खड्गप्रसाद ओलीलाई अवसर र चुनौती– स्वयम्भूनाथ कार्की

खड्गप्रसाद ओलीलाई अवसर र चुनौती– स्वयम्भूनाथ कार्की


SN-Karkiएक लामो योजना र त्यसको दृढतापूर्वकको कार्यान्वयनले अन्ततः खड्गप्रसाद ओली (केपी) पूर्ण संविधानले घोषित धर्मनिरपेक्ष सङ्घीय गणतन्त्र नेपालको प्रथम सरकार प्रमुख बन्न सफल भएका छन् । कुनै पनि घटनाको कारक त्यसपछिको परिस्थितिमा लाभ हुनेलाई मान्ने नेपाली चलन छ । त्यसैले संविधान निर्माणदेखि आफू प्रधानमन्त्री हुँदासम्मको हरेक अप्रिय घटनाको निर्देशक उनलाई नै मान्नेहरूको पनि कमी छैन । उनीमाथिको यो आरोप झुटो वा साँच्चो जे भए पनि चिरकालसम्म रहने नै छ । यस्ता अप्रमाणित आरोपको भारी बोकेर इतिहासमा रहने उनी पहिला पनि होइनन् र अन्तिम पनि हुने छैनन् । उनले यो चुनौतीको सामना कसरी गर्दछन् त्यो त भविष्यले बताउने नै छ ।
धेरै थोक मिसिएको वस्तु कि त अत्यन्तै राम्रो हुन्छ कि त त्यत्तिकै नराम्रो । नेपालीमा ‘जोगी तरकारी’ स्वादिलो हुन्छ भन्ने मान्यता छ त्यसै गरेर ‘चौधानी’ अन्न नराम्रो मानिन्छ । जोगीहरूले फेरी लगाएर उठाउने सिदामा काटिएको काँचो तरकारी पनि रहने गर्दछ । विभिन्न घरबाट आएका यी तरकारी धेरै किसिमको हुने गर्दछ । यसैलाई ‘जोगी तरकारी’ भनिने गर्दछ । त्यस्तै धान वा अनाज खरिद केन्द्रमा प्रमुख किसिमको अनाजको बेग्लै थुप्रो लगाए पनि थोरैथोरै आउने धेरै किसिमका अनाज एकै थुप्रोमा राखिन्छ र यसको प्रकारलाई ‘चौधानी’ भन्ने गरिन्छ ।
केपी सरकार पनि यस्तै धेरै किसिमका दलहरूको समूहले बनेकाले जोगी तरकारी सरकार हुन्छ कि चौधानी सरकार हुन्छ त्यो नेपाली मात्र नभएर विश्वकै चासोको विषय छ । पुरानो नेपालको अनुभव भने यस्ता सरकारहरू सबैजसो नै चौधानी सरकार भएका छन् । केही वर्षदेखि एमालेको अध्यक्षता सम्हालेका भए पनि सबैले थाहा पाउने गरेर कुनै निर्णायक वा निर्देशक नेतृत्व उनले सम्हालेका छैनन् । त्यसैले यो सरकारलाई जोगी तरकारी सरकारमा बदल्ने ल्याकत उनमा हुनसक्छ । यो उनको निमित्त अवसर र चुनौती बराबर भएको अवस्था हो ।
नेपालको इतिहासको कठिनतम् अवस्थामध्ये एक भएको वर्तमानमा केपीले देश हाँक्ने मौका पाएका छन् । भुइँचालोलगायतका प्राकृतिक प्रकोपले थिलथिलो भएका नागरिकहरू अहिलेसम्म जसोतसो गरेर मन थामेर बसेका छन् । अब उनीहरूको कष्टपूर्ण जीवन सहज बनाउने कामलाई थाती राख्ने कुनै बहाना सरकारसँग बाँकी छैन । यसै बेलामा नसोचिएको अशान्ति र त्यसले पैदा गरेको आर्थिक सङ्कट विकराल भएको छ । प्रतिकूल मौसमले कृषि उत्पादन धेरै न्यून हुने लक्षण देखा परिसकेको छ । दूध, केरा, तरकारीजस्ता तुरुन्त रुजारमा पुग्नुपर्ने उत्पादहरू बर्बाद भइरहेका छन् यो अवस्थामा ऋणको सावाँ–ब्याजको मारमा परेका किसानको जीवन बचाउने बाटो सोच्न निमेषभर पनि विलम्ब गर्ने छुट छैन ।
नेपालीको पारस्परिक एकता र सद्भाव पछिल्लो अढाइ शताब्दीमा सबैभन्दा धेरै खलबलिएको अवस्थामा सुधार गर्न अहोरात्र मिहिनेत गर्नुपर्ने यो समय साँच्चै चुनौतीपूर्ण नै हो । यसबेला फरक–फरक सोच र सिद्धान्त बोकेका सहयात्रीको चित्त बुझाउँदै काम गर्न सफल भएमा केपीलाई विश्व इतिहासमै नाम लेखाउने स्वर्ण अवसर छ । केपीलाई सत्तामा पु-याउन सहायकसिद्ध भएको ‘राष्ट्रवाद’ धेरै संवेदनशील विषय हो । सानोभन्दा सानो असन्तोष यदि यो विषयलाई लिएर भयो भने नियन्त्रणबाहिरको डढेलोसरह के–के समाप्त गर्ने हो त्यसको कल्पना पनि आङ सिरिङ्ग हुने किसिमको छ ।
