जसको किड्नी प्रधानमन्त्रीले बोकिरहेका छन्

जसको किड्नी प्रधानमन्त्रीले बोकिरहेका छन्


anjan Oli 3
वैशाख २३ गते चितवनको केशरवाग, गीतानगरमा पिता ध्रुव घिमिरे र माता प्रशान्तको कोखबाट जन्मिएकी अन्जान घिमिरे आमनेपाली नागरिकमध्येकै एक सर्वसाधारण महिला हुन् । ०६१ माघ १९ मा हालका प्रधानमन्त्री केपी ओलीका काहिँलो भाइ ताराप्रसाद ओलीसँग मागीविवाह भएपछि नामको पछिल्तिर ‘ओली’ थरसमेत जोडिएर उनी अन्जान घिमिरे ओली बनेकी छन् । आमाबुबाका चार छोरीमध्येकी साहिँली अन्जानको अर्को एक महत्वपूर्ण पहिचान पनि छ । नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको किड्नी ट्रान्सप्लान्ट भएको तथ्यसँग त धेरै जानिफकार छन्, तर उनलाई आफ्नो किड्नी नै प्रदान गरेर जीवन दान दिने पात्रचाहिँ यिनै अन्जान घिमिरे नै हुन् भन्नेबारे सबैलाई थाहा नहोला । हो, ०६४ साल साउनमा १५ महिनाको छोरा हुर्किरहेको अवस्था र २२ वर्षे कल्कलाउँदो उमेरमै अन्जानले स्वेच्छाले आफ्ना जेठाजु अर्थात् केपी शर्मा ओलीलाई किड्नी दान गरेकी थिइन् । सोही सन्दर्भका साथै समसामयिक राजनीतिक परिस्थितिबारे एक सर्वसाधारण व्यक्तिका नाताले उनी के भन्छिन्– पढौँ अन्जान घिमिरे ओलीका रोचक जवाफ ।

० यतिबेला देशको प्रधानमन्त्री बनेको व्यक्तिको शरीरमा तपाईंको एक महत्वपूर्ण अङ्ग छ, आफ्नो अङ्ग पनि प्रधानमन्त्रीको पदसँगै रहेको कुराले कस्तो महसुस गराउँछ ?
– यो कुराले मलाई खुसी लाग्छ । उहाँलाई प्रधानमन्त्री बनाउने या बनेको हेर्ने चाहना मभित्र थियो, त्यो पूरा भएको छ । उहाँ प्रधानमन्त्री हुनुमा मैले उहाँका लागि गरेको अङ्गदानको भूमिका छ भन्ने अनुभूतिले मलाई खुसी तुल्याउँछ ।

० केपी ओलीलाई प्रधानमन्त्री बनेको हेर्ने चाहना तपाईंले कहिलेदेखि देख्न थाल्नुभएको थियो नि ?
– जबदेखि यो देशको राजनीति अलिक बढी नै उथलपुथल हुन थाल्यो, त्यसबेलादेखि नै उहाँ प्रधानमन्त्री भइदिए सबै कुरा राम्रो होला कि भन्ने लाग्न थालेको थियो मलाई ।

० केपी ओलीजी आफ्नो परिवारको सदस्य भएको कारणले उहाँलाई प्रधानमन्त्री भएको हेर्न चाहेको हो कि उहाँमा अरू नेतामा भन्दा फरक क्षमता छ भन्ने पनि लाग्छ तपाईंलाई ?
– परिवारको सदस्य हुनुभएकाले मात्र होइन, वास्तवमै उहाँ अरू नेताभन्दा फरक क्षमता या शैलीसम्पन्न हुनुुहुन्छ । उहाँको बोलाइ र कामगराइ एकदम प्रस्ट हुन्छ । भन्ने नै हो भने अरू नेताको त म त्यत्ति बुझ्दिनँ ।

० अरू नेताको बोली नबुझ्ने कि कामगराइ नबुझ्ने ?
– केही नेताले बोलेको पनि बुझ्दिनँ, कतिपयले काम गरेको पनि बुझ्दिनँ म ।

० तपाईंले बुझ्नेचाहिँ केपी ओलीको मात्रै हो कि कसो ?
– त्यस्तो त होइन, बुझ्न त म प्रचण्डको पनि बुझ्छु । बाबुराम भट्टराईको पनि बुझेकी थिएँ । तर, यस्ता व्यक्तिहरू पनि यो देशमा प्रधानमन्त्री भए जसले बोलेको केही बुझ्नै सकिएन, तिनका काम पनि बुझिएन ।

० होइन, सुशील कोइरालाले बोलेको नबुझेकै कारण केपी ओली प्रधानमन्त्री बनिदिए हुन्थ्यो भन्ने लागेको थियो कि के हो तपाईंलाई ?
– त्यस्तो त होइन । कोइरालाले पनि जनतालाई राहत पुग्ने काम गरिदिएको भए भइहाल्थ्यो । मान्छेले बोल्नै नसके पनि काम गर्नेले साङ्केतिक भाषा प्रयोग गरेर पनि त काम गर्न सक्छ नि !

