सुशील कोइरालाको बचेखुचेको प्रतिष्ठा समाप्त पार्ने र नेपाली काङ्गे्रसलाई सत्ता–संयन्त्रको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्ने व्यक्तिहरूको खोजी काङ्गे्रसभित्रै सुरु भएको छ । यस किसिमको प्रतिकूल स्थिति उत्पन्न हुनुमा तीन प्रमुख नेताहरू सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई जिम्मेवार ठान्नेहरू काङ्गे्रस केन्द्रीय समितिका अधिकांश सदस्यहरू छन् । तर, वास्तविकता बुझ्नेहरूले भने देउवा र पौडेलहरूलाई जिम्मेवार ठानेका छैनन् । सुशील कोइरालाले आफैँ प्रधानमन्त्रीमा दोहोरिन नचाहेको भए काङ्गे्रस यसरी रक्षात्मक अवस्थामा पुग्ने थिएन भन्ने जानकारहरूको भनाइ छ । कोइरालाले प्रधानमन्त्री पद त्याग गरिसकेपछि संसदीय दलमा नयाँ नेतृत्व चयनको मार्ग प्रशस्त गरिदिएको भए शेरबहादुर देउवा या रामचन्द्र पौडेल प्रधानमन्त्रीको उम्मेदवार बन्ने थिए र दुईमध्ये कुनै पनि नेता उम्मेदवार बन्दा काङ्गे्रसले प्रधानमन्त्री पदमा चुनाव जित्ने सम्भावना पनि थियो । कोइरालाको पद ओगटिरहने हठका कारण समस्या उत्पन्न भएकोले काङ्गे्रस बढारिनुमा सुशील कोइराला नै मुख्य जिम्मेदार देखिएका छन् । कोइरालाले आफू प्रधानमन्त्रीको उम्मेदवार बन्न नचाहेको, तर शेरबहादुरले भनेकोले मात्र आफू उम्मेदवार बनेको भनी आफूलाई बचाउन प्रयास गरिरहेका छन् । जब कि सुशील कोइरालाले तत्कालिक राष्ट्रपति डा. रामवरण यादवलाई भेटी देउवा र पौडेललाई आफ्नो पक्षमा समर्थन गर्न सम्झाइदिनुप¥यो भनी आग्रह गरेका थिए र डा. यादवले देउवा र पौडेललाई सम्पर्क गरी सुशीललाई प्रधानमन्त्रीको उम्मेदवार बन्न सहयोग गरिदिनुप¥यो भनी आग्रह (सम्झाइबुझाइ) पनि गरेका हुन् । यादवको आग्रहपछि देउवा र पौडेलपछि हटेका र त्यसपछि सुशील कोइराला प्रधानमन्त्रीको उम्मेदवार बनेका थिए । कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन डा. मीनेन्द्र रिजाल, महेश आचार्य, आनन्द ढुङ्गाना, दिलेन्द्रप्रसाद बडू, नरहरि आचार्य र कोइराला परिवारकै केही सदस्यहरू निरन्तर लागिपरेका थिए । मीनेन्द्र रिजाल, महेश आचार्य र आनन्द ढुङ्गानाले त ‘तपाईंबाहेक कसैले जित्न सक्दैन’ भनी बारम्बार सुशीललाई उचालिरहेका थिए । आफू प्रधानमन्त्री नभए पार्टीको महाधिवेशनमा प्रतिकूल अवस्था पैदा हुने र आफू या आफूले तोकेका उम्मेदवारलाई महाधिवेशनमा जिताउन नसकिने विश्वासमा रहेका सुशील कोइरालालाई आफ्ना सेवकहरूको सुझाव (आग्रह) सही लागेको थियो । उता केपी ओलीलाई प्रधानमन्त्री बनाएर आफू गृह मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्री बन्ने योजनामा रहेका कृष्ण सिटौलाको भूमिका पनि खतरनाक रह्यो । आफ्नो योजना असफल भएपछि सिटौला आफूलाई सही प्रमाणित गर्न सुशीललाई प्रधानमन्त्रीको निर्वाचनमा पराजित गराउन चाहन्थे । त्यसनिम्ति सिटौलाले अन्य दलको आफूसँग सम्पर्कमा रहेका सांसदहरूलाई सुशीलविरुद्ध मतदान गर्न लबिङ गरेका थिए । केही मधेसी मोर्चासम्बद्ध सांसदहरूलाई सिटौलाले टेलिफोन गरी सुशीललाई मतदान नगर्न आग्रह गरेका थिए । बीपी कोइरालाभन्दा आफू सफल भएको ठान्ने सुशीललाई मधेसी मोर्चाले समेत सघाउने भएपछि उनले आफ्नो विकल्प कसैलाई पनि देखेनन् । शेरबहादुर देउवा प्रधानमन्त्री भएमा सभापतिसमेत देउवा बन्ने र आफूसहित कोइराला परिवारको राजनीति समाप्त हुने भन्दै सुशील देउवाको बाटो छेक्न अग्रसर भएका हुन् । यसरी आफू र कोइराला परिवारको राजनीति जोगाउन खोज्दा सुशीलले काङ्गे्रसलाई भने सङ्कटमा पु¥याएका छन् । यसरी काङ्गे्रस सत्ताका सबै अङ्गबाट बढारिँदा पनि सुशील कोइराला त्यसको नैतिक जिम्मेवारी लिन तयार नहुनु आश्चर्यको विषय बनेको छ । यस प्रकरणबाट सुशील कोइरालाको सक्कली अवतारबारे जानकारी पाउने अवसर भने आमनेपालीलाई उपलब्ध भएको छ ।
प्रतिक्रिया