पुनहिलको आकर्षणमा पर्यटक !

पुनहिलको आकर्षणमा पर्यटक !


काठमाडौं । हरियाली जङ्गलबीचमा अग्लो डाँडो । डाँडाबाट दृश्यावलोकनको लागि बनाइएको आकर्षक पुनहिल टावर । बिहानीको सूर्योदयसँगै चम्केका हिमशृङ्खलाको अवलोकनमा प्रर्यटक रमाइरहेका हुन्छन् । यो म्याग्दीको घार–१ घोरेपानीस्थित पुनहिलमा पुग्दा देखिने दृश्य हो । समुन्द्री सतहदेखि तीन हजार २१० मिटर उचाइँमा रहेको पुनहिल पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

विश्व प्रसिद्ध राउण्ड अन्नपूर्ण पदयात्राले समेटिएको यो क्षेत्र पदयात्राकै उत्कृष्ट गन्तव्यको रुपमा चिनिन थालेपछि हरेक वर्ष पुनहिल क्षेत्रको भम्रणमा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको हो । लामो र छोटो प्याकेजमा अन्नपूर्ण पदयात्रामा निस्किएका अधिकाँसले घोरेपानी क्षेत्रलाई आफ्नो प्रमुख रोजाइमा पार्ने गरेका छन् । पदयात्रा हुँदै घोरेपानीमा पुगेका पर्यटकको लागि पुनहिलबाट देखिने बिहानीको सूर्योदय मुख्य आकर्षण हो ।

चम्कीला किरण छर्दै हिमालकै छेउबाट उदाउँने सूर्योदयको दृश्यावलोकनसँगै पूर्वदेखि पश्चिमसम्म नै दन्तलहर झै देखिने हिमचुचुरोको दृश्यले त्यहाँ पुग्ने जो कसैको मन लोभ्याउने गर्छ । धेरै राम्रो लाग्यो यो क्षेत्र, मसँगै छोरी र श्रीमतीलाई पनि भम्रणमा ल्याएको छु, स्वदेश फर्किएपछि समय मिलाएर फेरी पदयात्रामा आउने योजना बुनेको छु” अमेरिकी पर्यटक ज्याक क्यान हन्टुराले बताउनुभयो ।

धुँवा धुलोरहित स्वच्छ वातावरणमा प्रकृतिको स्नेहीपूर्ण यात्राले यस क्षेत्रमा भम्रणमा आउने पर्यटक मख्ख परेर फर्कने गर्छन् । विदेशी पर्यटकको समूहलाई चक्रिय अन्नपूर्ण पदयात्रा गराउने क्रममा घोरेपानी पुग्नुभएका कोलम्बो टे«क्स काठमाडौंका सञ्चालक प्रमोद दाहालले यस क्षेत्रको प्राकृतिक सौन्दर्यता, भौगोलिक बनावट र मनोरम हिमशृङ्खलाले पर्यटकको मन जितेको अनुभव सुनाउनुभयो ।

भूकम्पपछि पनि अन्नपूर्ण सर्किट पुरै सुुरक्षित रहेकाले सरकारले मुलुकको राजनीतिक अवस्थालाई स्थिर तुल्याउनसकेमा मात्रै अहिले थलिएको पर्यटन जुर्मुराउने उहाँको भनाइ छ । आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरी हिमालको रेञ्जमा पर्ने झण्डै २० बढी हिमचुचुरालाई नजिकबाट नियाल्न सकिने पुनहिलमा चैत्र वैशाखमा ढकमक्क फुल्ने थरिथरिका लालीगुराँस तथा पुस र माघमा पर्ने सेताम्मे हिउँमा समेत पर्यटक रमाइलो मानेर आनन्द लिने घोरेपानीका पर्यटन व्यवसायी टेकसर वुद्धुजा पुनले बताउनुभयो ।