० उहाँले यत्रो संविधान नै बनाउने काम गर्नुभयो भन्छन्, तपाईं यो मान्नुहुन्न ?
– संविधान त उहाँ सरकारप्रमुख बनेकै बेला बन्यो, यो त मान्नैप¥यो ।

० यो संविधान बनाउन सुशील, प्रचण्ड र केपीमध्ये कसको भूमिका बढी रह्यो होला ?
– सबै नेता नमिलेको भए संविधान बन्न सक्दैनथ्यो होला । त्यसैले सबैको बराबरै भूमिका रह्यो होला जस्तो लाग्छ ।

० प्रधानमन्त्री केपी ओलीबाट खास केचाहिँ होस् भन्ने तपाईंको चाहना छ नि ?
– होस् भन्दा पनि एउटा कामचाहिँ नभइदिए हुन्थ्यो भन्ने मलाई लागिरहेछ । त्यो भनेको मधेसी दलहरूले मागेअनुसार एउटै लमतन्न मधेस प्रदेश दिनुहुन्न भन्ने हो । हुन त मैले मधेसी दलका नेताहरूको माग के–कस्तो हो भन्ने राम्ररी बुझ्नै सकेकी छैन । सर्सरी बुझ्दा उनीहरूले देशको हित हुने माग गरिरहेका छैनन् भन्ने लाग्छ ।

० मधेसी दलहरूको माग पूरा नगरिदिँदा त सधैँ लडिरहने होलान् नि फेरि ?
– लडे लडिरहुन् । उनीहरूलाई सर्लक्क मागेअनुसार सीमाङ्कन गरिँदा त पछि त्यो भारतलाई बुझाए भने के गर्नु नि ?

० उनीहरूले दिँदैमा दिइन्छ र भनेको, सबै जनताले मान्नुपर्ला नि ?
– खै ! उनीहरूको त नियत नै त्यस्तै होलाजस्तो लाग्छ मलाई त । सिमानातिर जमिन मिचिएका खबर सुनिँदै आएको छ, त्यसैले मधेस प्रदेश छुट्याएर लिन खोजेको हो कि भनेजस्तो लाग्छ ।

० उनीहरू विभिन्न समस्यामा परेर आन्दोलित भएजस्तो लाग्दैन तपाईंलाई ?
– खै, समस्या केही न केही त हुँदो हो, तर जुन किसिमको आन्दोलनको शैली उनीहरूले अपनाएका छन्, त्यो हेर्दा त समस्या भएर भन्दा पनि दुर्नियत भएरै यस्तो गरेजस्ते लाग्छ ।

० मधेसवादी दलहरूले भनेजस्तो तराईमा केही समस्या नै छैन होला त ?
– त्यो त म राजनीति गर्ने मान्छे नभएकाले गहिरिएर बुझ्न सक्दिनँ, तर सर्सरी हेर्दा र सबैले भनेको सुन्दाचाहिँ यस्तो निर्दयी कदम चाल्नुपर्ने खालको खास समस्या छ जस्तो लाग्दैन ।

० ठीक छ, तपाईं राजनीति बुझ्दिनँ भन्दै हुनुहुन्छ, त्यसैले मधेसी दलले उठाएको माग केपी ओलीबाट पूरा गरिनुहुँदैन भन्दै हुनुहुन्छ । त्यो काम नगरे पनि अरू गर्नैपर्ने कामचाहिँ के–के होलान् त ?
– मुख्यतः रोजगारीको समस्या समाधान हुनुपर्छ । समग्रमा देशले राम्रो बाटो लेओस्, समृद्धि र सुखका दिन आउन् । उहाँको पालादेखि अब नराम्रा कुराको अन्त्य भई राम्रो र सकारात्मक बाटो मुलुकले समातोस् भन्ने लाग्छ ।

० केपी ओली प्रधानमन्त्री हुनुभएको लगभग तीन हप्ता भयो, यसबीच तेल र ग्यासको समस्या पनि यथावत् नै छ, भारतसँग उल्झेको समस्या पनि समाधान गर्ने पहल भएन भन्छन्, तपाईंले यस्तो सुन्नुभएको छैन र ?
– सुन्न त सुनेकै हुँ, तर यसमा प्रधानमन्त्रीको के दोष छ र ? भारतसँग वार्ताका लागि परराष्ट्रमन्त्री कमल थापा जानुभएको थियो क्यारे । समस्या समाधान नभएपछि त चीनबाट तेल झिकाएर भए पनि गर्जो टार्ने प्रयत्न सरकारले गरेकै छ । उहाँले प्रयत्न गरिरहनुभएको छ र सक्सेस पनि हुनुहुन्छ भन्ने लाग्छ । अब राम्रै हुँदै जाला भन्ने लागिरहेको छ ।

