नेपाली राजनीति पछिल्लो समयमा अचम्मले धु्रवीकृत भएको छ । दशवर्षे माओवादीको शब्दमा ‘जन’ तर नेपाली जनताको नजरमा ‘धन’युद्धबाट कुनै उपलब्धि प्राप्ति नभएपछि तत्कालीन नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई आन्दोलनको कमान्डर बनाई लोकतन्त्र मात्र नभएर गणतन्त्रसमेत स्थापित गरिएको कुरा घामजत्तिकै छर्लङ्ग छ । ०६२÷६३ को ऐतिहासिक जनआन्दोलनको सफलतापछि राजधानीलगायत देशका प्रमुख सहर हुँदै गाउँ–बस्तीका प्रमुख भित्तामा ‘गणतन्त्र नेपालका पहिलो राष्ट्रपति प्रचण्ड’ भनेर लेखिएका भित्तेलेखन यदाकदा अझै देख्न पाइन्छ । प्रचण्ड पहिलो राष्ट्रपति भन्ने भित्तेलेखन तथा प्रचण्डप्रति नै व्यङ्यवाण छाड्दै एमालेका प्रभावशाली अध्यक्ष तथा यतिबेलाका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले ‘भित्ते राष्ट्रपति’को उपाधि दिएका थिए । त्यति मात्र नभएर त्यसबेला यो पङ्क्तिकारले ‘गणतन्त्र नेपालको पहिलो राष्ट्रपति प्रचण्ड भनिँदै छ नि, तपाईं के भन्नुहुन्छ ?’ भन्ने प्रश्न तेस्र्याउँदा जवाफमा ‘हेर्नुस्, चितवनका पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएझैँ उनकी धर्मपत्नी सीता दाहालको उपनाम ‘राष्ट्र’ राखिदिऔँ, त्यसपछि त सीतारूपी ‘राष्ट्र’का पति प्रचण्ड ‘राष्ट्रपति’ नै भए नि, होइन र ?!’ भन्ने रोचक उत्तर दिएका थिए ।
पहिलो संविधानसभामा ओलीकै बोलीलाई ठेगान लगाउन झापाबाट ओलीलाई पराजित गराएको माओवादीले दोस्रो संविधानसभा निर्वाचनमा समेत पराजय गराउन सक्दो प्रयास नगरेको होइन । केही महिनाअघिसम्म हरेक राजनीतिक मञ्चमा एक–अर्काको सत्तोसराप गर्ने प्रचण्ड र ओलीको पछिल्लो समयमा भने अचम्मको मितेरी जमेको जगजाहेर छ । यो मितेरीले कतै भविष्यमा एमालेको झलनाथ खनाल, माधव नेपाललगायतका नेताहरूलाई किनारा लगाएर प्रचण्ड नै एमालेका सर्वोच्च नेता बन्ने हुन् कि भन्ने भान पनि पर्न थालेको छ । ओलीलाई प्रधानमन्त्री बनाउनेदेखि विद्या भण्डारीलाई दोस्रो राष्ट्रपति बनाउँदासम्मको प्रचण्डको सक्रिय गतिविधि हेर्दा उनी अब माओवादीका नभएर एमालेकै नेताजस्तै देखिन्थे । मदन भण्डारीको रहस्यमय दासढुङ्गा जिप दुर्घटनापछि पुनः राजनीति सुरु गरेकी विद्या मुलुकको राष्ट्रप्रमुख भएकी छिन् । त्यतिबेला मदन भण्डारीको हत्यारालाई चिनेको दाबी गर्ने केपी ओली ‘सरकार प्रमुख’ रहेका बेला अब ‘जननेता’ मदन भण्डारीको हत्यारा पत्ता लाग्छ वा लाग्दैन, यो प्रश्न राष्ट्र र सरकारप्रमुख दुवैसमक्ष खडा भएको छ । मदन भण्डारीको निधनपश्चात् ‘हत्या’ भन्दै आन्दोलित कार्यकर्ताले भाँचेका रेलिङ वर्तमान पुस्ताले नदेखे पनि तत्कालिक फोटोपत्रकारहरूका ‘अर्काइभ’मा सुरक्षित होलान् । उनीहरूसँग सम्पर्क गरे ती सहजै उपलब्ध हुनेमा पङ्क्तिकार विश्वस्त छ । एमालेका सच्चा कार्यकर्ताले अब पहिलो काम मदन भण्डारीको हत्याराको खोजीबाट सुरु गर्नुपर्छ ।
