वडा दशैंमा अपेक्षाकृत सुरक्षा भएको निश्कर्ष निकालेको महानगरीय प्रहरी परिसर काठमाडौंले तिहारमा हुने जुवातास खेल्न र पटका पड्काउन पूर्ण प्रतिबन्ध लगाउने भएको छ । परिसरप्रमुख प्रहरी वरिष्ठ उपरिक्षक विक्रमसिंह थापाले दशैंको सुरक्षा योजना सार्वजनिक गरेपछि सबै वृत्त प्रभाग र यूनिट अहोरात्र सुरक्षामा खटेका कारण यो दशैंमा छिटफुट घटनाबाहेक कुनै अप्रिय घटना घटेन । विगतका वर्षहरूमा काठमाडौं उपत्यकामा हुने ग्याङ फाइट र मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने कृयाकलाप पनि यो वर्ष शून्य जस्तै भएको बताइन्छ । दशैंको बेला हुन सक्ने चोरी पैठारी र घटना बारे सबै यूनिटका इन्चार्ज अत्यन्तै चनाखो र सकृय भएकै कारणले घटना नघटेको एक सुरक्षाकर्मी बताउँछन् ।
एक वृत्तका प्रमुखले दिएको जानकारी अनुसार परिसर प्रमुखबाट आएको स्पष्ट निर्देशन र काम गर्ने बढाएको हौसलाले गर्दा सबै कर्मचारी अहोरात्र खटेको प्रतिक्रिया दिए । परिसरप्रमुख विक्रमसिंह थापा काठमाडौं आएलगत्तै मातहतका कर्मचारीलाई निर्देशन दिने क्रममा जनताले आफ्नो गास काटेर तिरेको करबाट आफूहरूले रासन, आसन पाएको बताउँदै जनतालाई केन्द्रविन्दुमा राखेर मुस्कानसहितको सेवा दिन आग्रह गरे । कानूनी दायराबाट बाहिर गई विभिन्न कृयाकलाप गर्नेलाई जस्तोसुकै दबाब आए पनि आफूले कानूनको दायरामा ल्याउने बचनबद्धता जाहेर गर्दै मातहतका कर्मचारीलाई दबाव आए सबै दोष आफूलाई लगाइदिएर निर्धक्क साथ काम गर्न निर्देशन दिएका थिए । प्रायः हरेक दिन एउटा यूनिटमा पुगेर निर्देशन दिने क्रममा एसएसपी थापाले संगठनप्रमुख उपेन्द्रकान्त अर्यालले अबलम्वन गरेको भ्रष्टाचारशुन्य सहनशिलताको सिद्धान्तलाई अक्षरशः पालना गर्न समेत निर्देशन दिएका छन् । दशैंको सुरक्षाप्रति सन्तोष व्यक्त गर्दै एसएसपी थापाले तिहारमा अझ सजगताका साथ लाग्न निर्देशन दिएका छन् । प्राय सबै इन्चार्जलाई आफ्नो एरियामा हुने सबैखाले साना, ठूला जुवालाई पूर्ण रूपमा नियन्त्रण गर्दै पटका पड्काउन समेत प्रतिबन्ध लगाउन निर्देशन दिएका छन् । संस्कृति संरक्षणका लागि खेलिने देउसी–भैलो अनुशासित, मर्यादित हुनुपर्ने र आफूखुशी दिएको दान सहर्ष स्विकार नगरी जबर्जस्ती गर्नेलाई समेत निगरानी गर्ने तयारी प्रहरीले गरेको छ । गुण्डा भन्ने आफ्नो डिक्सनरीमा नभएको बताउँदै त्यस्ता कुनै टोले लुटेरा भए निगरानीमा राख्न समेत मातहतलाई एसएसपी थापाले प्रष्ट निर्देशन दिएका छन् । मातहतका कर्मचारीलाई आफ्नो कार्यक्षेत्रमा जुवातास र पटकाविरोधि चेतना फैलाउन समेत थापाले निर्देशन दिएका छन् । प्रहरीले दिएको चेतनामुलक सन्देशलाई बेवास्ता गर्ने जो–कोहीलाई कार्वाही गर्ने पनि परिसरले जनाएको छ ।
प्रतिक्रिया