सुशील’दाको भ्रम र यथार्थ– इन्द्रबहादुर बराल

सुशील’दाको भ्रम र यथार्थ– इन्द्रबहादुर बराल


Indra-Baralनेपालको संविधान २०७२ को पहिलो कार्यान्वयनको प्रारम्भ नयाँ सरकार गठन प्रक्रियाबाट सुरु भयो । प्रधानमन्त्रीको निर्वाचन गर्ने क्रममा नेपाली काङ्ग्रेसका सभापति एवम् निवर्तमान प्रधानमन्त्रीले पुनः प्रमको उम्मेदवारी देलान् भन्ने कसैले सोचेका थिएनन्, तर अनपेक्षित रूपमा काङ्ग्रेस सभापतिले प्रधानमन्त्रीमा उम्मेदवारी दिएर धेरैलाई आश्चर्यमा मात्र नपारी उनका शुभचिन्तकहरूलाई दुःखी र लज्जितसमेत तुल्याइदिए । एकाएक किन यसरी पार्टीसभापतिले प्रधानमन्त्रीमा उम्मेदवारी दिने इच्छा वा निर्णय गर्नुभयो त्यसको औचित्य साबित गर्न नसक्दा पराजयको तीतो अनुभवसँगै सत्ता छोड्नुप-यो । यो अनपेक्षित घटनाले नेपाली काङ्ग्रेसका तमाम कार्यकर्तालाई समेत चोट पु-याएको छ । हुन त चुनावमा हारजित स्वाभाविक हुन्छ, तर परिस्थितिको आँकलन नगरी गरिने निर्णय र कदम कहिलेकाहीँ प्रत्युत्पादक हुन पुग्छ भन्ने कुराको ज्वलन्त उदाहरण बन्न पुगेको छ कोइरालाको पछिल्लो उम्मेदवारी प्रकरण ।
संविधानसभाको पहिलो निर्वाचनपश्चात् गठित वामपन्थीहरूले नेतृत्व गरेका सरकार र उनीहरूकै बाहुल्य रहेको संविधानसभाले संविधान दिन सकेन । नेपाली काङ्ग्रेसका सभापति प्रधानमन्त्रीमा निर्वाचित भएपछि जसोतसो मुलुकले संविधान पाउन सक्यो र त्यसको श्रेय स्वाभाविक रूपमा प्रधानमन्त्री सुशील कोइरालाले प्राप्त गर्नुभयो । तर पनि संविधान जारी हुनुमा कुनै एउटा पार्टीको मात्र विशेष योगदान ठानेर आपूmलाई महान् सम्झने भूल थियो सुशील’दाको । सुशील’दाले ठान्नुभयो होला सायद संविधान मैले नेतृत्व गरेको सरकारले जारी गर्न सफल भयो र त्यसको सम्पूर्ण जश मैले नै प्राप्त गर्छु, फेरि मै प्रधानमन्त्री हुन्छु । परिस्थितिको यथार्थता बुझेका वरिष्ठ नेता शेरबहादुर देउवाले पनि सुशील’दाका लागि मार्ग प्रशस्त गरिदिएको हुनुपर्छ भने अर्का नेता उपसभापति रामचन्द्र पौडेलको कोइरालाको आशीर्वादबिना अगाडि बढ्ने अवस्था नै थिएन र छैन पनि । यही सेरोफेरोमा छोटो समयको छलफल र गृहकार्यले काङ्ग्रेसलाई हलुका बनाएको छ । प्रधानमन्त्रीको चुनावको दिन सामाजिक सञ्जालमा अनेकौँ अनर्गल प्रचारबाजी भए र त्यस्ता समाचार सम्प्रेषणले नेपाली काङ्ग्रेसको राष्ट्रियता र राष्ट्रवादप्रतिको आगाध विश्वास र दृढ अठोटमाथि भ्रम सिर्जना गराएको छ ।
नेपाली काङ्ग्रेसका इमानदार सच्चा कार्यकर्तालाई यतिबेला सुरु गरिएको भ्रामक प्रचारबाजी र सभापति सुशील कोइरालाको सत्तालिप्साले जन्माएको परिवेशका कारण गहिरो चोट पु-याएको छ । नेपालको राजनीतिक इतिहासमा ठूलाठूला क्रान्तिको नेतृत्व नेपाली काङ्ग्रेसले गरेको छ र ती क्रान्तिलाई सफलतासमेत दिलाएको छ । अहिले संविधान जारी हुनु पनि तिनै क्रान्तिहरूको एउटा अविछिन्न शृङ्खला हो । काङ्ग्रेसका अगाडि ताजा र नमिठो अनुभव हुँदाहुँदै काङ्ग्रेसलाई फेरि अर्को भड्खालोमा जाक्ने काम भयो सुशील’दाबाट । हजारौँ निर्दोष मानिस मरिए, लाखौँ मानिस घरवारविहीन र अङ्गभङ्ग भए भने त्यति नै मात्रामा मानिस बेपत्ता भएर पनि माओवादीको जनयुद्घले सफलता प्राप्त गर्न नसकेको परिपे्रक्षमा नेपाली काङ्ग्रेसको नेतृत्वमा गरिएको जनआन्दोलन ०६२/६३ ले अपेक्षाकृत छोटो समयमा नै सफलता प्राप्त ग-यो । एउटा युगको अन्त्य गरेर मुलुक गणतन्त्रमा प्रवेश गराउने पार्टी नेपाली काङ्ग्रेसले संविधानसभाको निर्वाचन २०६४ मा कुन हविगत व्यहोर्नुप-यो, त्यति पनि हेक्का नराख्नाले लज्जाजनक पराजय भोग्नुप-यो अहिले ।
