संविधानसभाका पुतलीहरू-हरदम कोइराला

संविधानसभाका पुतलीहरू-हरदम कोइराला


संविधानसभा कुनै बास्नादार बगैँचा होइन जहाँ पुतलीहरू रमाउन सकुन् । बिनाबास्नाको फूल या बिनाफूलको बगँैचा मानिएको संविधानसभामा पुतलीहरू हुने अनुमान गर्न सकिँदैन । तर पुतली भूमिकाका मानिसको उपस्थिति यति बाक्लो देखिँदै छ कि त्यसले वास्तविक पुतलीहरूको अस्तित्व बिर्साएको छ । कोही जातीय तथा क्षेत्रीय भावना भड्काउन ‘सापटी पङ्ख’ हम्कँदै त्यहाँ डुलिरहेका छन्, कोही विदेशी चाहनालाई संविधानरूपी किताबका पानाहरूमा र्सार्न खटिएका छन् त कति पुतलीहरूचाहिँ थोत्रा, पुराना र जडौरी विचारको भष्म लेपन संविधानमा गराउन चलखेल गरिरहेछन् । देश, जनता र प्रजातन्त्रलाई केन्द्रबिन्दुमा राखेर सोच्ने सभासद्हरू संविधानसभामा सीमित मात्र छैनन् लाचार पनि छन् र उनीहरू पनि पुतलीहरूको आक्रामक सक्रियतालाई नियन्त्रण गर्न सक्ने हैसियतमा देखिँदैनन् । अर्को एकथरी पुतलीहरू संविधानसभामा ठूलो सङ्ख्यामा छन् भन्ने सुनिएको, तर ‘उडान-गतिविधि’ शून्य भएको हुँदा महसुस गर्न नसकिएको अवस्थामा थियो । संविधानसभामा त्यो ‘तेत्तीस प्रतिशत आकाश’को भूमिका न घाम लगाउनु थियो न बादल लगाएर पानी पार्ने प्रकारकै । ‘छन् तर छैनन्’ भूमिकामा रहेका उनीहरूले संविधानसभाको दुईवर्षो प्राकृतिक एवम् संवैधानिक कार्यकालमा आफ्नो बेग्लै र सकारात्मक भूमिका पुष्टि गर्न सकेका थिएनन् । तर, २०६७ जेठ १४ को राति अर्थात् दुई वर्षको कार्यकाल सकिनुभन्दा केही घन्टाअघि ‘रंगीन कलेवर’का पुतलीहरू एकाएक संविधानसभाहलको अग्रभागमा हुल बाँधेर देखापर्दा टेलिभिजन हेरिरहेका दर्शकहरू चकित परेका थिए । पुतलीहरू संविधानसभाको
कार्यकाल बढाउनैपर्छ’ भनेर चिच्याइरहेका थिए । त्यसअघि कुनै पनि विषयलाई लिएर त्यसरी पुतलीहरू एकजुट भएका थिएनन् । देशमा दुई वर्षभित्र अनेक दुःखद् घटनाहरू भए, अपहरण र हत्याका दर्जनौँ घटना भए, भ्रष्टाचार र घुसखोरीको पचासौँ घटना सार्वजनिक भए, संविधान निर्माणका नाममा गैरलोकतान्त्रिक अड्डीसहितका अर्घर्ेेाइँहरू पटक-पटक प्रस्तुत भइरहे । शान्ति स्थापना र संविधान निर्माणमा बाधक बनेको हिंसात्मक मानसिकता र हिंसात्मक समूहको अवस्थिति पूर्ववत् रह्यो, तिनलाई बदलेर शान्ति, लोकतन्त्र र विधि-विधानसम्मत मार्गमा ल्याउन उनीहरूमाथि एउटा दर्बिलो दबाब संविधानसभाभित्रै सिर्जना हुन नितान्त आवश्यक थियो, तर दुई वर्षसम्म त्यस्ता दबाबकारी या आग्रहकारी एकमुष्ट भूमिकामा ती पुतलीहरू देखा परेका थिएनन्, अचानक देखापरे-आफ्नो सान, मान, सुविधा र भूमिकाहीन भूमिका जोगाउनका लागि घन्टौँ नाराबाजी गरिरहे र त्यसपछि शायद अर्को एक वर्षका लागि पुतलीहरू बेपत्ता भएका छन् । अब फेरि ०६८ साल जेठ १४ गते राति त्यसरी नै तिनलाई देख्न पाइनेछ, यदि त्यसबेलासम्म बानेश्वरको सेतो हात्ती जीवित रहिरह्यो भने । बलियो उपस्थितिका ती कमजोर भूमिकावालीहरू राष्ट्रियता, राष्ट्रिय एकता, सार्वभौमिक स्वतन्त्रता र अखण्डता एवम् प्रचलित प्रजातान्त्रिक मूल्य-मान्यताका पक्षमा ‘त्यसरी’ प्रस्तुत हुन