एकघण्टामै दिइन्छ: सुशिल कोइराला

एकघण्टामै दिइन्छ: सुशिल कोइराला


नेपाली काङ्ग्रेसका सभापति सुशिल कोइराला पदको लोभ नगर्ने, लोकतान्त्रिक मुल्य–मान्यता र आर्दशमा सम्झौता नगर्ने, सिद्धान्तमा अडिग नेताको रुपमा परिचित हुनुहुन्छ । पछिल्लो समयमा ‘सहमतिको प्रधानमन्त्री’का रुपमा चर्चामा रहनुभएका कोइरालासँग घटना र विचार साप्ताहिकका लागि ऋषि धमलाले गरेको कुराकानी ः
भट्टराई सरकार हटाउने तपाईंहरूको अभियान कहाँ पुगेको छ ?
बाबुराम–प्रचण्डजीहरूले जसरी एकलौटीरूपले विधिविधानलाई नाघेर चुनाव गराउँछु भन्नुभयो, हामीलाई बडो कष्ट र दुःख लाग्यो । यो विधिअनुरूप भएन भन्दै हामीले राष्ट्रपतिलाई ज्ञापनपत्र दियौँ । संविधानलाई बचाउनु पर्‍यो भनेर संरक्षक राष्ट्रपतिलाई हामीले यो कुरा पटक–पटक भनेका छौँ । केही नभए आन्दोलन त छँदैछ ।
आन्दोलन त अन्योलमा पर्‍यो नि ?
अन्योल–सन्योल केही पनि होइन, पछि देखिन्छ यसको परिणाम । राजाको पालामा पनि ‘यस्तो आन्दोलन उस्तो आन्दोलन’ भनेर उपहास गर्न खोजिन्थ्यो । पछि त्यही आन्दोलनले उनलाई नारायणहिटीबाट हटायो । त्यसबेला काङ्ग्रेसले संसद पुनस्र्थापना भनेको थियो, पछि भयो कि भएन ? त्यसकारण उतारचढाव त हुन्छ नै । बर्षेयाम भएकाले पनि अलिकति सिथिलता देखिएको छ । हामी तीन प्रकृतिका सङ्घर्ष गर्दैछौँ । एउटा संवैधानिक, दोस्रो राजनीतिक र तेस्रो वार्ता र सहमतिको सरकार । यी तीनवटै मोर्चाबाट काँग्रेसले सङ्घर्ष गरिरहेको छ ।
निकासचाहिँ कुन संघर्षले देला जस्तो लाग्छ ?
माओवादी साँच्चै नै शान्ति, अमनचयन कायम गरेर मुलुकमा विकास निर्माण, यहाँको गरिबीको रोजगारीको समस्या समाधान गर्न चाहन्छ भने वार्ताबाटै मात्र सम्भव छ । हामी चाहन्छौँ समस्याको निकास पहिला वार्ता र सहमतिबाटै होस्, यदि वार्ताबाट निकास प्राप्त हुन सकेन भने आन्दोलनको आँधीबेहरीबाट सहमतिमा आउन बाध्य पार्नेछौँ ।
प्रधानमन्त्री भट्टराईले पद छोड्नुभएन भने ?
छोड्नैपर्छ । उहाँले केही गर्न सक्नुभएन, त्यसैले उहाँले छोड्नैपर्छ । अर्को विकल्प छैन, बाबुरामजीले बुझ्नुपर्‍यो नि । उहाँकै पार्टीमा त्यत्रो समस्या देखियो, त्यो सुन्दा दुःख पनि लाग्यो । यो राम्रो होइन ।
बाबुरामको नेतृत्वमा सहमति हुनसक्दैन ?
त्यो हुँदैन, उहाँले पद छोड्नैपर्छ । साथीहरूले त्यसबेला बाबुराम नेतृत्वको सरकारमा जान हुँदैन भन्दै थिए तर मैले नै स्ट्याण्ड लिएको हुँ । उनीहरूको आग्रहलाई समेत ध्यानमा राखेर पाँच दिनका लागि भए पनि माओवादीको नेतृत्वमा काँग्रेस गयो भने हाम्रो नेतृत्वमा पनि उनीहरूलाई आउन सजिलो हुन्छ । ‘रिक्स’ नै लिएर मैले यो निर्णय गरेको हुँ, अहिले पनि लान्छना लगाइन्छ । उनीहरूको सजिलोका लागि मैले त्यो ‘रिक्स’ लिएको हुँ, माओवादीले बुझ्नुपर्‍यो नि ।
खै त माओवादीले बुझेको ?
