मुसो प्रवृत्ति नै थापाको राजनीतिक चरित्र

मुसो प्रवृत्ति नै थापाको राजनीतिक चरित्र


:: रामु राई ::Ramu rai
रा.प्र.पा. (नेपाल)का कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विरोध गर्दै राजा, धर्म र स्थानीय स्वायत्त शासनको नाममा गत निर्वाचन मार्फत २५ सिट प्राप्त गरी तत्कालिन संविधानसभा तथा व्यवस्थापिका संसदमा प्रवेश गरेका थिए ।

संविधान निर्माणको अन्तिम चरणमा आइपुग्दा कमल थापाले संविधान लेखन प्रक्रियामा सामेल नहुने घुर्कि सृजना गर्दै बाहिर आउने नाटक मञ्चन गर्ने काम गरे । नियतवस् सृजना गरिएको घुर्की भएकोले सशर्त वार्तापछि संविधान निर्माण प्रक्रियामा पुनः सामेल हुन संविधान सभामा फर्के । र आफुले राजा, धर्म र स्थानीय स्वायत्त शासनको नाममा जनताबाट प्राप्त मतको अपमान गर्दै गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको संविधानमा सहीछाप गरे र अन्य स्वाभिमानी सभासदहरुलाई पनि सही गर्न बाध्य गराए । यसरी संविधानमा सही गर्नुका साथै ताली र टेबल ठोक्दै गणतान्त्रिक संविधान सहर्ष स्वीकार गर्ने काम गरे अब कमल थापाको राजनीतिक सिद्दान्त के हो ? साथै अब पनि फेरी मेरो सिद्दान्त, राजा, धर्म र स्थानीय स्वायत्त शासन भन्न सुहाउँछ ? कि सुहाउँदैन ।

यति मात्र होइन त्यही गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको संविधान अनुसार सरकारमा समेत जाने काम गरे । र, राजा होइन राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिने काम गरे । अब उनको काम, कर्तब्यहरुमध्ये संविधानको कार्यान्वयन र पालना गर्ने गराउने पनि हुनेछ । त्यसैले अब स्वभाविक रुपले प्रश्न उठ्न सक्छ र उठी रहेको छ कि अब राजावादी, हिन्दुबादी र संघीयता विरोधी नारा जुलुश निस्कदा र हुँदा कमल थापा के भन्लान र के गर्लान ? जुलुश दबाउन प्रहरी प्रशासन प्रयोग गर्छन कि जुलुशमा सामेल हुन आउँछन् ?

फेरि अर्को हास्यास्पद कुरा छ वार्ता संयोजकको । मैले माथि भनिसके जस्तै कमल थापाले पाएको मत मध्ये संघीयताविरोधी मत पनि हो । दुर्भाग्य आज फेरि आन्दोलनरत तराईकेन्द्रीत राजनीतिक दलहरुको मागमध्ये प्रमुख माग भनेकै संघीय प्रदेशको सिमांकन हो । अब के संघीयताविरोधी कमल थापालाई वार्ता संयोजक बनाएर सकारात्मक समाधान निस्कला ?

अन्तमा, मेरो जिज्ञासा– अब कमल थापाको राजनीतिक आस्था के हो ? सत्ता र पैसाको स्वार्थमा देखावटी गणतन्त्रवादी भएर गणतन्त्रको डुङ्गा (नाउ) दुलो पार्ने मुसो प्रवृत्ति हुने हो कि अवसरवादी द्वैध चरित्र हो ? खबरदार राजतन्त्र वा गणतन्त्रवादी दुबैतर्फ होसियार ! सबैलाई चेतना भया ।

(लेखक राप्रपा नेपाल (समानान्तर) महामन्त्री हुन् ।)