:: बबिता बस्नेत

मुलुकको सबैभन्दा माथिल्लो पद ‘राष्ट्रपति’ सर्वोच्च मात्रै होइन सम्मानित पद पनि हो । त्यसो त कुनै पनि पद आफँैमा सम्मानित भए पनि पदभार सम्हाल्नेले त्यसको मर्यादा राख्न सकेन भने सम्बन्धित व्यक्तिसँगै पद पनि हल्काफुल्का भएर जान्छ । विगतमा यस्ता काम धेरैबाट भएका छन् । त्यहाँ पुग्नेहरूमध्ये कतिले मन्त्री पदलाई यति हल्का बनाए कि अब मानिसलाई मन्त्री भनेको त्यस्तै त हो नि भन्ने परेको छ । कोही मन्त्री भयो भन्दा पहिला जुन ‘चार्म’ थियो त्यो क्रमश: हराउँदै जानुमा विगतमा मन्त्री भएका कतिपय व्यक्तिले गरेका क्रियाकलाप नै मुख्य कारकतत्त्व हुन् । रेष्टुरेन्टमा बन्दुक पड्काउँदै हिँड्नेदेखि लिएर सीडीओ कुट्ने हुँदै भ्रष्टाचारमा चुर्लुम्म डुब्नेहरू मन्त्री बन्न सकेका कारण मन्त्री पद नै बद्नाम हुन पुगेको हो । पछिल्लो चरणमा राष्ट्रपति डा. रामवरण यादवले ‘राष्ट्रपति भएपछि मैले दौरा सुरुवाल लगाएँ’ भनेर अभिव्यक्ति दिनु भो भन्ने कुरा सार्वजनिक भएपछि सुन्नेहरूका लागि निकै सकसझैँ भएको थियो । उच्च पदमा बस्नेहरूका लागि व्यवहार मात्र होइन अभिव्यक्तिले पनि कति ठूलो अर्थ राख्छ भन्ने कुराको सानो उदाहरण मात्रै हो यो ।
कम्युनिस्ट पृष्ठभूमि भएकी माननीय विद्या भण्डारी र कम्युनिस्ट मात्र होइन लडाकुकै पृष्ठभूमि भएका नन्दकिशोर पुन पासाङ अहिले क्रमश: राष्ट्रपति र उपराष्ट्रपति बन्नुभएको छ । समयले उहाँहरूलाई जीवनमा कहिल्यै नदेखेको सपना पूरा गराएको छ । राजनीति गर्ने मान्छेका लागि पदमा पुग्ने सपना देख्नु या पुग्नु ठुलो कुरा होइन, तर मुलुक जुन राजनीतिक व्यवस्थाबाट अघि बढेको थियो त्यस अवस्थामा राष्ट्रपति, उपराष्ट्रपतिको सपना सायदै उहाँहरूले देख्नुभएको थियो । जीवनमा नदेखेको सपना पूरा हुने ज्यादै कम भाग्यमानीभित्र उहाँहरू पर्नुभएको छ । मुलुकको सर्वोच्च पद प्राप्तिसँगै उहाँहरूका चुनौतीहरू पनि त्यत्तिकै छन् । सबैभन्दा पहिलो चुनौती त निष्पक्षता नै हो । सक्रिय राजनीतिक पृष्ठभूमिका कारण तटस्थ भूमिकामा रहनु उहाँहरू दुवैका लागि ठूलो चुनौती हो । उहाँहरू अब ‘कमरेड’ होइन । बोलीचाली या भाषामा मात्र होइन काम गराईमा पनि अब कमरेडी पारा काम लाग्दैन । हिजोसम्म महिलाबरे मात्रै बोले पनि या कुनै काम गरे पनि पदीय दायित्व र महिला भएका कारण ठिकै मानिन्थ्यो होला, तर अब सम्माननीय राष्ट्रपति विद्या भण्डारीले महिलाका लागि मात्रै बोलेर या महिलाका पक्षमा मात्रै काम गरेर आफ्नो दायित्व पूरा हुँदैन । उहाँ सबै नेपाली नागरिकका लागि बराबरी अभिभावक हो । जनजाति, दलित, मधेसी, महिला, पुरुष सबै वर्ग, क्षेत्र, जाति र समुदायप्रति उहाँले हेर्ने दृष्टिकोण र गर्ने व्यवहार समान हुनुपर्छ । त्यस्तै, उपराष्ट्रपतिले पनि आफ्नो विगतलाई अब राष्ट्रका नाममा पूरै बिर्सनुपर्छ । उपराष्ट्रपतिका रूपमा अब उहाँले ‘हाम्रा जनमुक्ति सेना’ भन्न मिल्दैन । उहाँका लागि नेपालमा अब एउटा मात्रै राष्ट्रिय सेना छ, नेपाली सेना । जसको सर्वोच्च कमाण्डर परमाधिपति राष्ट्रपति हुनुहुन्छ ।
