
विश्व राजनीतिमा प्रभाव राख्ने मुलुकहरूको जहाँ, जुनसुकै कारणले कुनै पनि देशसँग तनाव या विवाद उत्पन्न हुनसक्छ । होइन भने सामान्यतया तनाव पैदा हुने भनेको छिमेकीहरूबीच नै हो । चीन र जापान, जर्मनी र फ्रान्स, भियतनाम र चीन, उत्तर र दक्षिण कोरिया, भारत र पाकिस्तान, थाइल्यान्ड र कम्बोडिया, पाकिस्तान र अफगानिस्तान, रसिया र जापानलगायत विश्वका यस्ता धेरै मुलुक छन् जसले छिमेककै कारण पटकपटक असामान्य स्थितिको सामना गर्नुपरेको या परिरहेको छ । छिमेकमा ठूलो र शक्तिशाली मुलुक छ भने सानो मुलुक सधैँ सचेत एवम् सन्त्रस्त्र रहने गरेको पनि देखिन्छ । पूर्वीयुरोपका मुलुकहरू रसियासँग सधैँ सचेत र त्रस्त रहने गर्दछन् । चीनबाट तीनतर्फ घेरिएको मङ्गोलिया चीनसँग दूरी बनाउँदा आफ्नो सार्वभौमिकता बलियो भएको ठान्दछ । आधुनिक चीनले मङ्गोलियालाई सताइने प्रकारको व्यवहार गरेको छैन, तथापि मङ्गोलियाली जनताको मानसिकता चीनप्रति पूर्णतया सकारात्मक रहेको पाइन्न । तेइस हजार वर्गकिलोमिटर क्षेत्रफलको लेसोथो दक्षिण अफ्रिकाबाट चारैतर्फ घेरिएको छ, उसको मनोदशा हामी अनुमान गर्न सक्दछौँ । धनाढ्य र शक्तिशाली छिमेकी (बसोवासी) प्रति कमजोर तथा गरिब छिमेकीहरूले जस्तो सोच र दृष्टिकोण राख्दछन् देशहरूको मामिलामा पनि त्यसभन्दा भिन्न हुने ठान्नुपर्दैन । समाजमा ‘दिएर खाने’ र ‘लिएर खाने’ व्यक्तिबीचको हैसियतमा देखिने अन्तर–परनिर्भर देश र आत्मनिर्भर देशका बीचमा पनि रहन्छ ।
सार्वभौमिकताको सम्पूर्ण उपयोग–उपभोग गर्ने नैसर्गिक आकाङ्क्षा हरेक मुलुकमा हुन्छ र हुनु पनि पर्छ । देश सानो या ठूलो र धनी या गरिब भएका आधारमा वैधानिक एवम् सैद्धान्तिक रूपले हैसियतको निर्धारण गरिएको छैन । यसर्थ संसारका सबै मुलुकको सार्वभौमिकता समान छ र सबै समान रूपमा स्वतन्त्र छन् । तर, सिद्धान्तको अनुवाद व्यवहारमा जस्ताको त्यस्तै भएको पाइन्न । माल्दिभ्स र भारतको सैद्धान्तिक एवम् वैधानिक हैसियत बराबरीको भए पनि व्यवहारमा तिनलाई समान हैसियतको मान्न सकिँदैन । त्यस्तै नेपाल र भारतको सवालमा पनि यही दृष्टान्त अनुकरण गर्न सकिन्छ । आधुनिक भारत ब्रिटिसबाट स्वतन्त्र भएको सात दशक पूरा भइसकेको छैन, तर नेपाल कहिल्यै कसैको उपनिवेश बनेन । यो अलग पक्ष हो कि हामी कहिल्यै परनिर्भरताबाट मुक्त भएनौँ, हाम्रा हरेक निर्णय बाह्य इच्छा र प्रभावबाट निर्देशित भए । भारत, उपनिवेश रहँदा पनि नेपाल स्वतन्त्र रहनु नेपालीको निम्ति गौरवको विषय हो, तर यही एउटै गौरवमा झुन्डिएर राजकाज र घरकाज चल्न सक्दैन । भारतसँग नेपालको सांस्कृतिक, धार्मिक र आर्थिक निर्भरता त थियो नै, पछिल्लो समयमा