लण्डन । सदाझैं यस वर्ष पनि पञ्चासे समाज यूकेले हिजो, शनिवार, २८ जुलाई, २०१२को दिनमा मिचेटस्थित तमुधिं यूकेको हलमा यस वर्षको वार्षिक भेला बडो उल्लासमय वातावरणमा अत्यन्त मनोरञ्जनको साथ सम्पन्न गरेको छ । पञ्चासे समाज यूकेका अध्यक्ष ले.रि. दानबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न यस वर्षको कार्यक्रमका प्रमुख अतिथिहरु, समाजका वयोवृद्ध आमाहरु करना कुमारी गुरुङ र बत्ती कुमारीलाई आसन ग्रहण गराइएको थियो । अध्यक्षद्वारा पानसमा बत्ती प्रज्वलन गरेपश्चात दिनभरिको कार्यक्रम अबेर रातिसम्म सम्पन्न भएको थियो । सफा मौसमको फाइदा उठाउँदै आएका समाजका चेलीबेटीहरु तथा परिवारका सदस्यहरुको गहकिला ढाइसय जनाजतिका उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रमलाई सुरक्षा ब्रिफिङ सम्प्रेषण गर्दै समाजका सचिव आरकुमार गुरुङले सञ्चालन गरेका दिए । अध्यक्षलाई प्रमुख अतिथि आमाहरुको हातबाट खादा ओढाएर आशीर्वाद दिएपश्चात अध्यक्षले अतिथिद्यलाई खादा ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो स्वागत मन्तव्य प्रकट गर्ने क्रममा समाजका उपाध्यक्ष सुमल कुमार गुरुङले कार्यक्रमका सबै सहभागीहरुलाई स्वागत गर्दै बसाइँसराइको क्रममा पञ्चासे सेरोफेरोका वासिन्दहरुले बेलायतलाई आफ्नो अन्तिम गन्तव्यको रुपमा स्विकारे पनि आफ्नो जन्मभूमी, संस्कार र देशलाई भुल्न हुँदैन भनेका थिए । समाजका सल्लाहाकार विष्णु गुरुङ, चेलीबेटीहरुलाई प्रतिनिधित्व गर्दै तारा गुरुङ र जुमकाजी गुरुङले समाजको उत्तरोत्तर प्रगतिको कामना गर्दै आ–आफ्नो भनाइ राखेका थिए । त्यसपछि यस वर्ष शैक्षिक क्षेत्रमा जीसीएससी लेभेलदेखि डाक्टर तथा इन्जियरसम्मका डिग्री उपलब्धि हासिल गरेका समाजको सदस्यहरुका छोरा–छोरीहरुलाई खादा ओढाएर सम्मान गरेका थिए । सम्मानकै क्रममा यस वर्ष विशेष उपलब्धि तथा समाजलाई योगदान पु¥याएका व्यक्तित्वहरु क्रमशः सुमल कुमार गुरुङ, क्या.रि. निरज गुरुङ, हरिकाजी गुरुङ तथा सिमान्त गुरुङलाई समेत उनीहरुका उपलब्धिलाई बखान गर्दै खादा ओढाएर सम्मान गरेका थिए । यसको बावजुद समाजको कोषबृद्धि तथा कार्यक्रमलाई प्रायोजन गरेका समाजका दानबीरहरुलाई समेत खादा ओढाएर सम्मान गरेका थिए । यस कार्यक्रमलाई क्रमिक रुपमा सचिव आरकुमार बाहेक समाजका सदस्यद्वय जया गुरुङ तथा हरिकाजी गुरुङले पनि सञ्चालन गरेका थिए । समाजका अध्यक्षले औपचारिक कार्यक्रमलाई धन्यवाद ज्ञापन गरेर समापन गरेपछि संस्कृतिक कार्यक्रम शुरु गरेको थियो ।
अत्यन्त भव्यता तथा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको कार्यक्रममा समाजका कुशल नर्तकहरुले आफ्नो विविध नृत्य कौशल प्रस्तुत गरेका थिए भने पञ्चासे सेवा समाजका नव गायकहरुले आ–आफ्नो गीतहरु गाएर कार्यक्रमलाई थप रौनक बढाएको थियो । कार्यक्रमका सहभागीहरु त्यसबेला अझ रोमञ्चित हुन पुगे जतिबेला समाजका सदस्य सारादेबी गुरुङले संयोजन गर्दै आफ्नो भनाइमा पञ्चासे सेरोफेरोको सयर गराउने कुरा भनिन् । उनले आफैले रचेकी एउटा गुरुङगीत प्रस्तुत गरेर पुरानो ठाडो भाकाको गीत गाउनको लागि सिनियर सिटिजन, बुवाआमाहरुलाई अव्हान गरेकी थिईन् । समाजका ती जेष्ठ नागरिकहरुले आग्रहलाई स्वीकारेर मञ्चबाट ठाडो भाकाको गीत प्रस्तुत गरेका थिए । मादलमा हरिकाजी गुरुङले ती बृद्ध–बृद्धा बुवाआमाहरुलाई गीत गाउन उत्पे्ररित गर्दै साथ दिएका थिए । साँच्चै नै शताब्दियौदेखि गण्डक क्षेत्रमा गुञ्जिने मधुर कर्णप्रिय गीतलाई केहीबेर भए पनि जीवनदान दिएझै सबैलाई प्रतीत भएको थियो । यसरी विविध मनोरञ्जनात्मक कार्यक्रमहरु पस्कदै, नाच्दै, गाउँदै, झुम्दै कार्यक्रमको अन्तमा राफलचिट्ठा खेलाइएको थियो जसमा पन्द्रहवटा पुरस्कारहरु राखिएको थियो । फेरि अर्को साल भेट्ने वाचा गर्दै यस वर्षको वार्षिक भेला राति दशबजेतिर सकिएको थियो । श्रोत – सुमल, मेस ।
प्रतिक्रिया