केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित हुनेबित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिनुहुने अपेक्षा नेपालमा धेरै कमले मात्र गरेका हुन् । ओली प्रधानमन्त्री बन्नुभएमा नेपाल–भारत सम्बन्ध थप चिसिने र नाकाबन्दी थप कठोर बन्ने त्रासपूर्ण अनुमान यहाँ गरिँदै थियो । तर, भारतका प्रधानमन्त्री मोदीले सक (झट्का) दिए । ओली प्रधानमन्त्री बनेको सूचना प्राप्त भएपछि टेलिफोनमार्फत बधाई र शुभकामना व्यक्त गर्न मोदीले एक मिनेट पनि ढिलाइ गरेनन् । बधाई दिने क्रममा मोदीले नाकाबन्दी हट्ने विश्वास पनि नवनियुक्त प्रधानमन्त्रीलाई दिलाएका छन् । मोदीको व्यवहारबाट नेपालीहरू चकित परेका छन् । गत वर्ष संसद्मा सम्बोधन गर्ने क्रममा व्यक्त विचारले नेपालमा मोदीको लोकप्रियता उत्कर्षमा पु-याएको थियो र भारतप्रति जनस्तरमा रहेको आशङ्का मेट्दै दुईपक्षीय सम्बन्धलाई रसिलो र कसिलो बनाउने खुसद परिस्थिति निर्माण गरेको थियो । एउटै मन्तव्यले लाखौँ–करोडौँ मानिसलाई कसरी झकझोर गर्न सक्छ र एकैछिनमा मानिस कसरी बदलिन सक्छन् भन्ने कुराको दृष्टान्त मोदीले नेपालको संसद्मा दिएको भाषण बनेको थियो । यसर्थमा ‘त्यो’ मन्तव्य मोदीको पहिलो ‘सक’ थियो भन्न सकिन्छ ।
नेपाललाई मन्त्रमुग्ध पारेपछि मोदीजीले सार्क सम्मेलनको बेला जनकपुर (रामजानकी मन्दिर), मुक्तिनाथ तथा लुम्बिनीको भ्रमण गर्ने र ती स्थानका जनतालाई सम्बोधन गर्ने इच्छा प्रकट गरे । आफ्नो यस्तो इच्छा पूरा गर्न नेपाल सरकार हर्षोल्लासका साथ तयार होला भन्ने अपेक्षा सायद उनको थियो । तर, कुन्नि कतातिरको प्रलोभनमा परेर धर्मनिरपेक्ष देश बनाउन सुलसुलिएका परजीवीहरूले षड्यन्त्रपूर्वक मोदीको धार्मिक यात्रामा अवरोध पैदा गरे । हो, यसपटकचाहिँ मोदी आफैँ सक्ड भएको अनुमान गर्न सकिन्छ । सार्क सम्मेलनमा आएका बेला मोदीको ‘बडी ल्याङ्ग्वेज’ पहिलेभन्दा भिन्न रहेको महसुस धेरैले गरेका थिए । आफूले पे्रम र सम्मान गर्ने गरेको मुलुकबाट अपेक्षित व्यवहार नहुँदा मोदीजीलाई झट्का ९क्जयअप० लाग्नु स्वाभाविक थियो ।
नेपालमा संविधान जारी भइसकेपछि घोषित–अघोषित रूपमा नाकाबन्दी लाग्दाचाहिँ ‘सक्ड’ हुने पालो नेपालीको आयो । मोदीजीले सबैको भावना समेटेर संविधान बनाउन दिएको सुझावको यहाँ अनेक अर्थ लगाइयो र उनका कुनै पनि सुझावलाई सम्मान नगर्ने कसम खाएको शैलीमा नेपाली नेताहरू प्रस्तुत भए । भारतमा बाह्रबुँदे सम्झौता गरेर भारतकै सहयोगमा लोकतन्त्र स्थापना गर्ने दलका नेताहरू पुरानो सत्ताका हरेक आकाङ्क्षा सम्बोधन गर्न तयार रहँदा आफूले दिएको एउटै सुझाव पनि ग्रहण नगरिएपछि मोदी कति दुःखी भए होलान्, यो अनुमानकै मात्र विषय रह्यो । घोषित–अघोषित नाकाबन्दी भएपछिचाहिँ मोदीजीको असन्तुष्टिको मात्रा यहाँ अनुभूत भएको हो । मोदीको असन्तुष्टिको स्रोत कारण नेपाली नेताहरूको व्यवहार भएको तथ्य बुझ्ने सामथ्र्य आमजनतामा नहुनु स्वाभाविक थियो, बुझेनन् । त्यसैले ‘संसद्मा त्यति राम्रो बोलेका मोदीले नाकाबन्दी लगाएर आफ्नो दैनिक जीवन प्रभावित गरेको’ सर्वसाधारणले ठाने । यसपटक नेपाली ‘सक्ड’ भएका हुन् । नाकाबन्दी जुन प्रकारले कठोर बन्दै थियो र नेपालमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न हुनुपूर्व केपी ओली र भारतबीचको सम्बन्ध जुन स्तरको तनावमय देखिँदै थियो, त्यसैका आधारमा ओलीलाई प्रधानमन्त्री भएपछि मोदीजीले ‘रेस्पोन्स’ नगर्ने अनुमान यहाँ गरिँदै थियो । त्यसो त ओली जित्दा भारत हारेको ठान्नेहरू भारतले ओलीलाई ‘पोजेटिभ रेस्पोन्स’ नगरोस् भन्ने पनि चाहन्थे । तर, मोदीजीले अर्को ‘सक’ दिए । ओलीजीलाई बधाई र शुभकामना दिँदै मोदीले नाकाबन्दी हट्ने आश्वासन दिएपछि नेपाली फेरि एकपटक ‘सक्ड’ भएका छन् । नेपालसँग नरेन्द्र मोदीजी वास्तवमा सुमधुर सम्बन्ध स्थापित गर्न चाहन्छन् भन्ने प्रस्ट सङ्केत देखिएको छ । नयाँ प्रधानमन्त्रीले नयाँ शिरा र शैलीबाट नेपाल–भारत सम्बन्ध सुदृढीकरणमा अग्रसरता लिने विश्वास सर्वत्र गरिएको छ । कथंकदाचित सम्बन्ध सुधारका परिणामदायी पहल हुन सकेन भने सम्भवतः यस्ता झट्का ९कजयअप० को क्रम निरन्तर चलिरहनेमा शङ्का गर्नुपर्ने छैन । कहिले मोदीजीलाई ‘सक’ कहिले मोदीजीले ‘सक’ दिने क्रम चलिरहने हो भने त्यसले दुवै पक्षलाई क्षति पु-याउने, अलिक बढी कष्ट नेपाललाई दिने निश्चित छ । त्यसैले अब कसैलाई नकारात्मक झट्का नदिने तहको सम्बन्ध विकास गर्नेतर्फ प्रधानमन्त्री केपी ओली सचेत रहनुहुने आशा गरिएको छ ।
प्रतिक्रिया