माधवद्वारा सबैलाई धोखा -जयप्रकाश

माधवद्वारा सबैलाई धोखा -जयप्रकाश


प्रधानमन्त्री पदमा नियुक्ति भएदेखि पदत्यागसम्मको तेह्रमहिने अवधिमा माधवकुमार नेपालबाट सबैलाई धोखा भएको देखिएको छ । नेपालबाट सबैभन्दा पहिले धोखा पाएको सार्वजनिक टिप्पणी माओवादी अध्यक्ष प्रचण्डले गत वर्ष प्रधानमन्त्री नियुक्त हुनेबित्तिकै गर्नुभएको थियो । प्रचण्डको आसय थियो- ‘सहयोग पुग्ला भनेर चुनाव हारेका मान्छेलाई ल्याएर संवैधानिक समितिको सभापति बनाइयो, तर विरोधी मोर्चा बनाएर प्रधानमन्त्री पो बने ।’ भविष्यमा प्रधानमन्त्री बन्ने चक्करमा लाग्ने छैनन् र केवल संविधान निर्माणमा मात्र केन्दि्रत रहनेछन् भन्ने विश्वासमा परेर प्रचण्डले माधवलाई संविधानसभामा प्रवेश गर्न आग्रह गर्नुभएको प्रचण्डका अभिव्यक्तिका आधारमा बुझ्न सकिन्छ । तर, संविधान निर्माणप्रतिको जिम्मेवारी छोडेर प्रधानमन्त्री बन्नतिर लाग्नुलाई प्रचण्डले माधव नेपालबाट धोखा भएको सन्दर्भका रूपमा बुझनु र व्याख्या गर्नुभएको थियो । माधव नेपाललाई प्रधानमन्त्री बनाउन एमालेभित्र वरिष्ठ नेता केपी शर्मा ओली र नेत्री विद्या भण्डारीको सबैभन्दा ठूलो भूमिका थियो । ओलीले बल नदिनुभएको भए माधव नेपाल न प्रधानमन्त्री बन्नुहुन्थ्यो न तेह्र महिनासम्म टिक्न नै सक्नुहुन्थ्यो । सहयोगी विद्या भण्डारीलाई तेजोबध गर्ने, सताउने, हेप्ने र होच्याउने प्रकारका व्यवहार प्रधानमन्त्रीबाट भएको महसुस धेरैले गरे । रक्षामन्त्रीका रूपमा काम गरिरहँदा अनेकौं विषयमा प्रधानमन्त्रीबाट व्यवधान पैदा भएको महसुस भण्डारीले गरिरहनुपर्‍यो । सत्तामा रहिन्जेल केपी ओलीलाई पनि माधव नेपालले खासै महत्त्व दिएनन् । गत बुधबार अकस्मात् राजीनामा दिनुको एउटा मुख्य कारण ओलीलाई संविधानसभा सदस्य नियुक्ति गर्नुपर्ला भनेर हुनुपर्छ भन्ने ठानिएको छ । केपी ओलीले माधवलाई प्रधानमन्त्री बनाउन र बनिरहन एक वर्षसम्म निरन्तर सहयोग गरिरहनुभयो । तर, जब ओलीसँग एक वचन सल्लाहसमेत नगरी राजीनामा दिएर भाग्नुभयो । भनिन्छ, गत बुधबार बिहान १० बजेतिर केपी ओलीसँग माधव नेपालको भेट भएको थियो तर उहाँले त्यसबेला राजीनामा दिने सङ्केतसम्म पनि दिनुभएको थिएन । कसैको एकोहोरो प्रेमजस्तो रह्यो केपीको सहयोग माधवका लागि । माधवलाई प्रधानमन्त्री बनाउन र टिकाइरहन भरपर्दो सहयोग पुर्‍याउने नेपाली काङ्गे्रसप्रति पनि उहाँ इमानदार र कृतज्ञ रहनुभएको महसुस गरिएको छैन । माधव भित्रबाट काङ्ग्रेसको सख्त विरोधी हुनुहुन्थ्यो र कतै राजनीतिक नियुक्तिहरू गर्दा पनि काङ्ग्रेसीहरू नपरून् भनी अत्यन्त सचेत हुनुहुन्थ्यो । अख्तियार प्रमुखमा श्रीकान्त रेग्मीलाई नियुक्त नगर्न त उहाँले ठूलै अडान लिनुभयो, अन्त्यमा आफ्नै मान्छे -बाबुराम आचार्य) लाई काङ्गे्रसपट्टबिाट आउन लगाएर प्रमुख आयुक्त बनाउने प्रयास गर्नुभयो भने सात आयुक्तमा पाँचजना एमाले समर्थकलाई नियुक्त गर्ने प्रक्रिया अघि बढाउनुभयो । आफ्नो पक्षका बहुमत रहेपछि भ्रष्टाचारको मुद्दा आफ्ना समर्थकलाई चाहिँ कहिल्यै नलाग्ने स्थिति सिर्जना गर्ने प्रयास नेपालले गर्नुभयो ।
