राष्ट्रियता र स्वाधीनताको सन्दर्भमा नेपाली कांग्रेस

राष्ट्रियता र स्वाधीनताको सन्दर्भमा नेपाली कांग्रेस


:: इन्द्रबहादुर बराल ::

संविधान जारी भएपश्चात् नयाँ सरकार निर्माण गर्ने सिलसिलामा केही दिनअघि मात्र प्रधानमन्त्री पदको निर्वाचन सम्पन्न भएको छ । जारी नेपालको संविधान कार्यान्वयनको सिलसिला पनि प्रधानमन्त्री पदकै निर्वाचनबाट प्रारम्भ भई मुलुकले नयाँ प्रधानमन्त्री प्राप्त गरेको हो । धेरै लामो कसरपछि एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली मुलुककै प्रमुख कार्यकारी पद प्राप्त गर्न सफल हुनुभयो र सफलताप्रति वधाई तथा शुभकामना व्यक्त गर्न किन कञ्जुस्याइँ गर्नु ? तथापि, यसपटकको प्रधानमन्त्री पदको निर्वाचनमा नेपाली कांग्रेसप्रति नजानिदो ढंगले राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको सन्दर्भमा गम्भीर आशंका गरेको अनुभव गरियो । त्यो गम्भीर प्रकृतिको आशंका राष्ट्रियता र राष्ट्रवादतिर सोझिएको भन्न सकिन्छ ।

Indra-Baral
देश तराइ÷मधेश आन्दोलनले आक्रन्त भएको र त्यो मधेश आन्दोलनलाई मित्रराष्ट्र भारतले समेत अनेक बहानावाजीमा अघोषित नाकाबन्दी लगाएर नेपाली जनताप्रति देखाएको अमानवीय ब्यबहारलाई नेपाली कांग्रेस नेतृत्व ‘किंकर्तब्य विमुढ’ हुँदा राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताप्रति नेपाली कांग्रेस चुकेको हो कि भन्ने गलत सन्देश प्रधानमन्त्रीका प्रतिस्पर्धी लगायत सहयोगी दलहरुले दिन खोजेको छनक भेटियो । नेपाली समाज विज्ञान र प्रविधिको दृष्टिले ०४५÷४६ सालतिरको जस्तो स्थिति छैन । अहिले धेरै अगाडी बढिसकेको सामाजिक सञ्जालका कारण सामाजिक जागरण र चेतना उन्नत भई सकेको सन्दर्भमा नेपाली जनतालाई भारतीय पक्षले दिएको दुःख–कष्टले नेपालीको स्वाभिमान र राष्ट्रियताको प्रशंग ज्यादै मुखरित भएर आयो । यही भावनालाई आफ्नो पक्षमा लिन तत्कालीन प्रधानमन्त्रीका प्रत्यासी हालका प्रधानमन्त्री केपी शर्मा ओली सफल हुनुभयो र साथै प्रमुख सहयात्री एकीकृत नेकपा माओवादी पनि त्यति नै सहयोगी सावित भए । प्रम केपी ओली र एमाओवादीका अध्यक्ष प्रचण्डले नेपाली जनताका भावना र चाहानालाई तत्क्षणको लागि भए पनि भारतले लगाएको अघोषित नाकाबन्दीको बिरोध गर्दा उनीहरु अत्यन्तै ठुला राष्ट्रवादी र राष्ट्रियताको पहरेदार भएको देखाउन सके । जसले गर्दा प्रधानमन्त्रीको चयन ब्यवस्थापिका संसदका सदस्यहरुले गर्ने भए पनि कतै आमनिर्वाचन नै होकि झैं प्रभाव पार्न सफल पनि भए । त्यही कारणले नेपाली कांग्रेसप्रति राष्ट्रिय स्वाधीनता र

