सर्वोच्च अदालतको आदेशलाई देशका सबै सरकारी अस्पतालहरूले कार्यान्वयन गरे पनि थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले भने अवज्ञा गरेको छ । सरकारी अस्पताल परिसरभित्र निजी क्षेत्रलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिँदा अवाञ्छित ढङ्गले आर्थिक चलखेल हुने गरेको र त्यसले विभिन्न प्रकारका विकृति पैदा गरेकोले त्यस सम्बन्धमा परेको रिट निवेदनमाथि विचार–विमर्श गरी अदालतले अस्पताल परिसरमा निजी क्षेत्रलाई फार्मेसी सञ्चालन गर्न नदिन–नगराउन आदेश गरेको थियो । अदालतको आदेशपश्चात् वीर अस्पताल, शिक्षण अस्पताललगायत देशभरिका सबै अस्पतालहरूले आफ्नो परिसरभित्र आफैँले फार्मेसी सञ्चालन गरेका छन् । आफैँले फार्मेसी सञ्चालन नगर्ने अस्पतालहरूले पनि निजी क्षेत्रलाई सञ्चालन गर्न निषेध गरेका छन् । तर, प्रसूति अस्पताल थापाथलीले भने न्यायालयको आदेश अवज्ञा गरी निजी क्षेत्रलाई फार्मेसी सञ्चालन गर्ने अनुमति दिएको छ । तत्कालिक मन्त्री खगराज अधिकारीको विशेष निगाहबाट अस्पतालको निर्देशक बनेका डा. जागेश्वर गौतमले के कारणले अदालतको आदेशविपरीत निजी क्षेत्रलाई फार्मेसी सञ्चालन गर्न दिएका हुन् भन्नेबारेमा स्वास्थ्य मन्त्रालयले गम्भीरतापूर्वक बुझिरहेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ ।
प्रतिक्रिया