बीरगञ्ज घटनाले तनाव बढाउने !

बीरगञ्ज घटनाले तनाव बढाउने !


Parsa_birgunj
काठमाडौं । बीरगञ्जस्थित नेपाल–भारत सीमास्थलमा रहेको शङ्कराचार्य गेटनजिक सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा स्थिति नियन्त्रणमा लिन सोमबार दिउँसो प्रहरीले चलाएको गोली लागेर अन्दाजी २० वर्षीय युवकको मृत्यु भएको छ । मृतक रक्सौलनिवासी भएको बुझिएको छ ।

टाउकोमा गोली लागेका ती युवकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले प्रहार गरेको रबरको गोली लागेर पाँचजना भन्दा बढी घाइते भएको सुरक्षा स्रोतले जनाएको छ । घाइते हुनेहरुमा वीरगन्ज रामटोलका रबि यादव, रेशमकोठीका गोविन्द साह, भेडियारीका भुलन साह र शिवजी साह सोनार लगायत रहेका छन् । उनीहरूको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । घाइतेमध्ये शिवजी साह सोनारको स्वास्थ्यस्थिति गम्भीर रहेको अस्पतालले जनाएको छ ।
त्यस्तै, प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा आठ सुरक्षाकर्मीसहित १८ जनाभन्दा बढी घाइते भएका छन् । प्रहरीको लाठी प्रहारबाट आदर्शनगरका राहुल दास, सरोज कुमार, राकेश गुप्तालगायतका व्यक्ति घाइते भएका छन् ।

यस घटनापछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज नगरक्षेत्रका केही स्थानमा सोमबार अपराह्न ३ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले नेपाल–भारत सीमा नाकास्थित शङ्कराचार्यद्वारदेखि इनर्वा, बाइपास, नयाँ बसपार्क, पावरहाउस चोक, राधेमाई क्षेत्र, आदर्शनगर र छपकैया लगायतका क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लगाइएको प्रजिअ केशव घिमिरेले जनाएका छन् । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र ३ (क) बमोजिम निषेधाज्ञा जारी गरिएको क्षेत्रमा एकै ठाउँमा पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन पाइने छैन । निषेधाज्ञा उल्लङ्घन गर्ने प्रयास गरेमा सुरक्षाकर्मीले कानुनबमोजिम कारबाही गर्न र उक्त क्षेत्रमा कुनै किसिमको हिंसात्मक कार्य गर्नेमाथि गोलीसमेत हान्न सक्ने बताइएको छ ।

सोमबार बीरगञ्जमा आफ्नो नागरिकको मृत्यु भएपछि नेपाल सरकारसँग भारत निकै आक्रोशित भएको र फलस्वरुप बीरगञ्जबाहेकका नाकाहरु पनि ठप्प पारिएको विश्लेषण गरिएको छ । यसले भारत र नेपालबीच पछिल्लो चरणमा चिसिन पुगेको सम्बन्ध अझ चिसो हुने र नेपालको जनजीवन झन् कष्टकर हुने अनुमान गर्न थालिएको छ ।