आफैं धोखा खानुहुन्छ उहाँहरू । नेपाली काँग्रेसलगायत अरूलाई के धोका दिनुहुन्छ !?
प्रधानमन्त्रीलाई हटाउन राष्ट्रपतिले े गर्नुपर्ला ?
यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भन्ने होइन, उहाँले विधि–विधानअनुसार आप्mनो विवेक प्रयोग गरेर अगाडि बढ्नुपर्छ ।
प्रधानमन्त्रीलाई बर्खास्त गर्न सक्नुहुन्छ ?
त्यो राष्ट्रपतिको कुरा हो, म यस विषयमा केही भन्दिनँ ।
त्यसो भए आन्दोलनबाट हटाउनुहुन्छ तपाईंहरू ?
एकदम ! अरू कुरै छैन । पहिला हामीले राजालाई पनि त्यही भनेका थियौँ । समयमै सच्चिएन भने त्यसले विकराल रूप लिन्छ । पछि त्यो परिणामले देखाएन त ? हाम्रो बाटो सत्य छ । बाबुरामजीलाई मेरो आग्रह छ– समय छँदै प्रधानमन्त्रीको कुर्सी परित्याग गर्नुहोस्, किन मुलुकलाई बर्वाद गर्नुहुन्छ ?
काँग्रेसले सर्वसम्मत प्रधानमन्त्री चयन गर्न नसकेर सङ्क्रमणकाल लम्ब्याएको एमालेले आरोप लगाएको छ नि ?
त्यसो होइन, बेकारको फाल्तु कुरा हो । काँग्रेसले एक घण्टामा प्रधानमन्त्रीको नाम सार्वजनिक गर्छ । पहिले नाम सार्वजनिक गरेर काँग्रेस हलुको बन्न चाहँदैन ।
साझा प्रधानमन्त्रीको उम्मेदवार सुशील कोइराला हो कि होइन ?
त्यो म जान्दिनँ । यस्ता कुरा मसँग नगर्नुहोस् । यस विषयमा संस्थाले निर्णय गर्छ ।
काँग्रेसबाट भावी प्रधानमन्त्री को हो त ?
संस्थाले जसलाई निर्णय गर्छ उही नै हो ।
मुलुकको सहमतिका लागि तपाईंको पहल कहाँबाट सुरु हुन्छ ?
त्यत्रो आक्रोशको बाबजुद सबै साथीहरूसँग राष्ट्रिय सहमति र एकता छोड्नु हुन्न भनेर बाटो खोलिदिएको छु । मुलुकको सबै राजनीतिक शक्तिलाई बोलाएर छलफल गरौँ ।
काँग्रेसबाट तपार्इं, शेरबहादुर र रामचन्द्र पौडेलमध्ये भावी प्रधानमन्त्री को हो त ?
ब्यक्तिको विषयमा यो नै हो भनेर म अहिले भन्न सक्दिनँ । तर हामी सहमतिकै प्रधानमन्त्री बनाउँछौ । काग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ । ब्यक्ति गौण कुरा हो, संस्थाले जसलाई निर्णय गर्छ, उही नै प्रधानमन्त्री हुन्छ ।
संविधानसभा पुनस्र्थापनाको सम्भावना कत्तिको देख्नुहुन्छ ?
संविधानसभा पुनःस्थापनको सम्भावना छैन । अहिले हामी त्यतातिर जान चाहँदैनौ । काङ्ग्रेस प्रष्ट छ, अब ताजा जनादेशको लागि तयार रहनुपर्छ ।
त्यसोभए चुनावको लागि तयारी भएको हो, काङ्ग्रेस ?
काङ्ग्रेस चुनावको लागि जहिले पनि तयार छ । बाबुराम भट्टराईले गराउने भनेको संविधानसभाको निर्वाचन हुन सक्दैन, त्यो असम्भव छ । अब छिट्टै काङ्ग्रेसको नेतृत्वमा बन्ने सरकारले सहमतिमा निर्वाचनको अर्को मिति तोक्छ ।
तर, काङ्ग्रेसका पूर्वसभासदहरू त पुनःस्थापनको पक्षमा लविङ गर्दै हिँडिरहेका छन् नि ?
पूर्वसभासदहरूले आफ्नो विचार राखेका होलान् तर काङ्ग्रेसको आधिकारिक लाइन त्यो होइन । एउटा प्रजातान्त्रिक पार्टीमा विभिन्न विचार र धारणा आउन सक्छ । त्यसलाई अन्यथा लिनु हुँदैन । काङ्ग्रेसको स्पष्ट अडान छ, पुनस्र्थापनाले निकास दिँदैन ।