राजनीतिक निर्भरता पनि बढेकै हो । नेपाली नेताहरूले भारतको ‘अवरोध’का बाबजुद संविधान जारी गर्ने कार्य सम्पन्न गरिएको दाबी गर्दै छन् । तर बाह्रबुँदे सम्झौता भारतको मध्यस्थतामा भारतकै राजधानीमा भएको र त्यही बाह्रबुँदे सम्झौतामा टेकेर गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षतासहितको संविधान जारी गरिएको तथ्यबारे जनता जानकार छन् । हो, ‘यस्तो’ संविधान निर्माण गर्ने प्रक्रिया आरम्भ हुँदा भारतको सत्ता जुन शक्तिको हातमा थियो, संविधान जारी गरिनुअघि भारतीय सत्ताको संस्थापन बदलियो । पुरानो संस्थापनका इच्छा, आकाङ्क्षा र सुझावलाई जस्ताको त्यस्तै स्वीकार गर्ने ‘नेपाली’ नेताहरू नयाँ संस्थापनको कुनै कुरा सुन्न तयार भएनन् । कङ्ग्ेरस (आई) सरकारको हरेक इच्छा या सुझाव स्वीकार गर्नु र भारतीय जनता पार्टीको सरकारलाई पूर्ण रूपले अवज्ञा गर्नु नै राष्ट्रवाद हो भने ‘नेपाली’ नेताहरूलाई ‘पक्का राष्ट्रवादी’का रूपमा बुझ्नैपर्ने हुन्छ । होइन भने भारतको पुरानो संस्थापनका आज्ञा शिरोपर गर्नेहरूले कसैको आड र इसारामा भारतका नयाँ प्रधानमन्त्री (नरेन्द्र मोदी)लाई असफल तुल्याउन ‘गोटी’ बने भन्दैमा यिनलाई राष्ट्रवादी मान्न सकिएन ।
भारतसँगको हाम्रो विशेष सम्बन्ध छ र कूटनीतिक लवजमा कसैले विशेष सम्बन्धलाई स्वीकार गर्न सक्दैनन् भने पनि हाम्रो वास्तविकता यही हो । उत्तरतर्फ हिमालयको छेकवार नभएको भए चीनसँग पनि नेपालको विशेष सम्बन्ध बन्न सम्भव थियो भन्न सकिन्छ । सँगै जोडिएर पनि चीन टाढा छ र टाढा भएकोले पनि उसको ‘ममतामयी’ व्यवहार हामीसम्म आइपुग्न लामो समय लाग्न सक्छ ।
नेपालको स्थिरता, शान्ति, सुरक्षा र समृद्धि दुई छिमेकी मुलुकहरू भारत र चीनसँगको सम्बन्धमा निर्वाह हुने सन्तुलित सम्बन्धले निर्धारण गर्दछ । यी दुई देशसँगको सन्तुलित सम्बन्ध भनेकै चीनको समेत विश्वास र समझदारी कायम राख्दै भारतसँगको विशेष सम्बन्धलाई देशहितमा उपयोग गर्न सक्नु हो । भारत देखाएर चीनलाई आकर्षित गर्नु या चीन देखाएर भारत तर्साउन खोज्नुलाई परिपक्व कूटनीतिक व्यवहार मान्न सकिन्न । पछिल्लो समयमा नेपाल–भारत सम्बन्धमा उत्पन्न तनाव पनि अपरिपक्व कूटनीतिक व्यवहारकै परिणाम हो । ‘केही दिन पछि सारेर भए पनि सबैको भावना समेटेर संविधान जारी गर्न’ भारतको नयाँ संस्थापनले सुझाव दिँदा त्यसलाई हस्तक्षेपको रूपमा प्रचार गर्नुअघि नेपाली राजनीतिक नेतृत्वले प्रजातान्त्रिक आन्दोलनदेखि संविधान निर्माणसम्म आइपुग्दा भारतले निर्वाह गरेको भूमिकाको स्मरण गर्नुपर्दथ्यो ।
