– राजेन्द्रप्रसाद पाठक
केटाकेटीमा अलिक विद्रोही स्वभावको थियो यो पङ्क्तिकार । त्यही स्वाभाव चिनेर होला मेरा एक शिक्षकले मलाई पञ्चायतको विरुद्धमा लाग्न प्रेरित गरे । सायद उनी कम्युनिस्ट विचारधाराका थिए होला जस्तो अहिले लाग्छ । उनी भन्थे– फासिष्ट पञ्चायती एकतन्त्री व्यवस्थाले शासक वर्गको मात्र उत्थान गर्छ, बाँकी जनताले दुःख पाउँछन् । प्रजातन्त्र त्यस्तो व्यवस्था हो जसमा बोल्ने, लेख्ने, राज्य–व्यवस्थाले बन्देज नलगाएको सामान खरिद गरेर उपभोग गर्न पाउने, मानवअधिकारको सुनिश्चितता, आफ्ना नेता आफैँ चयन गर्न पाउने स्वतन्त्र व्यवस्था, गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा र रोजगारी देशले अनिवार्य उपलब्ध गराउने आदि अत्यन्त कर्णप्रिय र सर्वसुलभ शासन व्यवस्थाको उल्लेख सुन्दा त्यस्तो शासन नेपालमा छिट्टै आइदिए हाम्रो पुस्ताले सुख पाउँथ्यो होला भन्ने कल्पनाको बिउ उनले मात्र होइन मेरो स्वर्गीय पिताजीले पनि फुर्सदमा सुनाइरहनुहुन्थ्यो । उहाँ पनि बीपीको विचारबाट र सङ्गत गरेर खारिएको हुनुहुँदोरहेछ ।
०४६ सालमा पञ्चायतविरुद्ध आन्दोलन हुँदा मेरो पनि सानोतिनो सहभागिता रहेछ भन्ने कुरा आजसम्म कोठाको कुनामा अडाइराखेको लामो घँघारूको लौरो हेरेर सम्झना आउँछ । त्यो लौरो आन्दोलनबाट पुलिससँग खोसेर ल्याएको थिएँ म स्वयम्ले । ०४६ सालको आन्दोलन सफल भयो । ३० वर्षे पञ्चायती व्यवस्था ढल्यो । अब त बहुदलीय व्यवस्था आयो भन्दै सबैले घरघरमा दीपावली गरे । देश स्वीट्जरल्यान्डजस्तो बनाउने भाषण ठाउँठाउँमा नेताहरूले गरे ।
जुम्ल्याहा छोरा जन्मे भने राम–लक्ष्मण नाम राख्ने चलन भएका कारण स्वीट्जरल्यान्ड र नेपाल भनेको उस्तै–उस्तै देश होला, अनुहार (भूगोल) पनि उस्तै होला, व्यवहार र शासन व्यवस्था पनि एउटै होला । त्यसैले त हाम्रा महान् कर्मवीर नेताले यस्तो भाषणबाजी गरे होला जस्तो लाग्दथ्यो । साइन्सले प्रमाणित गरेको तथ्य पनि नेताले गलत हो भनिदिए भने सोही हो भनेर भन्न सक्ने तयारी हामीमा भइसकेको रहेछ त्यतिबेला । आज देशमा प्रजातन्त्र, लोकतन्त्र साथै गणतन्त्रसम्म आइसक्यो देशको समस्या ज्युँकात्युँ हुँदा बल्ल छर्लङ्ग भयो देश विकास शासन व्यवस्थाले मात्र होइन नेतृत्वको कमिन्टमेन्टले मात्र हुने रहेछ भन्ने कुरा मलेसिया, सिंगापुर, दक्षिण कोरिया, हङकङ, जापान, चीन आदिलाई साक्षी राखेर तुलना गर्दा परिणाम जे आउँछ त्यही नै सही हो भन्दा फरक नपर्ला ।
