उपकुलपति प्रा.डा. खनियाँ र त्रिविमा परिवर्तनको अपेक्षा

उपकुलपति प्रा.डा. खनियाँ र त्रिविमा परिवर्तनको अपेक्षा


Tirtha-Khaniya1दक्षिण एसियाकै प्रतिष्ठित विश्वविद्यालयको रूपमा रहेको त्रिविको अवस्था विगत केही समयदेखि खस्किँदै आएकोमा चारैतिर यसले अनेक संशय पैदा गरेकोमा नागरिक समाजमा यसप्रति चिन्ता रहनु स्वाभाविक नै हो । यस विश्वविद्यालयलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने सोचाई राख्नु आम नेपाली नागरिकको कर्तव्य हो । यसै सन्दर्भमा दक्षिण एसियाकै वरिष्ठ शिक्षाविद् एवम् सफल प्रशासकको रूपमा परिचित प्रा.डा. तिर्थराज खनियाँको उपकुलपति नियुक्तिलाई आम प्राध्यापकहरू, विद्यार्थी, नागरिक समाज र विभिन्न राजनीतिक पार्टीहरूले विशेष महत्वका साथ लिएका छन् ।
लमजुङ जिल्लामा आजभन्दा ६ दशकअघि जन्मिएर त्रिविबाट अङ्ग्रेजीमा एमएड गरी मित्रराष्ट्र बेलायतको विश्वप्रसिद्ध एडिनबरा विश्वविद्यालयबाट अङ्ग्रेजी शिक्षामा विद्यावारिधि गर्नुहुने डा. खनियाँ अन्तर्राष्ट्रिय स्तरकै अनुसन्धानविद् पनि हुनुहुन्छ । निरङ्कुश पञ्चायतको बेलामा पनि नेपाल प्राध्यापक सङ्घको केन्द्रीय सदस्यमा प्रजातन्त्रवादी समूहबाट लड्नुभएका डा. खनियाँले प्राथमिक शिक्षा परिषद्को उपाध्यक्ष, वीरेन्द्र क्याम्पस भरतपुरको क्याम्पसप्रमुख र राष्ट्रिय योजना आयोगको सदस्य जस्ता पदहरू सफलताका साथ सम्पादन गर्नुभएको हुनाले उहाँको उपकुलपतिमा नियुक्तिले आम शैक्षिक जगत एकतिर हर्षित बनेको छ भने अर्कोतिर त्यत्तिकै रूपमा उत्साहित पनि छ ।
संयुक्त राज्य अमेरिकाबाट पोस्ट डक्टरेड गर्नुहुने डा. खनियाँको कार्यकालमा समर्पित प्राध्यापक र विद्यार्थीहरूको मूल्याङ्कन हुने कुरामा सबै विश्वस्त देखिन्छन् । व्यवस्थापन विज्ञान, इञ्जिनियरिङ जस्ता आधुनिक विषयलाई वैज्ञानिक ढङ्गले अगाडि बढाउने सन्दर्भमा उहाँको ध्यान पुग्नेमा सम्बद्ध सरोकारवालाहरू विश्वस्त छन् । त्यसैगरी ग्रामीण विकास, कन्फ्लिक्ट म्यानेजमेन्ट (द्वन्द्व व्यवस्थापन), इन्टरनेशनल रिलेसनजस्ता विषयहरू पनि मानविकी शंकायअन्तर्गत उहाँको कार्यकालमा विशेष महत्वका साथ अगाडि बढ्ने कुरामा सबै आशावादी छन् । यसो हुन सके खासगरी २०५८ सालमा खुलेको ग्रामीण विकास विषय अध्ययनको निम्ति दक्षिण एसियाका सबै स्थानबाट अध्ययनका लागि आउने वातावरण बन्ने देखिन्छ ।
नेपाल बन्ने भनेको नै गाउँले जनताको विकासको आधारबाट हो । त्यसैले ग्रामीण विकासजस्तो विषयलाई पनि महत्वका साथ अघि बढाइनैपर्ने विज्ञजनको मत प्रकट भएका हुन् । यति मात्र नभई डा. खनियाँको कार्यकालमा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँगको सम्बन्ध, विद्यार्थी–शिक्षक आदानप्रदान, नियमित पठनपाठनजस्ता सवालमा त्रिविविले विकासको नयाँ काँचुली फेर्ने कुरामा सबै विश्वस्त देखिन्छन् । कतिपय प्राध्यापकहरूले त उहाँको कार्यकाल त्रिविको इतिहासमै सबैभन्दा महत्वपूर्ण या ऐतिहासिक हुनसक्ने पूर्वानुमान समेत गरेका छन् ।