गुरिल्ला उपराष्ट्रपति बनेपछि कसैको बधाई आएन

गुरिल्ला उपराष्ट्रपति बनेपछि कसैको बधाई आएन


नन्दकिशोर पुन
काठमाडौं । नेकपा एमाओवादीका तर्फबाट राज्यसत्ताको महत्वपूर्ण अङ्गमा चयन भएका व्यक्तिहरूलाई देखेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदाय चकित परेका छन् । सभामुखजस्तो सम्मानित एवम् गरिमामय पदमा ओनसरी घर्तीको चयन भएपछि साधारण नेपाली जनतासमेत स्तब्ध भएका थिए । यसअघि दमननाथ ढुङ्गाना, तारानाथ रानाभाट, रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङजस्ता आफ्नो क्षेत्रमा उच्च हैसियत प्राप्त गरिसकेका व्यक्तिहरूले निर्वाह गरेको जिम्मेवारीमा कानुनी एवम् बौद्धिक पृष्ठभूमिबिनाकी ओनसरीलाई चयन गर्दा सिङ्गै मुलुक स्तब्ध भएको थियो । हिंसात्मक युद्धकालमा गुरिल्ला बनेको योग्यता सभामुखको भूमिका निर्वाह गर्न अपर्याप्त हुने ठानिएको छ ।

त्यस्तै गृहमन्त्रीजस्तो संवेदनशील र महत्वपूर्ण जिम्मेवारीमा प्रचण्डले आफ्नो स्वकीय सचिव रहिसकेका कनिष्ट व्यक्तिलाई चयन गर्नुलाई पनि स्वाभाविक मानिएको छैन । शक्ति बस्नेत स्वयम्का लागि पनि यो जिम्मेवारी चुनौतीपूर्ण बन्ने देखिएको छ । यसैबीच उपराष्ट्रपतिजस्तो सम्मानित उच्च पदमा पूर्व गुरिल्ला प्रमुख नन्दकिशोर पुनलाई चयन गरिनुलाई अन्तर्राष्ट्रिय समुदायले समेत गम्भीरतापूर्वक लिएको छ । नन्दकिशोर पुन पासाङ उपराष्ट्रपति भएपछि आयोजित शपथग्रहण समारोहमा कूटनीतिक नियोगका कुनै पनि प्रतिनिधि उपस्थित भएनन् र पुनलई कुनै पनि मुलुकले अहिलेसम्म बधाई पनि दिएका छैनन् ।

सेना समायोजनका क्रममा ब्रिगेडियर जनरल मागेका पुनलाई उक्त ओहोदा दिन नेपाली सेना र तत्कालिक सरकार तयार नभएपछि पासाङ जनरलभन्दा तलको ओहोदा लिएर सेनामा सामेल हुन तयार भएनन् । अहिले पुनलाई उपराष्ट्रपति बनाएर नेपाली सेनालाई ‘डिमरलाइज्ड’ गर्न खोजेको अर्थ लागेको छ । प्रचण्डले सभामुखदेखि उपराष्ट्रपतिसम्मको पदमा मगरहरूलाई चयन गरेर रोल्पा–रुकुमतिरका मगरहरूलाई खुसी तुल्याउन खोज्दा देशको अन्य भूभागमा सकारात्मक सन्देश गएको छैन । संसदीय प्रजातन्त्रको बद्नाम गर्न गुरिल्ला पृष्ठभूमिका कनिष्ट व्यक्तिहरूलाई उच्च राजनीतिक जिम्मेवारी दिएको हुनसक्ने अर्थ पनि विश्लेषकहरूले लगाएका छन् ।