विगतका घटनाक्रमबाट केही सिक्दैनसिक्ने केवल सत्तालिप्साबाट अन्धो भएर अँध्यारोमा हामफाल्दा शिखरमा पुगेको व्यक्तित्व रछ्यानमा पुगेको अनुभव गरिँदै छ । त्यसको प्रतिक्रिया तल्लो तहका कार्यकर्ता र शुभेच्छुकहरूले व्यहोर्नुपर्ने हुन्छ । नेताको बिनासुझबुझ र अपरिपक्व व्यवहार वा निर्णयले कार्यकर्तामा चोट पुग्न सक्छ भन्ने सामान्य हेक्का पनि नराख्नु दुःखद कुरो हो । संविधान बन्नुपथ्र्यो बन्यो काङ्ग्रेसकै नेतृत्वमा, तर संविधान निर्माणको श्रेय लिन नपाउँदै ती सबै असल र सकारात्मक कामलाई बिर्साउने गरी अर्को घटनाक्रमले काङ्ग्रेसजनमा पीडाबोध भएको छ । राष्ट्रियताका लागि पार्टीको स्थापनाकालदेखि मूल मुद्दा बनाएको काङ्ग्रेसलाई आज औँला ठड्याउने मौका दिइएको छ । आज राष्ट्रियताको मुद्दा बनाएर केपी ओलीले हिरो बन्ने मौका पाए । त्यसकारण संविधान बनायौँ जारी ग-यौँ भन्ने दम्भ र भ्रमले यथार्थता बिर्संदा आज सहकार्यको यात्राबाट बाहिरिनुपरेको हो कि जस्तो भान पर्न गएको छ ।
अब नेपाली काङ्ग्रेसका अगाडि निकै अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ । ‘खाउँ भने कान्छाबाको अनुहार नखाउँ भने दिनभरिको सिकार’ भनेझैँ संविधान आफैँ जारी गर्ने अनि त्यस संविधानले मधेसीका माग सम्बोधन गर्न नसकेको भनेर संशोधन विधेयक दर्ता गर्ने र तिनै कार्य पूरा गर्न छाडेर भाग्न कुनै नैतिकताले दिँदैन । त्यसकारण जुन भ्रममा परेर सुशील’दाले प्रधानमन्त्री पदको पुनः दाबी गर्नुभयो जुन यथार्थताभन्दा धेरै टाढाको विषय थियो । नेपाली जनताको तीव्र दबाब र राजनीतिक पर्टीहरूको सामूहिक प्रयत्नले बनेको हो नेपालको संविधान २०७२ । प्रधानमन्त्री सुशील कोइराला निमित्त मात्रै हुन्, त्यसमा सिङ्गो मुलुक कुनै न कुनै रूपमा संलग्न थियो भन्ने बिर्सेर आफैँ बनाए भन्ने भ्रमको पछाडि लाग्दा र सुशील’दाको फेरो समातेर भविष्य सुरक्षित देख्ने चाटुकारको लहैलहैमा लागेर आर्जन गरेको उच्च सम्मानमा आँच पु-याएको छ । इतिहासले मानिसलाई सधैँ एकनासले साथ दिएको कमै मात्र होला । हाम्रा सुशील’दा भदौमा आँखो फुटेको डिँगो सधैँ हरियो देख्छ भनेजस्तै परिस्थितिको आँकलन नगरी हामफाल्दा संविधान जारी गर्दा प्राप्त गरेको प्रशंसा र ख्यातिमा आँच पु-याएको छ । यहाँ सुशील’दा भनेको सिङ्गो काङ्ग्रेस पार्टी हो र त्यसका कार्यकर्ता, मतदाता र शुभचिन्तकहरू पनि हुन् । एउटा नेताले बुद्धि नपु-याउँदा र भ्रममा पर्दा त्यसको झड्का मुलुकभर काङ्ग्रेसजनमा एकैपटक लागेको छ । नेपाली काङ्ग्रेसभित्र अहिले यही झड्काले पिरोलिराखेको छ । अब काङ्ग्रेसले देश दौडाहा गर्दै विगतका कमी–कमजोरीलाई केलाउँदै भावी कार्यदिशाबारे प्रस्ट पार्दै आमकार्यकर्ताको मनोबल उच्च बनाउने काममा लाग्न कत्ति ढिलाइ गर्नुहुँदैन ।
अहिले व्यापक रूपमा काङ्ग्रेसप्रति राष्ट्रियताका सवालमा केही न केही आशङ्का गरिएको छ । यसलाई चिर्दै प्रजातन्त्रको रक्षाका लागि तदारुकताका साथ लाग्नु नै उत्तम बाटो हो । होइन भने सुशील’दाका जस्तै यथार्थतालाई आँकलन नगरी मनोगत रूपमा भ्रममा पर्दै जाने हो भने नेपाली काङ्ग्रेसको भविष्य खतरामा पर्नेछ । राष्ट्रियताजस्तो गम्भीर विषयलाई हलुका रूपले हेरिनुहुँदैन । काङ्ग्रेसको आदर्श भनेकै राष्ट्रियता हो जसलाई पार्टीले आफ्नो मुटु ठानेको छ, आज त्यसैलाई मुद्दा बनाएर नजानिँदो ढङ्गले काङ्ग्रेसविरुद्घ खनिँदै छन् । यो विषय सुशील’दामाथि मात्रै थोपरेर पूरै पार्टी पन्छिन मिल्दैन, चतना भया ।