सकेका भए देशले नयाँ गति र दिशा लिनेगरी एउटा ऐतिहासिक सकारात्मक योगदान पुर्‍याउन सम्भव हुने अनुमान गर्न सकिन्थ्यो या अझै सकिन्छ । तर, अपसोच पुतलीहरू भुरुरु आए, पखेटा नचाए, रस खाने फूलबारी वर्ष दिनका लागि सुरक्षित पारे र त्यतै भित्र कतै हराए । ‘त्यो’ रातको जस्तो जोस, मान-सम्मान र सुविधा गुम्ने चिन्तामा प्रकट भएकै जस्तो चीत्कार जनताका समस्या लोकतन्त्र र देशको एकता सबलीकरणका पक्षमा पनि देखा परेको भए अन्य जातका पुतलीहरू पनि यिनका अघिल्तिर नतमस्तक हुने थिए, जनता राजनीतिक क्षेत्रमा तेत्तीस प्रतिशत आरक्षणको अर्थ बुझन समर्थ हुन्थे र देशले एउटा सुमार्ग ग्रहण गर्न सक्थ्यो । दलको नेताका पुतलीहरू, विचारका पुतलीहरू, जाति र क्षेत्रका पुतलीहरू, विदेशीका पुतलीहरू तथा पहिचान खुल्न बाँकी रहेका सबै पुतलीहरू जसरी आफ्ना स्वार्थका लागि ‘एक’ भएका थिए त्यसैगरी देश र प्रजातन्त्रका लागि पनि ‘एक’ बन्ने हो भने पुतली पुतली रहने थिएनन् देशले नयाँ आवरण प्राप्त गर्ने थियो ।
राष्ट्रिय सहमतिको सरकार नबनेका कारण निर्धारित मितिमा संविधान बन्न नसकेको निष्कर्ष माओवादी र केही अरूले निकाले । यही तर्कका आधारमा संविधानसभाको म्याद थपियो र प्रधानमन्त्रीको राजीनामा मागियो । राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न दिनुभएको सात दिनको समयावधि गफैगफमा गुजारिएको छ र माओवादीको पुरानो तर्कका आधारमा भन्ने हो भने फेरि पनि संविधान निर्माण नगर्नका लागि बहुमतकै सरकार गठन गर्ने चाँजोपाँजो मिलाइँदै छ । सरकारले गर्ने काम र संविधानसभाले गर्नुपर्ने काममा ध्रुवीय अन्तर छ, तथापि माओवादीले ‘सरकार नपाई संविधान बन्न नदिने’ बालहठ छोडेको छैन, उनीहरूमाथि एउटा दबाब सिर्जना गर्नैपर्ने बेला भएको छ, तर पुतलीहरू फरार † जनजीवनका पुराना समस्या यथावत् छन्, नयाँ समस्या ‘तेब्बर’ भएको छ । बरु विगतको सहज जीवनलाई असहज तुल्याउँदै थप कष्टप्रद बनाइएको छ, संविधानसभाका ‘संवेदनशील’ पुतलीहरू मौन छन् । सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय एकता, राष्ट्रियता र अखण्डता पहिलेभन्दा दुबल हुँदै गएको छ, पुतलीहरू बेखबर छन् । देश जातीय र क्षेत्रीय युद्धमा भासिँदै छ, क्रिश्चियनहरू आँधीसरह आएर सलहसरी समाजमा घुसेका छन्, पुतलीहरू चुपचाप छन् । पुलिङ्गी पुतलीहरू योग्य, इमानदार र सक्षम एवम् देशप्रति संवेदनशील भएनन् भनेर नै तेत्तीस प्रतिशत आरक्षणको अवधारणा ल्याइएको थियो । तर, यी पनि अरूभन्दा फरक देखिएनन्, रस चुस्न अघि-अघि देश चुम्न पछि-पछि । आफ्ना लागि जेठ १४ को राति सुरिएका स्वरहरू देशका लागि पनि चुलिएका भए देश नबने पनि, संविधान नबने पनि आरक्षणवालीहरूको औचित्य पुष्टि हुने र इमेज बन्ने त थियो । तर, पुतली रंगीन होस या ब्ल्याक एन्ड ह्वाइट, स्त्रीलिङ्गी होस् या पुलिङ्गी तिनले रसै चुस्दारहेछन् र ज्यानका लागि रस चुस्नु नै तिनको मूल विशेषता हुँदोरहेछ । होइन भने पुतलीहरू आफैं अघि सरेर आफ्नै नेतृत्वमा सरकार बनाउन र चलाउन पनि सक्थे, आजसम्म कसैले नगरेको काम गरेर देखाउन पनि सक्थे ।