अब आजको प्रमुख प्रसङ्गतिर फर्कौं, कुरोको चुरो भनेको के आज गणतन्त्रसम्म देश परिस्कृत हुँदा जनताले सुविधा पाएका छन् त ? अबको विकसित शताब्दीसम्म आइपुग्दा विश्वभरका विकसित मानवले जे–जे प्राप्त गरेका छन् सोही–सोही हामीले पनि अपेक्षा गर्न सक्दछौँ । तर, बाध्यता यस्तो बन्दै छ कि हामी भने ढुङ्गेयुगबाट बल्ल आगोको आविष्कारपछिको सुरुवातीको कृषि युगमा फर्कन बाध्य भयौँ । त्यतिबेला त आवादी कम र जङ्गल बढी थियो । तर, अहिले त त्यो पनि छैन । जङ्गल नभएपछि दाउरा कहाँ पाउने । जमिन घरैघरले ढाकिसक्यो, जमिन कहाँ पाउने । भएका जमिन पनि संरक्षण गर्ने युवाशक्तिको अभाव र प्राकृतिक प्रकोपका कारण क्षय भएर समाप्त हुनै लाग्यो । अभाव, भोकमरी र राज्यआतङ्कका कारण देश सोमालियाजस्तो बन्न धेरै कुुर्नुपर्ने छैन । नेतृत्वको अपरिपक्वता र परनिर्भरताको पराकाष्ठा हो यो ।
व्यक्तिलाई चाहिएको व्यवस्थाजस्तो भइसक्यो प्रजातन्त्र र लोकतन्त्र जहाँ हमेसा व्यक्तिविशेष नै हावी भइरहेको छ । उच्च ओहोदामा बस्नेलाई अलिकति पनि हीनताबोध छैन कि हाम्रो अकर्मन्यताको सिकार समग्र जनता भएका छन् । जनतामा पनि एउटा यस्तो महाविष भरिदिन उनीहरू सफल भएका छन् जे काम बिग्रिए पनि छिमेकीलाई दोष दिन हामी सबै उद्यत् हुन्छौँ । निर्विकल्प कुनै चिज हुँदैन । विकल्पको खोजी दिनेले होइन लिनेले खोज्नुपर्छ । यहाँ त विकल्पको खोजीसमेत दिनेले नै गरिदिनुपर्ने हो भन्ने मानसिकता जनतामा बनाइदिन सफल भएका छन् हाम्रा नेताहरू । हिजो दिल्लीको नुनपानी खाएर भारतसँग सुरुङयुद्ध गर्ने हुँकार जनतामा बाँड्नेहरू कहाँ गए । आज भारतीय विस्तारवादको भाषण कला जनतासामु प्रस्तुत गरेर शब्दैपिच्छे ताली खाने अभिनयकरी महानायकहरू के गर्दै छन् । यत्तिका दिनसम्म सास्ती जनताले भोग्नुपर्दा सडकमा जुलुस निस्किसक्ने थियो होला । राणा शासन भइदिएको भए राणाका कारण भनिन्थ्यो होला, पञ्चायत भएको भए पञ्चायतका कारण जुलुस हुन्थ्यो होला ।
प्रजातन्त्र मात्रै भइदिएको भए गणतन्त्रवादीले जनआन्दोलन जनविद्रोह गर्दथे होला र प्रजातन्त्रलाई दोष थोपर्थे होला । तर, अहिले लोकतन्त्र गणतन्त्र भनिने संसारको एउटा यस्तो अनुपम व्यवस्था छ जहाँ नेतृत्वको विरोध गर्न र नारा–जुलुससम्म गर्न पाइन्न । यत्तिका सास्ती जनतालाई हुँदा पनि विद्यार्थी, तरुण, युवा र जोसिला जनता सडकमा आउँदै–आउँदैनन् । उनीहरूलाई सडकसम्म ल्याउने, मिडिया, नागरिक समाज, टे«ड युनियन, विद्यार्थी सङ्गठन र