प्रधानमन्त्री पद त्याग गर्ने बेलामा पनि माधव नेपालले काङ्गे्रसका मुख्य नेता सुशील कोइरालाको स्वदेश आगमनलाई पर्खन आवश्यक देख्नुभएन । काङ्गे्रसका अन्य नेताहरूलाई पनि करिब दुई घन्टाअघि राजीनामा गर्न लागेको जानकारी मात्र दिनुभयो, कुनै सल्लाह या छलफल गर्ने आवश्यकता देख्नुभएन । माधवको व्यवहारलाई काङ्गे्रसले आफूमाथिको धोखाको रूपमा बुझेको छ । अब नयाँ सरकार गठन गर्ने क्रममा पनि माधव नेपालले अन्तिम र निर्णायक धोखा पायो भने कुनै आर्श्चर्य हुने मानिँदैन, तर उहाँले अहिलेसम्म काङ्गे्रसकै नेतृत्वमा सरकार गठन गर्न सहयोग पुर्‍याउन वचन दिइरहनुभएको छ र काङ्गे्रस नेताहरूले बडो सशङ्कित हुँदै माधव नेपाललाई ‘विश्वास गरिरहेका’ छन् ।
माधव नेपाललाई प्रधानमन्त्री बन्न र टिकिरहन तमलोपा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलगायत सबैजसो साना दल -जम्मा बाइस) हरूले निरन्तर सहयोग पुर्‍याइरहे । साना दलहरूले राजीनामा नगर्न माधवलाई बारम्बार आग्रह पनि गरिरहेका हुन्, तर तिनको भावनामा कुठाराघात गर्दै उहाँले राजीनामा दिनुभयो । कति दलका नेताले त सञ्चारमाध्यमबाट प्रधानमन्त्रीको राजीनामा घोषणा भएपछि मात्र थाहा पाएका थिए ।
प्रधानमन्त्रीका रूपमा माधवकुमार नेपाललाई स्थापित गर्न छिमेकी मित्रराष्ट्र भारतले पनि आफ्नो ठाउँबाट धेरै ठूलो सहयोग पुर्‍याएको विश्वास गरिन्छ । प्रजातान्त्रिक गठबन्धन र त्यस्तो गठबन्धनको सरकार गठनमा महत्त्वपूर्ण सहयोग पुर्‍याएको ठानेर नै माओवादीले माधव नेपालको सरकारलाई ‘कठपुतली’ सरकारको संज्ञा दिएको हो । उहाँलाई प्रधानमन्त्री बनाउन र टिकाउन भारतले जस्तो र जतिसुकै सहयोग पुर्‍याएको भए पनि माधव नेपालले त्यसप्रति कुनै संवेदनशीलता देखाउनुभएन । भनिन्छ, भारत नेपालमा लोकतन्त्र तथा लोकतान्त्रिक शक्तिहरूको सुदृढ अवस्था चाहन्थ्यो तर माधव नेपालले त्यस्तो कुनै कार्य गर्न सक्नुभएन । उहाँको भूमिकाले उल्टै माओवादीलाई नै सहयोग पुगेको ठानिएको छ । एमआरपी प्रकरण, संविधानसभाको कार्यकाल थप तथा सुरक्षासँग सम्बन्धित कैयन विषयहरूमा पनि माधव नेपालको भूमिकाले भारतलाई उपेक्षा, अपमान र बद्नाम गर्न सहयोग पुर्‍याएको ठानिन्छ । जानकारहरूका अनुसार समग्रमा माधव नेपालबाट भारतले धोखा पाएको महसुस गरेको छ । यसरी आफ्ना शुभचिन्तक एवम् सहयोगी सबैलाई धोखा दिएर माधव नेपालले माओवादी र माओवादीका हितैषी झलनाथ खनालहरूबाट चाहिँ कत्तिको प्रशंसा, सहयोग र सुभेच्छा पाउनुहोला यो जिज्ञाशाको विषय बनेको छ । तर, उहाँको भूमिकाले उहाँलाई सहयोगीहरूको दृष्टिमा ‘अवाञ्छित पात्र’ बनाएकोचाहिँ अवश्य छ ।
माधव नेपालको चरित्र र भूमिकाले शुभेच्छुहरूका दृष्टिमा उहाँलाई ‘नालायक एवम् विश्वासघाती’ बनाइरहेका बेला एक बहुचर्चित व्यक्तिले २०६५ माघ १२ गते घटना र विचार प्रतिनिधिसँगको भेटमा भन्नुभएको कुरा यहाँ स्मरणीय हुन पुगेको छ । ती प्रतिष्ठित एवम् बहुचर्चित व्यक्तिले एक खास सन्दर्भमा टिप्पणी गर्दै भन्नुभएको थियो, ‘माधव नेपाल प्रधानमन्त्री बन्ने सम्भावना छ त भन्नुभयो तर यो व्यक्ति कसैको पनि विश्वासको मानिस होइन र कुनै कामका मानिस पनि होइनन् नि ।’ घटनाक्रमले उक्त भनाइ सही भएको पुष्टि गरिदिएको छ । र, ‘माधव नेपाल भविष्यमा सेवाको निम्ति अयोग्य’ ठहरिने गरी सेवामुक्त हुनुभएको छ ।