० राजनीतिको कुरा छोडेर फेरि उही सन्दर्भमा फर्कौं । केपी ओलीजीको जब स्वास्थ्य बिग्रिएर उहाँको किड्नी फेर्नुपर्छ भन्ने कुरा आयो, तपाईं आफैँले किड्नी दिन्छु भन्नुभएको हो कि कसैले तपाईंलाई यस्तो गर्न सुझायो या आग्रह ग¥यो ?
– मलाई कसैले आग्रह गरेको होइन । उहाँ बिरामी भएर सुतेको जुन अवस्था थियो, उहाँलाई कसरी सहयोग गर्न सकिएला भन्ने भाव मभित्र स्वतस्फुर्त जागेर आयो । उहाँलाई के भएको भनी सोध्दा किड्नी फेल भएछ भन्नुभयो । मैले तत्कालै ‘मिल्छ भने त तपाईंका लागि म आफ्नो किड्नी दिन्छु नि’ भनेँ । उहाँले ‘तँ सानै छेस् के दिन्छेस् !’ भन्दै हाँसोमा उडाउनुभयो । मैले म सानै उमेरकी भए पनि मिल्छ भने दिएरै छोड्छु, जँचाएर हेर्नुप¥यो भनेर जिद्दी गरेँ । आखिर जाँच गर्दा मिल्ने नै भयो । मेरो रगत ‘ओ पोजेटिभ’ उहाँको ‘ओ नेगेटिभ’, तर ‘ओ’ मिलेपछि किड्नी दिन मिल्नेरहेछ ।

० तपाईंले सुरुमा त भावावेशमा किड्नी दिने कुरा गर्नुभएको थियो होला, साँच्चै दिनुपर्ने भएपछिचाहिँ कस्तो लाग्यो, यथार्थ भनिदिनुहोस् त ?
– मैले कुनै भावावेशमा त्यो कुरा गरेकी थिइनँ, हृदयदेखि नै भनेकी हुनाले किड्नी दिन कत्ति पनि असहज या अप्ठ्यारो लागेन । बरु उहाँले नै त्यो कुरालाई गम्भीरतापूर्वक लिनुभएको थिएन । मैले नै जबर्जस्ती गरेको हो ।

० आफ्नो किड्नीजस्तो महत्वपूर्ण अङ्ग दिएर पनि उहाँलाई बचाउँ भन्ने तपाईंलाई लाग्नुको कारणचाहिँ के हो नि ?
– आफूले अत्यन्त नजिकबाट चिनेको स्पष्टवादी र सक्षम नेताको स्वास्थ्य त्यस्तो भएको मलाई सैह्य भएन । वास्तवमा आफ्नो घर–परिवारको मान्छे भनेर भन्दा पनि देशकै लागि उहाँ आवश्यक नेता भएकाले पनि उहाँको स्वास्थ्य सुदृढ पार्न मैले सकेको भूमिका खेल्नैपर्छ भन्ने मलाई लागेको हो ।

० केपी ओलीजत्तिकै क्षमतावान् र योग्य अरू कुनै नेतालाई यस्तो परेको भए पनि तपाईंले किड्नी दान गर्नुहुन्थ्यो होला त ?
– यसमा दुईमत नराख्दा हुन्छ, म दिन्थेँ ।

० जतिबेला साँच्चै तपाईंको किड्नी झिकिँदै थियो या झिकियो, कस्तो लागिरहेको थियो ?
– त्यस्तो कुनै पीडाबोध भएन, एउटा राम्रो नेतालाई बचाउने काम गर्न पाइयो भनेर सुखद अनुभूति नै भइरहेको थियो त्यसबेला पनि ।

० किड्नी झिकेकै कारण तपाईंको स्वास्थ्यमा कुनै समस्या आएको या अप्ठ्यारो परेको त छैन ?
– त्यस्तो केही अप्ठ्यारो परेको छैन । किड्नी निकालेकै कारणले मैले एउटा ट्याब्लेट पनि खानुपरेको छैन । कुनै समस्या छैन अहिलेसम्म मलाई ।

० किड्नी दान गरे पनि दातालाई कुनै अप्ठ्यारो पर्दोरहेनछ भनेर बुझ्दा हुन्छ त हामीले ?
– आफूले इच्छा गरेर दिएपछि कुनै अप्ठ्यारो पर्दोरहेनछ भनी बुझ्दा हुन्छ । दिनेबेला दिएर पछि त्यसैमा पश्चात्ताप गर्न थालियो भने त यसै पनि समस्या उत्पन्न हुन सक्ला नि, होइन र ?

० केपी ओलीबाट मुलुक र जनताका लागि राम्रो काम होला भनेर तपाईंले यस्तो पुण्य कार्य गर्नुभयो, अब उहाँबाट पनि सोचेजस्तो काम हुन सकेन भनेचाहिँ के गर्नुहुन्छ नि तपाईं ?
– भएन भने के होला भनी नकारात्मक सोच्नुभन्दा पनि उहाँबाट राम्रै काम हुन्छ भन्नेमा म विश्वस्त छु । उहाँबाट हुन्छ भनेरै त सबैले मिलेर छानेका हुन् । कथम् त्यस्तो नराम्रो अवस्था आएछ भने कस्तो अनुभूति होला, त्यो त्यतिबेलै अनुभूति गरिएला, तर उहाँबाट नराम्रो होला भन्ने सोच्नै सक्दिनँ म ।