मधेसलाई पाखा पारेर नेपाल अघि बढ्न सक्दैन न त हिमाल र पहाडलाई विभेद गरेर नै सफल हुने अवस्था छ । सबैलाई थाहा छ, मधेसमा सडक भएका कारणले सडक अवरुद्ध गरी आन्दोलन गर्न सहज भएको छ, पहाड र हिमालमा त त्यस्ता आन्दोलन गर्नका लागि सडकहरू पनि छैनन् । सबै क्षेत्र या नेपालको पूरै सिमाना मेरो देशको सिमाना हो भनी सबैलाई समान व्यवहार गर्नुपर्नेछ । छिमेकीसँगको सम्बन्धका विषयमा पनि बडो संवेदनशील भएर अघि बढ्नुपर्नेछ । राष्ट्रप्रमुखले कुनै कुरा बोल्ने भनेको देशले बोल्ने हो, देशको नीति बोल्ने हो । उहाँले केही गर्ने भनेको पनि देशले गर्ने हो त्यसैले बोली या मन्तव्यमा सजगता र संवेदनशीलता पनि त्यत्तिकै आवश्यक छ । हिजो फ्याट्ट केही बोल्दा आफूलाई मात्रै वा बढीमा पार्टीलाई असर पथ्र्यो, तर अब त मुलुक र यो देशका नागरिकलाई असर पर्छ ।
यस्ता कतिपय कुरा छन्, जुन उहाँहरू दुवैलाई आफ््नो पृष्ठभूमिका कारण त्यति सहज भने छैन । विगतले मानिसलाई हतपत छोड्दैन । विगत बिर्सन खोज्दा बैगुनी भइने अवस्थाहरू पनि आउँछन् कहिलेकाहीँ जीवनमा । त्यसमा पनि गणितीय राजनीतिबाट आएकाहरूलाई त झनै गाह्रो छ । यसले मलाई मत दिएको थियो, यसले थिएन । यो सिद्धान्त मान्नेहरूले त मलाई कहाँ यो ठाउँमा पुर्याउन चाहेका थिए र ? जस्ता कुराहरू पनि बिर्सन त्यति सहज छैन, तर बिर्सनुपर्ने पदीय बाध्यता भने छ । पासाङले हिजो मन्दिर भत्काउनमा नेतृत्व लिनुभएको थियो होला, तर आज उपराष्ट्रपतिका रूपमा उहाँले भोटो देखाउने जात्रा, कुमारी जात्रा, नवदुर्गा भवानीको पूजालगायतका सांस्कृतिक पर्वहरूमा भाग लिनुपर्नेछ ।
मुलुकमा पहिलोपल्ट महिला राष्ट्रपति भएकाले महिलाको अवस्था र हैसियतमा आमूल परिवर्तन आउने पनि कतिले ठानेका छन् । तर, एकैपल्ट सबै कुरा हुन्छ भन्ने होइन । मुलुकमा महिला राष्ट्रपति हुँदैमा महिलाको रातारात महिलाको हैसियत होइन आत्मविश्वासचाहिँ बढ्नेछ, बढेको छ । अबको पुस्ताका छोरीहरू आफू भोलि राष्ट्रको सर्वोच्च स्थानमा पुग्ने सपना देख्दै हुर्कन सक्नेछन्, जुन सपना हाम्रो पुस्ताले देखेको थिएन । आत्मविश्वास जीवनमा ठूलो कुरा हो ।
प्राध्यापक राधा शर्माले यस पङ्क्तिकारले राष्ट्रपति भनेर लेखेको कुराको आलोचना गर्दै ‘यस्ता लेखकहरूले नै महिलालाई लैङ्गिक तटस्थ शब्द राष्ट्राध्यक्ष नलेखेर राष्ट्रपति लेख्न थालेपछि अनि के हुन्छ ?’ भनेर प्रश्न गर्नुभएको छ । राज्यले जब राष्ट्रपति भन्ने शब्द प्रयोग गरेको छ भने हामीले लेखेर मात्रै केही हुँदैन । जुन संविधानअनुरूप उहाँ राष्ट्रपति हुनुभयो सो संविधानले राष्ट्राध्यक्ष भन्ने शब्द प्रयोग गरेको छैन । फेरि राष्ट्रपति शब्द र कसैका व्यक्तिगत पति शब्दबीच कुनै सम्बन्ध पनि छैन, जसरी रोयल शब्द र राजसंस्थाबीच सम्बन्ध छैन । लखपति, धनपति, करोडपतिजस्ता शब्द लैङ्गिक तटस्थ शब्द होइनन् भनेर कसरी भन्ने ? यी शब्दहरू त महिला–पुरुष दुवैलाई लागू हुन्छन् । राष्ट्रको पति राष्ट्रपति होइन किनभने राष्ट्र फेमिनिन शब्द होइन, मास्कुलिन पनि होइन । राष्ट्र त राष्ट्र नै हो । त्यसैले राष्ट्राध्यक्ष या राष्ट्रपति दुवैको अर्थमा त्यति ठूलो भिन्नता छ जस्तो लाग्दैन । शब्दकोशमा जे लेखिएको भए पनि आखिर यी दुवैको अर्थ त राष्ट्र प्रमुख नै हो ।
प्रतिक्रिया