राति ९ बज्न नपाउँदै व्यवसायीलाई सुरक्षाको कारण देखाउँदै बन्द गराउने प्रहरीको पुरानो शैलीलाई काठमाडौंबाट विस्तारै हटाइने भएको छ । समाचार स्रोतका अनुसार अब प्रहरीले त्यस्ता व्यापारीलाई बन्द नगराएर सुरक्षा दिनुपर्ने भएको छ । केही दिनअघि परिसरप्रमुख एसएसपी विक्रमसिंह थापाले समयको सीमावन्दी तोकेर व्यवसाय सञ्चालन गर्न दिनु पाखण्डीपन भएको बताएका थिए । प्रहरीले समयसीमा नबाँधि गर्न दिने व्यवसायका सञ्चालकले भने प्रहरीले दिएको सुरक्षानीति र निर्देशनको पूर्ण पालना गर्नुपर्ने भएको छ । नेपालको राजधानी काठमाडौंमा आएका विदेशी, स्वदेशी पर्यटकले कानूनले प्रतिबन्ध लगाएको बाहेक अन्य मनोरञ्जन हासिल गर्न पाउने भएका छन् । प्राप्त समाचारअनुसार अब केही समयपछि छिट्टै राजधानीको मुटुका रहेको दरबारमार्गलाई चौविस घण्टा खोल्न दिइने तयारी भएको बुझिएको छ । ट्रायलका रूपमा शुरु गर्न थालिएको चौविसै घण्टा व्यवसाय संचालनका लागि त्यहाँ रहेका डिस्को, डान्स, दोहोरी, गजल, लाइभव्याण्डले निश्चित प्रक्रिया पूरा गर्नुपर्ने बुझिएको छ । यी मनोरञ्जन प्रदान गर्ने व्यवसायीले अठार वर्ष मुनिका कर्मचारी र ग्राहक दुवै प्रवेश गराउन नपाइने बुझिएको छ । कर्मचारीलाई अनिवार्य ड्रेस, सिसी क्यामरा जडान गर्नुपर्ने र साउण्डप्रुफ हुनुपर्ने नीति पनि अघि ल्याइने भएको छ । दरबारमार्गमा शक्तिकेन्द्रको पहुँचको आधारमा वरिपरि डिस्टर्भ हुने गरी डिस्को चलाइएका छन् । दरबारमार्गलाई व्यवस्थित र मर्यादित किसिमले चौविस घण्टा खोल्न दिने एसएसपी थापाको सोचको व्यवसायीले स्वागत गरेका छन् । प्रहरीद्वारा सुरक्षा र शान्तिका लागि ल्याइने नीति पनि मान्य हुने व्यापारीहरूको भनाइ रहेको छ ।
प्रतिक्रिया