सहयोगी र विश्वको मानवीय संवेदनालाई सही प्रयोग गर्न सकेमा यो नेपालको इतिहासमै कुनै सत्ताधारीलाई प्राप्तमध्येको सबैभन्दा ठूलो अवसर हुनेछ । मनभित्र जे–जस्तो होला वा नहोला, तर केपीसँग आगो र पानीसरहका दुई विपरीत ध्रुवका सहयात्री छन् । विरोधीमा पनि आपैँmलाई लोकतन्त्रको पर्यायवाची मान्ने र सबैले उसको यो दाबी पत्याएको नेपाली काङ्ग्रेस छ । त्यसैले काङ्ग्रेससँग रचनात्मक सहयोग लिनसक्ने अवसर केपीसँग छ । सबैजसो नाम सुनिएका राजनीतिक दलहरू अभूतपूर्व साथ केपीले पाएका छन् ।
संविधानमा ‘हुन्न’मा मत दिने र धर्मनिरपेक्ष, सङ्घीय अनि गणतन्त्र तीनवटै कुरामा बिमति राख्नेहरूको प्रतिनिधिको रूपमा कमल थापा उनको साथमा छन् । मधेस आन्दोलनले मुलुक ठप्प पार्ने दलहरूका तर्पmबाट विजय गच्छदार साथमा छन् । अघोषित नाकाबन्दीले नेपाल नै ठप्प पार्ने मोदीले सबैभन्दा पहिले स्वागत र भ्रमणको निम्तोसँगै नेपाल–भारत मैत्री नयाँ उचाइमा पु-याउने सङ्कल्प प्रस्तुत गरेका छन् । यी सबै कुराको सही र विवेकपूर्ण परिचालन गरेर मुलुकलाई सङ्कटबाट निकाल्न कुनै पनि प्रतिभावान नेताको निमित्त कठिन काम होइन ।
एमालेमा भएका सक्षम कार्यकर्ताको साथमा समाजले बाहुबली भनेका कार्यकर्ताको निष्ठा पनि केपीको साथमा देखिने गर्दछ । यस्ता बाहुबलीहरूको सही परिचालनले कुनै पनि काम असम्भव रहने गर्दैन । खोलाको उर्लंदो भेलले बस्तीका बस्ती सखाप पनि पार्छ, त्यसैलाई निर्देशित गर्दा ऊर्जा पुञ्ज पनि बन्छ । खेतीपाती लहलहाउनेदेखि लिएर विद्युत्को उत्पादनसमेत यस्तै भेलले गर्ने गर्दछ । यो सबै उनको व्यक्तिगत कार्यकुशलतामा भर पर्ने कुरा हो । आपैँmले रोजेको परिस्थितिमा काम गर्न नसकेमा त्यसको दोष अरूलाई दिने सुविधाबाट केपी वञ्चित छन् ।
सरकारका हरेक अङ्ग आफ्नो अनुकूल पुनर्संरचना गर्नसक्ने अवस्थामा भएका केपीलाई सहयात्रीले मानेन, मित्रराष्ट्रहरूको सहयोग भएन वा कार्यकर्ता वा पार्टीको असहयोग भयो भनेर पन्छने स्वतन्त्रता भने छैन । सम्भवतः उनको त्यही स्वतन्त्रता नरहोस् भनेर नै नेपाली काङ्ग्रेस जानीजानी वर्तमानमा सर्वथा अप्रिय भएर प्रतिपक्षमा गएको छ । ‘भद्र सहमति’ भनिएको भागबन्डाबाट आफ्नो सहभागिता हटाएर राम्रो भएमा त्यसको जस लिन र नराम्रो भएमा केपी र एमालेलाई एक्लै अपजस बोकाउन काङ्ग्रेसले यो कदम चालेको मान्न सकिन्छ ।
विगतमा जे–जस्तो भए पनि वा जे गर्दा पनि ‘धमिलो पानीमा माछा मारेको’ वा ‘अँध्यारो कुनाबाट चलखेल गरेको’ आरोप खेप्ने गरेको राप्रपा नेपाल पनि आफ्नो सम्पूर्ण अस्तित्वलाई धरापमा राखेर केपीको साथमा देखिएको छ । भारतपरस्त भएर मुलुक अस्थिर बनाएको आरोप खेपेको मोर्चाबाट केपीको साथमा उभिन आइपुगेका विजय गच्छदार पनि असफताको आरोप आपूmलाई लगाउनबाट रोक्न केपीको साथमा उभिएका छन् । यी सबै परिस्थितिलाई उनले अवसरमा बदल्छन् कि सामना नै गर्न नसकेको चुनौतीमा त्यो त ‘बाडुली लाग्ने प्रधानमन्त्री’ बन्ने वाचा गरेका खड्गप्रसाद ओलीमा निर्भर हुने कुरा हो, नेपालीले त पर्खने हो समयले के देखाउँछ ।