वास्तवमा भन्ने हो भने २०७२ साल अचम्मको साल भएको छ । नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले यो सालको स्वागत गर्ने कार्यक्रम राख्दाराख्दै विनाशकारी भूकम्प गयो । यसबीचको ६ महिना त्यो सरकारलाई सत्ता चलाउन फलामको च्यूराजस्तै भयो । विनाशकारी भूकम्प, चार–चारवटा कम्युनिस्टका प्रधानमन्त्री बन्दा बनाउन नसकेको संविधानको निर्माण, मधेस आन्दोलन र भारतीय अघोषित नाकाबन्दी यस्तै क्रियाकलापबाट पीडित कोइराला सरकारको अन्ततः दुःखद् बिदाइ भएको छ । कोइराला सरकार बिदा हुनुअघि एमाले, माओवादीलगायत वर्तमान सत्ताधारीले गोहीको आँसु झार्दै भूकम्पपीडितको पक्षमा वकालत गरेको देखिन्थ्यो । सुशील कोइरालाको बहिर्गमनपश्चात् एमालेलगायत माओवादीका नेताहरू त्यो महाविनाशकारी भूकम्पबाट एकताबद्ध भएको दलीय माला चुँडाएर काङ्ग्रेसको उछित्तो काड्न उद्यत् बनेका छन् ।
०७२ सालको बीचभाग केपी ओलीका लागि बरदान भएको छ । जिन्दगीभर सत्तोसराप गर्ने प्रचण्ड आफ्नो मुद्दाका वरिपरि घुम्नु र आफू प्रधानमन्त्री भएपछि आफूनिकट विद्या भण्डारीलाई राष्ट्रपति बनाउन सफल हुनु ओलीको राजनीतिक विजय हो । आफ्नै पार्टीका वरिष्ठहरूलाई ‘चुँ’सम्म बोल्न नदिई राष्ट्रपतिमा विद्यालाई अघि सारेर विजयी बनाएपछि सबैभन्दा बढी खुसी ओली देखिन्थे भने प्रचण्ड पनि उनकै पछि–पछि रहेका थिए । आफ्नै पार्टीकी उपाध्यक्ष राष्ट्रप्रमुख भएकोमा पत्रकारलाई खुसी लागेको प्रतिक्रिया दिए पनि वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र पूर्वसभामुख सुवास नेम्वाङका ओठमा भने मलीन मुस्कान देखिन्थ्यो । नेपालको इतिहासमा महिला राष्ट्रपति भएको पहिलो घटना जसरी भएको छ प्रजातान्त्रिक मुलुकमा कम्युनिस्टबाट राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री, सभामुख भएको पनि नेपाल नै भएको छ ।
सत्ता गठनमा कम्युनिस्टहरूलाई साथ दिने पनि त्यस्तै चरित्रका रहेका छन् । तीसवर्षे पञ्चायती व्यवस्थामा निर्दलीय व्यवस्थाको वकालत गर्ने वर्तमान कमल थापाको राप्रपा नेपाल र पशुपतिशमशेर राणा र लोकेन्द्रबहादुर चन्दले आफू नेता भनेर दाबी गर्ने राप्रपाजस्ता पार्टी रहेका छन् । सङ्घीयताको विरोध गरेर नथाक्ने चित्रबहादुर केसीलगायत नारायणमान बिजुक्छेजस्ता सैनिक शासनका पक्षपातीहरू पनि यो सरकार बनाउन लागिपरे । हिन्दूधर्म र राजसंस्थाको नामबाट २५ सिट प्राप्त गरेका मुसा प्रवृत्तिका कमल थापाले अन्ततः राजनीतिक विचार र सिद्धान्तलाई सत्तासँग साटेका छन् । राजाको हातबाट मात्र गोपनीयताको शपथ खाने र हिन्दुत्व प्राप्त नगरेसम्म आन्दोलनको मोर्चामा डटिरहने अभिव्यक्ति दिने कमल यतिखेर कायरको नाम बलबहादुर भनेझैँ सत्ताको फोहोरी ढलमा फुलेको कमल सावित भएका छन् । प्रचण्डजस्ता चतुर खेलाडी र कमल थापाजस्ता मौका पर्नासाथ दुलो पार्ने प्रवृत्तिका व्यक्तिहरूले साथ दिएर बनेको केपी नेतृत्वको सरकारले जसरी काङ्ग्रेसप्रति निषेधको राजनीति गरेको छ, यसले मुलुक अझ अन्धकारमा धकेलिने निश्चितप्रायः छ । हिजो सदनमा ताण्डव नृत्य गर्ने, संसद्को मर्यादाको ख्याल नगरी कुर्सी फाल्ने र कपडा च्यात्नेजस्ता व्यक्ति सम्मिलित यो सरकारका नेतृत्वकर्ता केपी ओलीको सपना भने सायद पूरा भएको छ । ओलीलाई पनि देश होइन ‘बेस’ मात्र बनाउने चिन्ता रहेछ कि भन्ने लाग्न थालेको छ ।
प्रतिक्रिया