा अखण्डतालाई नै खलल पार्न सक्छन् । त्यस्ता माग त पूरा गर्नै हुँदैन भन्ने युवा सङ्घको प्रस्ट धारणा छ । राष्ट्र रहे मात्र मधेस रहन्छ, पहाड र हिमाल रहन्छ भन्ने सत्य बुझेर मात्र जो–कसैले पनि आफ्ना अधिकारको माग गर्नुपर्छ । राष्ट्रको अस्मिता जोगाइराख्ने सवालमा मधेसवादी नेताहरू गम्भीर देखिएनन् ।
० तुलनात्मक रूपमा एमालेभन्दा नेपाली काङ्ग्रेस तराई–मधेसका माग सम्बोधन गर्ने विषयमा गम्भीर देखियो पनि भनिँदै छ नि, यथार्थ के हो ?
– काङ्ग्रेसका केही नेता सत्ताका लागि जे गर्न पनि तयार देखिने गरेको कुरा नौलो होइन । मधेस मुद्दाको सवालमा पनि यस्तै प्रवृत्तिले काम गरेको हुन सक्छ । बीपी, गणेशमानहरू जस्ताले जन्माएको, हुर्काएको पार्टीमा यस्तो विचलन देखिनु दुःखद् पक्ष हो भन्न सकिन्छ । मेलमिलाप र सहमतिको आधारमा देशलाई अघि बढाउनुपर्ने बेलामा काङ्ग्रेसका सभापति नै कसैको गोटी बनेर दलहरूको आपसी एकतामा खलल पु-याउन अग्रसर देखिनु, सत्तासँग देशकै सार्वभौमिकता साट्न उद्यत् हुनु विडम्बनाको सन्दर्भ हो । मधेसको मुद्दा सम्बोधन गर्ने सवालमा एमालेभन्दा काङ्ग्रेस सहिष्णु देखिएको भन्नुचाहिँ हास्यास्पद कुरा मात्र हो ।
० संविधान जारी भएको महिनादिन नपुग्दै संशोधन गर्नुपर्ने जुन अवस्था निम्तिएको छ, यसबाट संविधान निर्माणको अगुवाइ गरेका एमाले–काङ्ग्रेसजस्ता दलहरूको कमजोरी छताछुल्ल भएन र ?
– संविधान कुनै जड कुरा नभई गतिशील दस्तावेज हो । तसर्थ, जो–जसका या जहाँका नछुट्नुपर्ने कुरा छुटेका छन्, तिनलाई उचित प्रक्रिया अपनाएर समेट्न सकिन्छ, समेट्नु पनि पर्छ । तर, यसो भन्दैमा नेपालको अस्तित्वमाथि नै चुनौती हुने गरी मागहरू आउँछन् भने त त्यसको सम्बोधन होइन प्रतिवाद नै गरिनुपर्छ भन्नेमा युवा सङ्घ दृढ छ । कतिपय मधेसी नेताका माग यस्ता छन् जसलाई कसैले पनि पूरा गरिदिन सक्दैन, एमालेजस्तो राष्ट्रप्रेमी पार्टीले त झन् सक्दै सक्दैन । यो कमजोरी होइन, मुलुकप्रतिको वफादारी हो ।
० पछिल्लो चरणमा मधेसमा एमालेप्रति वितृष्णा बढेको अनुमान गरिँदै छ, पुनः मधेसको मन जित्न तपाईंहरू के गर्नुहुन्छ त ?
– यो निश्चय पनि संवेदनशील प्रश्न हो । यसका लागि आगामी विजयादशमी, दीपावली र छठको सन्दर्भ पारेर विभिन्न रचनात्मक कार्यक्रम लिएर जाने तयारी हामी गरिरहेका छौँ । तराई–मधेसका के–के समुचित मागहरू नयाँ संविधानमा समेटिएका छन् भन्ने प्रस्टिने गरी हामीले एउटा बुकलेट तयार पारेका छौँ, त्यो पनि हामी वितरण गर्ने र त्यहाँका जनतालाई बुझाउने प्रयत्न गर्नेछौँ । अन्तरक्रिया र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दैछौँ । मधेसमा भएका भ्रष्टाचार र बेथितिहरू पनि उजागर गर्ने सोचमा छौँ, जसले मधेसका नागरिकलाई सचेत र सही अर्थमा जागरुक तुल्याउनेछ भन्ने हाम्रो विश्वास छ ।
० एमाले अध्यक्षको नेतृत्वमा नयाँ सरकार बनेको छ, वर्तमान परिवेशमा सरकारले छिमेकीसँगको सम्बन्धलाई कसरी अघि बढाउनुपर्ला भन्ने युवा सङ्घको धारणा छ ?
– अत्यन्त कठिन परिवेशमा एमालेको नेतृत्वमा सरकार सञ्चालनको जिम्मेवारी आएको छ । मूलतः सहअस्तित्व र सहकार्यकै साथ सरकार अगाडि बढ्नुपर्छ । कुनै पनि छिमेकी तथा मित्रदेशहरूसँग अस्वाभाविक खालको निकटता या दूरी देखिने प्रकारको सम्बन्ध राख्ने नभई एक्काइसौँ शताब्दीको चुनौतीहरू सामना गर्ने ढङ्गले स्वस्थ र सन्तुलित सम्बन्ध विकसित गर्दै जानु अपरिहार्य छ । परनिर्भरता एउटा घातक रोग हो, अब यसको अन्त्य तथा आत्मनिर्भरताको पक्षपोषण गर्दै आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा समृद्ध नयाँ नेपाल निर्माण गर्ने दिशामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यूको नेतृत्वमा बनेको सरकारले उल्लेख्य उपलब्धि हासिल गर्नेछ भन्ने आशा र शुभकामना हामी गरिरहेका छौँ ।