दुई वर्षअघि महाकाली नदीमा आएको बाढीले बगाएको नेपाल–भारत जोड्ने जौलजिबी पुल सञ्चालनमा आएको छ । पुल निर्माण भई सञ्चालनमा आएपछि नेपाल–भारत आवतजावतमा सजिलो भएको भन्दै बैतडीका स्थानीयवासीले खुशी प्रकट गरेका छन् । पुल सञ्चालनमा आएपछि सजिलै रूपमा ओहोरदोहोर तथा सीमा बजारबाट किनमेल गर्न सजिलो भएको लोकेन्द्रसिंह धामीले बताए । यसअघि पुलको विकल्पमा ट्रली सञ्चालन गरिएको थियो । नेपाल–भारत जोड्ने झोलुङ्गे पुल १ सय ५४ मिटर लम्बाइको छ । पुल निर्माणमा भारतीय पक्षबाट पुल राख्न उचित ठाउँ छनोट गर्न नसक्दा ढिलाइ भएको नेपाली पक्षले जनाएको छ । पछिल्लो समय दार्चुलाका प्रजिअ प्रेमसिंह कुँवर र पिथौरागढ जिल्ला अधिकारीबीच छलफल भएपछि भारतले जमिन उपलब्ध गराएको हो । जौलजीबीमा बनेको सो झोलुङ्गे पुल यस क्षेत्रकै लामो छ । दार्चुलाको महाकालीसँग सीमा जोडिएका सीतापुल, धार्चुला, बलुवाकोट, जौलजीबी र झुलाघाट हुन् ।
प्रतिक्रिया