
रुपन्देही । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले नाकाबन्दीको सबैभन्दा बढी असर उद्योगधन्दा र कलकारखानामा देखिएको बताएका छन् । ‘नाकाबन्दीले उद्योगधन्दालाई प्रत्यक्ष असर पारेको छ ।’ प्रेस चौतारी रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘जसले गर्दा मुलुकको अर्थतन्त्र नै प्रभावित भएको छ ।’
भारतले गरेको नाकाबन्दी खुलाउन सरकारले कुटनीतिक पहल गरिरहेको बताउँदै मन्त्री पाण्डेले यसका बारेमा नेपालका प्रधानमन्त्रीले भारतीय समकक्षीसँग सोमबार कुराकानी पनि गरेको बताए । स्वाधीन अर्थतन्त्र निर्माणका लागि उद्योगधन्दाको विकास हुनुपर्ने बताउँदै उनले परिवर्तित सन्दर्भमा मन्त्रालयले यसबारे नीतिगत निर्णय लिने उल्लेख गरे ।
नाकाबन्दी र तराई आन्दोलनले पीडित उद्योगी–व्यवसायीलाई राहत दिनेबारेमा बैंक तथा वित्तीय संस्थाहरुसँग छलफल भैरहेको उनले जानकारी दिए । ‘उद्योगीहरुलाई बैंकको ब्याज छुट गराउन सकिन्छ भन्ने विषयमा छलफल भैरहेको छ ।’ उनले भने, ‘तर यसबारे ठोस निर्णय भैसकेको छैन ।’ उनले मुलुकभित्र पाइन सक्ने इन्धनका सन्दर्भमा व्यापक खोज अनुसन्धान गर्न थालिएको बताए ।
देशभित्रै पेट्रोलियम पदार्थको अन्नवेषण गरिने बताउँदै मन्त्री पाण्डेले कोइलाको उत्खनन्मा पनि सरकारको उत्तिकै ध्यान रहेको बताए । बन्द रहेका सरकारी उद्योगधन्दा सञ्चालन गर्न आफूले पनि पहल गर्ने बताउँदै उनले आफ्नो कार्यकालमा कुनै पनि सरकारी स्वामित्वका उद्योगधन्दा नबेच्ने प्रष्ट पारे । ‘मेरो कार्यकालमा एउटा पनि सरकारी स्वामित्वका उद्योगधन्दा बेचिँदैनन् ।’ उनले भने, ‘बरु बन्द उद्योगधन्दा खोल्न मेरो अधिकतम् प्रयास रहनेछ ।’
उनले भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) सञ्चानलनका लागि ऐन पारित हुने बताए । जग्गाको भाडा दर घटाएर भए पनि त्यसमा उद्योगी÷व्यवसायीको आकर्षण बढाइने उनले बताए । फरक प्रसंगमा उद्योग मन्त्री पाण्डेले रुपन्देहीलाई आर्थिक तथा औद्योगिक राजधानीको रुपमा विकास गर्न आफ्नो तर्फबाट प्रयत्न रहने बताए । मुलुकको मध्यभागमा अवस्थित, उद्योगधन्दाको सघन उपस्थिति जस्ता कारणले रुपन्देहीलाई आर्थिक तथा औद्योगिक राजधानीको रुपमा विकास गर्न सकिने उनले बताए । उद्योग मन्त्रालय अर्थ मन्त्रालयको छाया रहेको बताउँदै उनले उद्योग मन्त्रालयले चाहेको सबै काम गर्न नसकिने गुनासो गरे । उनले उद्योग मन्त्रालयलाई शक्तिशाली बनाउन पनि आफ्नो प्रत्यत्न रहने उल्लेख गरे । उनले मोतिपुर औद्योगिक करिडोर र निजी क्षेत्रबाट स्थापना गर्न थालिएको औद्योगिक क्षेत्रका बारेमा पनि आफ्नो तर्फबाट सहयोग रहने बताए ।
– चन्द्रकान्त खनाल
प्रतिक्रिया