जनमुखी दल वा सङ्गठन नै नेपालमा नभएको हो त ? यो आजको मूल प्रश्न हो । अकर्मण्य नेतृत्वको विरुद्धमा यति धेरै मौन रहनु भनेको कि त एकतन्त्री व्यवस्थाले बाध्य पारिएको अवस्थामा हुन्छ कि त चाकडी बजाउने शोषक सामन्ती व्यवस्थामा मात्र हुन्छ । के आज नेपालमा त्यस्तै त्यस्तै व्यवस्थाको सुरुवातीको अवस्था हो त ? होइन भने लोकतान्त्रिक, गणतान्त्रिक शासन व्यवस्थाको नाममा आफ्नो र आफन्तको मात्र भलो चिताउनेहरूप्रति खबरदार ! जनता जागे भने क्षणभरमा खरानी मात्र उडेको देख्न पाउनेछौँ । होइन भने समस्याको व्यवस्थापन गरी हाल । अब जनता भोकभोकै चुप लागेर बस्ने छैनन् । युवालाई देशभित्रै रोक्नुपर्दछ भनेर भाषणबाजी गर्नेलाई भन्नुपर्दछ । के देखेर युवाले यो देशमा श्रम गर्नुपर्छ ? जहाँ पैसा तिरेर सामान खरिद गर्न पाइँदैन । इच्छाले भोटसमेत हाल्न पाइँदैन ।
दल र सङ्गठनको नाममा गुन्डागर्दी गरेर साधारण जनतालाई त्रसित पारिन्छ । शिक्षाको नाममा महाशोषण हुन्छ । स्वास्थ्यको नाममा देहको व्यापार गरिन्छ । अङ्ग–प्रत्यङ्ग बेचिन्छ । गुन्द्रीमा सुतेर गुन्द्रुक र भात खाएर विश्वविद्यालयको प्रमाणपत्र थुपा¥यो त्यसको भ्यालु हुँदैन । सञ्चारको नाममा व्यक्तिको प्रचारात्मक व्यापार हुन्छ । प्रकृतिले भएको वास भत्काइदिएको छ । नयाँ बास बनाउने क्षमता जनतामा छैन । जाडो आयो गयो फेरि आउँछ, तर एकसरो कपडा लगाउने क्षमता जनताले गुमाइसकेको अवस्था छ । सुरक्षाको कुरा गर्ने हो भने नेता आफैँ असुरक्षा भयो भन्छन् जो आर्मी पुलिसको बटालियनले घेरिएर बसेका हुन्छन् । रोजगारीको त सयौँ वर्षपछि पनि कल्पना गर्न गाह्रो छ । संसारको अनुपम मानिने शासन व्यवस्था जसलाई लोकतान्त्रिक गणतन्त्र भनिन्छ । अब त्यो अपरिवर्तनीय छ । परिवर्तनका लागि जुलुस आन्दोलनको लागि युवा शक्तिको आवश्यकता नेताहरूले ठानेका छन् । त्यो पनि पूरा भइसकेको अवस्था र युवा शक्तिको बेवास्ता राज्य–व्यवस्थाले गरेको जस्तो महसुस राज्यका धेरै युवाले गरेको हुनुपर्दछ । त्यसैले हाम्रो देश युवामैत्री बन्न सकेन । युवाका धेरै इच्छा चाहना हुन्छन् । त्यसको पूर्तिका लागि उनीहरू देश छाड्न बाध्य छन् । नेतृत्वको आफन्त भयो भनेचाहिँ बिदेसिएका आफन्तलाई ग्रिनकार्ड भइसकेकालाई पनि फर्काएर ल्याएर स्थान दिने त्यस्तो अनुपम व्यवस्था हामीले स्थापना गरेका छौँ । त्यसैले हामी आफैँमा धन्यवादका पात्र बन्न सफल भएका छौँ ।
(लेखक त्रिविका पीएचडी स्कलर्स हुन् ।)
प्रतिक्रिया