तथापि, सधै आफ्नो स्वार्थलाई केन्द्रमा राखेर हिँड्ने तर बाहिर अर्कै ढ्वाङ फुक्नेहरु अहिले धेरै राष्ट्रवादी र राष्ट्रिय स्वाधीनताका मसिहा बनेका छन् र नेपाली कांग्रेसप्रति विष वमन गर्दैछन् । हो, कांग्रेस आफु काम गर्ने तर त्यसको श्रेय लिन नजान्ने पार्टी अवश्य हो । यसका अनगिन्ती उदाहरण छन् । नेपाली जनता आफैंले भोगेको र अनुभव गरेको कुरा हो २०६४ को संबिधानसभामा कांग्रेस पराजित हुँदा ५-६ वर्ष राज्यको ढुकूटी बालुवामा पानी बन्यो । देशले संविधान पाउन सकेन, राष्ट्रवादका ढ्वाङ फुक्नेहरु बाँडीचँुडी राष्ट्रलाई खोक्रो बनाउने तिर लागेकै हुन् । उपलब्धिहीन पहिलो संबिधान सभाको कार्यकाल बोक्नु न ब्याउनुको थारो गाई बनाए । नेपाली जनताको रगत पसिना बाट जम्मा भएको राष्ट्रको ढुकुटी रित्याउने काम मात्र भयो । तर सहमति जुटाएर मुलुकलाई संविधानविहीन अवस्थाबाट मुक्त गराएर नेपाली जनताले दिएको जिम्मेवारी पुरा गरेको पार्टी नेपाली कांग्रेसलाई आँच पुग्ने गरि रष्ट्रियता र राष्ट्रिय स्वधिनता बारे भ्रम छर्ने काम कहीँ न कहीँ सुनियोजीत ढंगले आएको हुनुपर्छ । नेपाली कांग्रेस मधेश समस्या संविधान संसोधनमार्पmत सम्बोधन गर्न चाहन्छ र भारतसँगको असमझदारीलाई कुशल कुटनीतिक ढंगले नै समाधान गर्नुपर्छ भन्ने मान्यता राख्दछ । त्यसै भएर क्षणिक लाभ वा हानीभन्दा पनि मुलुकलाई दीर्घकालीन लाभको पक्षमा नेपाली कांग्रेस निरन्तर अथक प्रयासमा तल्लीन छ ।

विभिन्न जातजाति, भाषाभाषी, धर्म संस्कृतिका आधारमा एकतामा गाँसिएका नेपाली नेपालीबीच घृणा र विद्वेष पनि नपैmलाएको होइन । तर नेपाली कांगे्रसले सामाजिक सद्भाव र क्षेत्रीय अखण्डतालाई अक्षुण राख्दै आफु सरकारमा भएको बेला धरै दरिला प्रयासहरु ग¥यो । जसले आदिवासी÷जनजातिको उत्थान गर्न विभिन्न प्रतिष्ठान एवम् आयोग बने । दलित, महिला आदिका हक अधिकार सुनिश्चित गर्न आयोगहरुको गठन भएका थिए र आज तिनै प्रतिष्ठान र आयोगहरु कृयाशील छन् । पश्चिम तराइका थारु समुदायका अधिकांश मानीसहरु कमैया थिए उनीहरुलाई २०५७ साल श्रावण २ गते मुक्त गराएर एउटा प्रशंसा योग्य काम गरेको छ । राजनीतिलाई कदमजम (कर्णाली, दलित, महिला, जनजाति र मधेशी)को माध्यमबाट समावेशी बनाइएको थियो तर त्यति मात्रै प्रयाप्त नहुन सक्छ थप सुधारका काममा कांग्रेस प्रयत्नशील छ । त्यस्तै जग्गा धनी (तलसिङ) र मोहीबीचको लामो विवादलाई टुङ्ग्याएर एउटा न्यायपूर्ण नीति निर्माणपश्चात जमिनमाथिको असमान स्वामीत्वलाई समान हक कायम गराउने पार्टी नेपाली कांग्रेसप्रति राष्ट्रिय स्वधीनता र राष्ट्रियताका सम्बन्धमा प्रश्न उठ्नु अत्यन्तै ठूलो सुनियोजित षडयन्त्र र योजनाअन्तर्गतको खतर्नाक खेल हुन सक्छ ।

कांग्रेस काम गरेर तिनै काममार्पmत राष्ट्रियता र राष्ट्रिय स्वाधीनतालाई खँदिलो बनाउदै अघि बढेको पर्टी हो । राष्ट्रियता र राष्ट्रिय स्वाधीनता हल्ला गरेर तथानाम चर्को स्वरले चिच्याएर बलियो हुँदैन । अहिलेको दुनियाँमा पाखुरा सुर्केर राष्ट्रवाद बलियो हुदैन न त अरुको पाउमा लम्पसार नै परेर हुन्छ । त्यसको लागि कुशल कुटनीतिक पहल आवश्यक छ र त्यहि बाटो उत्तम पनि हो । खोक्रो राष्ट्रवादका कुरा गरेर जनतालाई एक लिटर तेल र एक सिलिण्डर ग्याँस नपाएर भोक भोकै तड्पाइ राख्नु पनि त राष्ट्रवाद होइन होला नी ? अभावैअभावले ग्रसित जनताबाट राष्ट्रियताको जगेर्ना त्यति सहज नहुन सक्छ । तथापि कांग्रेस राष्ट्रियता र राष्ट्रिय स्वाधीनताप्रति थप सजग रहनै पर्छ ।