विशेषगरी कास्कीको बिरेठाँटी, उल्लरी, घोरेपानी, नयाँपुल, घान्द्रुक, म्याग्दीको नागी, महरे, फुलबारी, तातोपानी, घार र शिख हुँदै घोरेपानी पुग्न सकिने गरी पदमार्गहरु सञ्चालनमा आएसँगै पुनहिल घुम्ने पर्यटकको सङ्ख्या बढ्दै गएको होटल व्यवस्थापन समिति घोरेपानीका अध्यक्ष जुनु पुनले बताउनुभयो ।

यस क्षेत्रमा विदेशी पर्यटकसँगै मुलुकका विभिन्न जिल्लाका आन्तरीक पर्यटकसमेत भम्रणमा आउने क्रम बढेको पुनको भनाइ छ । घोरेपानी हुँदै पुनहिलको भम्रणमा जाने पर्यटकलाई लक्षित गरी स्थानीयले अहिले यस क्षेत्रमा व्यवस्थित पदमार्ग निर्माणलाई जोड दिएका छन् ।

होटल व्यवस्थापन समितिको नेतृत्वमा करिब रु ७५ लाख लगानीमा तीन वर्षको अवधिमा घोरेपानीदेखि पुनहिल, घोरेपानीदेखि शिखजाने बाटोमा व्यवस्थित पदमार्ग निर्माण गरिसकिएको छ भने घोरेपानीदेखि घान्द्रुक जाने बाटोमा व्यवस्थित पदमार्ग बनाउने काम भइरहेको छ ।

गाउँलाई प्लाष्टिक मुक्त बनाएका घोरेपानी बासीले लालीगुराँसको संरक्षण र पुनहिलमा थप पूर्वाधार विस्तार गर्ने कामलाई जोड दिएको होटल व्यवस्थापन समितिका उपाध्यक्ष सुनिल पुनले बताउनुभयो ।

घोरेपानी क्षेत्रमा पर्यटकको फलो बढेको धेरै भएको छैन् । करिब तीन दशक अगाडिदेखि घोरेपानी क्षेत्रमा पर्यटक आउने क्रम बढेसँगै अहिले हरेक वर्ष हजारौँ पर्यटकले यस क्षेत्रको भम्रण गर्दै आएका छन् ।

‘‘पहिलेको तुलनमा पर्यटक भित्रने क्रम बढेको छ, हामीले पर्यटकको सुविधाको लागि होटलको क्षमता, सुविधा र सेवालाई गुणस्तरीय बनाउने प्रयास गरेका छौँ” होटल व्यवस्थापन समितिका अध्यक्ष पुनले भन्नुभयो । अहिले पर्यटकको माग र सुविधालाई ध्यानमा राखेर व्यवसायीले होटलको स्तरवृद्धि गर्न थालेका छन् । होटल व्यवस्थापन समितिका अनुसार यहाँका होटलमा रु ५० करोडभन्दा बढी लगानी छ ।

घोरेपानीमा २२ वटा सुविधा सम्पन्न होटल रहेका छन् । यहाँका व्यवसायीले रु ५० लाखदेखि रु तीन करोडसम्म लगानी गरेका छन् । होटलमा पर्यटकलाई सहज तरिकाले खाने र बस्ने व्यवस्था गरिएको छ ।

घोरेपानीमा वार्षिक तीस हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका छन् । गत वर्षको तुलनामा यो वर्षको मुख्य पर्यटकीय याममा पर्यटकको आगमन घटेको छ । भूकम्पपछि यो क्षेत्र सुरक्षित रहेपनि तराई क्षेत्रमा भइरहेको नाकाबन्दी र आन्दोलनले गर्दा उल्लेख्य मात्रामा पर्यटक नआएपनि पर्यटकको आगमन सन्तोषजनक रहेको स्थानीय पर्यटन व्यवसायी बताउँछन् ।

गत वर्ष असोज–मङ्सिरमा दैनिक ४०० को हाराहारीमा पर्यटक भित्रिने गरेकोमा अहिले १५० देखि २०० जनासम्म आउने गरेको ईलाका प्रहरी कार्यालय घोरेपानीले जनाएको छ । प्रहरीले भम्रणमा जाने बाह्य मुलुकका पर्यटकको तथ्याङ्क राख्ने गरेको छ । – रासस