
काठमाडौं । नेकपा (एमाले)को भागमा परेको मन्त्रालयमा पार्टीबाट कसलाई पठाउने भन्ने विषयमा उक्त पार्टीभित्र विवाद लम्बिएपछि एमाले स्थायी समितिको बैठकले मन्त्री चयनका लागि पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै एकलौटी जिम्मा दिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार अबेरसम्म बसेको बैठकले योग्यता, क्षमता तथा तराई, मधेस, जाति, जनजाति, महिला, पुरुष, दलित आदि पक्षलाई ध्यान दिई निर्णय गर्न प्रधानमन्त्री ओलीलाई नै जिम्मा दिएको एमालेका एक नेताले जानकारी दिए ।
बताइएअनुसार आवश्यक परेमा अन्य नेतासँग परामर्श गर्न सकिने अन्यथा आफ्नै तजबिजबाट मन्त्री चयन गर्न प्रधानमन्त्रीलाई अधिकार दिइएको हो । एक उपप्रधानमन्त्री र अर्थ, रक्षा, सञ्चारलगायत केही महत्वपूर्ण मन्त्रालयमा एमालेले जिम्मेवारी पाउने गठबन्धनमा सहमति भएपनि एमालेले निर्णयमा ढिलाइ गरेको थियो । तीन प्रमुख नेताबीच आफूनिकटलाई मन्त्री बनाउन खिचातानी भएकोले हालसम्म एमालेले मन्त्री चयन गर्न नसकेको हो । अब सम्भवतः बुधबार नै मन्त्रिमण्डल विस्तार हुने छ।
एमालेको मंगलबारको बैठकले विगतमा जस्तो मन्त्री चयन र हटाउने क्रममा देखिएको गल्ती नगरी अध्यक्षले विवेक र न्यायका आधारमा वर्तमान चुनौतीको सामना गर्नसक्ने, पार्टीप्रति बफादार, इतिहास बोकेका तथा राम्रा मध्ये राम्रो व्यक्ति पर्ने र आन्तरिक एकतालाई अझ सुदृढ हुनेगरी मन्त्री चयनका लागि स्थायी समितिले अधिकार दिएको बताइन्छ । एमालेले हाल कानुनमन्त्रीका रुपमा अग्नि खरेललाई जिम्मा दिइसकेको छ भने सत्यनारायण मण्डललाई विना विभागीय मन्त्री बनाएको छ । अन्य मन्त्री चयन हुन बाँकी छ ।
प्रतिक्रिया