नाकाबन्दीबारे अमेरिकाले मुख खोल्यो

नाकाबन्दीबारे अमेरिकाले मुख खोल्यो


usa-flag-
काठमाडौं । नेपालमा जारी मधेस आन्दोलनका कारण उत्पन्न असहज अवस्थाप्रति संयुक्त राज्य अमेरिकाले चिन्ता ब्यक्त गरेको छ । नेपाल–भारत सीमामा बढ्दो क्रममा रहेको अस्थिर अवस्थाप्रति काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्तिमार्फत् चिन्ता व्यक्त गरेको हो । प्रेस विज्ञप्तिमा नेपालीको जनजीवन जोखिममा रहेको र अस्थिरताका कारण मानवीय सङ्कट आउने सम्भावनाप्रति चिन्ता व्यक्त गरिएको छ ।

गत वैशाखको भूकम्पका कारण प्रभावित क्षेत्रलगायतमा इन्धन, औषधि र खाद्यपदार्थको गम्भीर अभाव सिर्जना भएको भन्दै अमेरिकी दूतावासले सीमामा देखिएको अस्थिर अवस्थाका कारण अन्तर्राष्ट्रिय समुदायले जोखिमयुक्त समुदायमा महत्वपूर्ण राहत तथा आवास सामग्री पु¥याउन नसकेको र जनजीवन जोखिमपूर्ण हुन पुगेको जनाएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, अमेरिकी सरकार सीमामा देखिएको सङ्कट समाधान गर्न हिउँद सुरु हुनु केही साता अगावै सम्बन्धित पक्षलाई आफ्ना प्रयत्न पुनः दोब्बर बनाउन आह्वान गर्दछ ।’

अमेरिकी सरकार नेपाली जनतालाई सहयोग गर्न तयार रहेको उल्लेख गर्दै विज्ञप्तिमा नेपालीका आकाङ्क्षालाई संविधानले समेट्न अर्थपूर्ण राजनीतिक संवादको सकारात्मक वातावरण बनाउने कार्यमा सबैले योगदान गर्नुपर्नेमा अमेरिकाले जोड दिएको छ । नेपाल सरकार, नेपाली जनता आफ्नो लोकतान्त्रिक मार्गमा अगाडि बढिरहेको र वैशाखको भूकम्पपछि पुनःनिर्माणमा जुटेकामा अमेरिकाले उनीहरुलाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।