दुईपक्षीय सम्बन्धमा तनाव पैदा भइसकेपछि त्यसको समाधान कूटनीतिक तवरबाट नखोजी भारतको विकल्प चीनलाई बनाउन खोजिँदै छ । यसले समस्याको गहिराइ थप बढाउने सङ्केत दिइरहेको छ । भारतको विकल्प चीनलाई बनाउने प्रयास प्रचण्ड र केपी ओलीबाट मात्र भएको होइन । इतिहासमा ठीक दुई शताब्दीअघि भीमसेन थापाबाट पनि भएको हो । ब्रिटिस–भारतसँग लड्न उनले चीन र फ्रान्ससँग गठबन्धन बनाउने प्रयास गरेका थिए । थापाकै कार्यकालमा भारतसँग नेपालको ठूलो लडाइँ भयो र हामीले धेरै ठूलो भूभाग पनि गुमाएका हौँ । राजा महेन्द्रले चातुर्यपूर्ण तवरमा चीनसँग सुदृढ सम्बन्ध बनाउँदा–बनाउँदै पनि उनले भारतसँगको सम्बन्धलाई खलबलिन दिएनन् । राजा वीरेन्द्रले चाहिँ अलिक खुलेरै चीनसँगको निकटता बढाएका हुन् । भीमसेन थापाले झैँ राजा वीरेन्द्रले सेरिएर मर्नुपर्ने स्थिति आएन, तथापि आफ्नै पुत्रका हातबाट उनले मारिनुपर्यो ।
भारतसँग भिडेर जाने जुन नीति भीमसेन थापाले अनुशरण गरेका थिए परिणामले उक्त नीति सही भएको प्रमाणित गर्दैन । परिणाम गलत आउने नीति या कार्यक्रमको शब्द या आवरण जतिसुकै सुन्दर भए पनि त्यसलाई सही मान्न सकिँदैन । भीमसेन थापाका भावना राष्ट्रहितबाट जतिसुकै ओतप्रोत भए पनि उनले अवलम्बन गरेको नीति र कार्यक्रमले राष्ट्रलाई गम्भीर क्षति पुर्याएको सर्वविदित छ । भीमसेनले अपनाएको भन्दा ठीक विपरीत नीति (भिडेर होइन मिलेर) लिँदै जङ्गबहादुर राणाले नेपाललाई जति लाभ पुर्याए त्यो प्रचण्ड या कुनै पनि चण्डहरूले छेकेर छेकिने स्तरको छैन ।
भीमसेन थापा राष्ट्रवादी भावनाका थिए, यसमा बहस पैरवी गरिरहनुपर्ने छैन । नेपालको इतिहासका प्रथम निरङ्कुश शासक थिए र करिब तीन दशक लामो शासन यात्रामा उनले आफूसँग असहमति या विरोध जनाउने सैयौँ नागरिकको हत्या गराए, कैयनलाई प्रवासतर्फ पलायन हुन बाध्य गराए र कतिपयको सम्पत्ति कब्जासमेत गरे, यो पनि अर्को एउटा सत्य हो । जुनसुकै स्तरका तानाशाह भए पनि समग्र मुलुकको हितविपरीत उनी थिए चाहिँ भन्न सकिँदैन । उनी एक सच्चा देशभक्त अवश्य थिए, तर उनको देशभक्तिलाई परिणामले बाँदरभक्ति सावित गरिदिएको छ । निर्णायक तहमा रहेका व्यक्ति भावावेशमा बग्ने, प्रतिक्रियात्मक हुने, सनकमा निर्णय लिने या समय र परिस्थितिलाई बुझेर काम गर्न सक्ने प्रकारको भइदिएनन् भने कुनै पनि मुलुकले कतिसम्म क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्छ भन्ने कुराको दृष्टान्त भीमसेन थापा बनेका छन् । उनकै मुढेबली भूमिकाका कारण सुगौली सन्धिमार्फत नेपालको नक्सा खुम्चिएको निष्कर्षमा पुग्नु गलत हुनेछैन । भीमसेनले चीनसँग गठबन्धन बनाएर भारतसँग लड्न प्रयास गर्नुलाई ‘महानतम राष्ट्रवाद’ ठान्नेहरूले जङ्गबहादुर राणाद्वारा बिनायुद्ध बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता लिनसक्नु, नेपालको सिमाना छुट्याउने साँधकिला ठोक्नु र नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा ‘एक्स्पोजर’ दिनुलाई चाहिँ किन दलाली भन्नुपर्ने हो त्यसको परिभाषा गरून् । राष्ट्रहित गर्छु भन्नु र राष्ट्रहित गर्नु दुई भिन्न पक्ष हुन् । भीमसेनले राष्ट्रहित गर्छु भने, त्यसनिम्ति उनले आफ्नो ज्ञान, बुद्धि एवम् क्षमताअनुसार प्रयास पनि गरे र त्यसबापत हामीले राष्ट्रिय विभूतिको दर्जा दिएका छौँ । तर, गुमेको ठूलो भूभाग फिर्ता लिन सफल, नेपाललाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने, देशलाई कानुनबमोजिम सञ्चालन गर्न पहिलो प्रयास (मुलुकी ऐन बनाएर) गर्ने, औपचारिक शिक्षाको विधिवत् आरम्भ (दरबार स्कुल) गराउने, पहिलोपटक छापाखाना (गिद्धे प्ेरस) भित्र्याउने, युरोपियन शैलीका भवन निर्माण आरम्भ गर्ने, नेपाली सेनाको आधुनिकीकरण गर्ने र देशमा राजनीतिक स्थायित्व दिने जङ्गबहादुर राणालाई हामी तिरष्कार र अस्वीकार गर्दै छौँ । मुलुकको प्रधानमन्त्री भइसकेका प्रचण्डजस्ता व्यक्तिले संसद्मा माक्र्सलाई अघि सारेर जङ्गबहादुरलाई तथानाम गाली गरे ।
आजका दिनमा जङ्गबहादुर छैनन् र उनको सङ्गठन, पार्टी या सङ्गठित समर्थक पनि छैनन्, त्यसैले जङ्गबहादुरलाई गाली गर्दा त्यसको प्रतिवाद हुने गर्दैन । जङ्गबहादुरले लगाएको साँधकिला जोगाउन नसक्नेहरूले राष्ट्रवादको हवाई गफ दिँदा लामखुट्टे (मच्छर) भुनभुनाउँदा पैदा हुने ‘इरिट्ेरसन’ आमनेपालीलाई भइरहेको छ भन्ने चेतचाहिँ सम्बन्धित पक्षमा हुन जरुरी छ । नेपालमा भारतसँगको ‘डिलिङ’मा दुई अवधारणा कार्यान्वयनमा आउने गरेको देखिन्छ । भीमसेन थापाले झैँ चाइनासँग मिलेर भारतसँग भिड्ने या जङ्गबहादुर राणाले झैँ भारतसँग मिलेर नेपालको राष्ट्रिय हित सुदृढ गर्ने, यी दुईमध्ये एउटा विकल्पलाई नेपालका शासकहरूले कुनै न कुनै रूपले प्रयोगमा ल्याउने गरेका छन् । प्रचण्डहरूको सहयोग लिएर केपी ओली प्रधानमन्त्री बन्ने क्रममा नेपाली वामपन्थीहरूले भीमसेन थापालाई ‘फलो’ गरेको आभास हुँदै छ । भारतसँगको समझदारी सङ्कटमा पर्दा कूटनीतिक पहलद्वारा समस्या समाधान खोज्नेतर्फ कम जोड दिइनु, भारतको विकल्प खोज्न बढी कसरत गर्नुले वर्तमान सत्तासीनहरू भीमसेन थापालाई पछ्याउँदै छन् भन्ने पुष्टि गर्दै छ । यसप्रकारको नीति अवलम्बन गरेर विगतमा कसैले पनि मुलुकलाई लाभ पुर्याउन सकेका थिएनन् र त्यस्तो नीति अवलम्बनकर्ताको पनि हित हुन सकेको थिएन । स्वयम् भीमसेन थापाले पनि ठूलो भूभाग गुमाएर देशलाई दीर्घकालीन क्षति पुर्याएका हुन् र उनी आफैँ पनि सेरिएर मर्नुपर्ने अवस्था आएको हो । भीमसेन थापाकै नीतिको अनुशरण गर्न खोज्दा राजाहरू वीरेन्द्र र ज्ञानेन्द्रले पनि प्रतिकूलताको सामना गर्नुपरेको हो । यसपटक केपी ओली र प्रचण्ड सफल भएछन् भने यसले नयाँ कीर्तिमान स्थापित गर्नेछ ।
