बुद्धको नाममा सद्भाव भड्काउने षड्यन्त्र

बुद्धको नाममा सद्भाव भड्काउने षड्यन्त्र


Free Tibet
काठमाडौं । सकुन शेरचन्द नामक महिला अध्यक्ष रहेको बुद्धिस्ट जनअधिकार मञ्च नेपाल नामक संस्थामाथि अवैधानिक र शंकारस्पद गतिविधिमा संलग्न रहेको भन्दै प्रशासनले छानबिन तथा कारवाही सुरु गरेको बुझिएको छ । सो संस्थाले बौद्ध समुदायको हक–अधिकारको नाममा क्षेत्रीय र धार्मिक सदभाव भड्काउन करोडौँ खर्च गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले संस्थाको विभिन्न बैंकमा रहेको खातासमेत रोक्का गरी कारबाही थालेको हो । जिप्रका काठमाडौंसम्बद्ध स्रोतका अनुसार सो संस्थाले तिब्बती नागरिकले नेपालमा गरिरहेको स्वतन्त्र तिब्बतको संघर्ष तथा हालको मधेस आन्दोलनका नाममा समेत करोडौँ रुपैयाँ खर्च गरेको छ ।

बुद्धिस्ट जनअधिकार मञ्च नेपालले विधानविपरीत जातीय, क्षेत्रीय र धार्मिक सदभाव भड्काउने कार्य गर्न खोजेकाले दर्तासमेत खारेज हुन सक्ने बताएको छ । बुद्ध दर्शनको रक्षा, विकास र त्यसको सही प्रयोग गर्ने उद्देश्य राखेर संस्था दर्ता गरेको भए पनि भित्री रूपमा जातीय, क्षेत्रीय र धार्मिक साम्प्रदायिकता बढाउने कार्य गरेकोलगायत उक्त संस्थाविरुद्ध प्रशासन कार्यालयमा थुप्रै उजुरी परेको छ । अमेरिकी नागरिक कित लेल्सीसँग विवाह गरेकी सकुन शेरचन्दविरुद्ध संस्थाकै कतिपय सदस्यले स्वतन्त्र तिब्बत आन्दोलनको नेतृत्व गर्दै सामाजिक सदभाव र धार्मिक सहिष्णुतालाई आँच पुर्याएको दाबी गर्दै कारबाही गर्न प्रशासनमा उजुरी दिएका बताइन्छ । प्रारम्भिक अनुसन्धानबाटै लेल्सीले नेपालमा गैरकानुनी रूपमा विभिन्न धन्दा गर्दै आएको पाइएको स्रोत बताउँछ ।

अनुसन्धानका क्रममा विभिन्न बैंकमा रहेका खाताबाट विगतमा करोडौँ रुपैयाँ झिकेर विभिन्न आन्दोलनमा वितरण गरेको पाइएको प्रशासनले जनाएको छ । बताइए अनुसार सो संस्थाको हालै राजविराजमा बसेको बैठकले संस्थाकी अध्यक्ष र महासचिवलाई हाल तराईमा जारी आन्दोलन लगायतका अन्य सबै आन्दोलनलाई सहयोग पुर्याउन एक करोड ५० लाख रुपैयाँ खर्च गर्ने अधिकार दिएको थियो ।

संस्थाले नयाँ संविधानमा आदिवासी जनजातिलाई अधिकार दिलाउन शक्ति उत्पादन गर्ने, नेपालमा बसेर स्वतन्त्र तिब्बतको संघर्ष गर्दै आएकालाई सहयोग गर्ने, आमहडताल, धर्ना, जुलुस निकाल्न सघाउने, आत्मदाहसम्मको कार्यक्रम गर्ने र त्यसका लागि दीर्घरोगी बिरामीलाई तयारी अवस्थामा राख्नेलगायतका कार्ययेजना तय गरेको बुझिएको छ ।