हामीले प्राप्त गरेको ‘भूगोल’ भारतसँग भिडेर बस्न मिल्ने–हुने प्रकारको होइन । भारतसँगको विश्वास र समझदारी कायम राख्दै सुदृढ सार्वभौमिक अभ्यास गर्नु नेपालको हितमा छ भन्ने इतिहाससिद्ध तथ्य हो । जङ्गबहादुर राणाले भारतसँग मित्रवत् सम्बन्ध राख्दै आफ्नो सार्वभौमिकताको उच्च सम्मान कसरी राखेका थिए त्यसको विवेचना बेग्लै लेखमा मात्र हुन सम्भव छ । प्रचण्डले ‘भीमसेनपथ’ अवलम्बन गर्ने जुन तत्परता लिँदै छन् यसले गम्भीर दुर्घटना निम्त्याउने सङ्केत दिइरहेको छ । प्रचण्ड जुवा खेल्न (जोखिम उठाउन) रुचि राख्छन् ‘जुवा खेलेरै’ आफ्नो हैसियत विस्तार गर्न सफल व्यक्ति हुन् र कुनै पनि स्तरको जुवामा सरिक हुन र त्यसको परिणाम भोग्न उनी तयार रहेको उनको पृष्ठभूमि र चरित्रले सावित गरिसकेको छ । तर, केपी शर्मा ओली परीक्षणको राजनीति गर्ने या ‘जुवा खेलेर’ समय बर्बाद गर्न मिल्ने अवस्थामा छैनन् । त्यसैले ओलीको भूमिका भीमसेनपथीय नभई जङ्गबहादुर राणा शैलीको हुनुपर्छ भन्ने सुझाव दिनु उपयुक्त हुनेछ ।
खाना पकाउने ग्यास, इन्धन, औषधि र खाद्यान्नको अभावले जनजीवन विगत एक महिनाभन्दा बढी समयदेखि आक्रान्त छ । प्रचण्डले राष्ट्रवादको रक्षाका निम्ति गाडीको सट्टा साइकल प्रयोग गर्न धेरै पहिले नै आह्वान गरेका हुन् । अब उनीबाट राष्ट्रवादको रक्षाका लागि काँचो खान या खाँदै नखान जनतालाई आह्वान हुनसक्ने प्रतीक्षा गरिँदै छ । ग्यास र इन्धनको अभावका कारण उद्योग–व्यवसाय धराशायी भएको छ, पर्यटन व्यवसाय मरणासन्न अवस्थामा छ, रेष्टुरेष्टहरू अधिकांश बन्द भइसकेका छन्, बजारमा औषधि र खाद्यान्नको चरम अभाव छ, सहरका चोक–चोकमा फोहोरको पहाड खडा हुँदै छ र दुर्गन्धले वातावरण प्रदूषित तुल्याउँदै छ, इन्धनका लागि लामबद्ध हुने गाडी र मानिसको भीड दिनप्रतिदिन बढ्दै जाँदा राजाधानी एउटा युद्धग्रस्त क्षेत्रमा रूपान्तरित भएको आभास गराउँदै छ । पहिले नै खरिद गरिएका ग्यासले काम दिइरहेका कारण मानिस सडकमा नउत्रेका हुन् । अब बढीमा दुई वा तीन साताभित्र जनता भोको पेटसहित जब स्वस्फुर्त रूपमा सडकमा उत्रनेछन् तिनले त्यसबेला प्रचण्ड, सुशील या केपी ओली चिन्ने छैनन् या भन्ने छैनन् । त्यस्तो विकराल स्थिति पैदा हुनुअगावै प्रधानमन्त्री केपी ओलीबाट कूटनीतिक माध्यमद्वारा समस्या समाधानको सार्थक प्रयत्न गर्नु उपयुक्त हुनेछ ।
प्रतिक्रिया