
रुपन्देही । बेरोजगारी समस्याका कारण मुग्लान पसेका गुल्मीको एक दुर्गम गाउँका युवाहरू गाउँको माया एम्बुलेन्स उपहार दिएर दर्शाएका छन् । सदरमुकाम तम्घासदेखि झण्डै २२ किलोमिटर पश्चिम रहेको पिपलधारा गाविसका युवाहरूको सक्रियतामा गाउँले एम्बुलेन्स पाएको छ । गाउँबाट विभिन्न १५ मुलुकमा रोजगारी तथा अध्ययनका लागि पुगेका युवाहरूको सक्रियातामा गाउँमा एम्बेलेन्स आएको छ ।
हरेक वर्ष गाउँलेहरूले तत्काल उपचार पाउन नसक्दा ज्यान गुमाएको अतीत सम्झिएका ती युवाहरूले आफ्नो खाजा खर्च कटाएर जम्मा गरेको रकमबाट भर्खरै गाउँका लागि उम्बुलेन्स खरिद गरिएको बताएका छन् । पिपलधार चौतारी सम्पर्क समिति विश्व संजाल गुल्मी नाकमा संस्थामार्फत् उनीहरूले विभिन्न देशबाट रकम जम्मा गरी विजयादशामीकै अवसर पारेर एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
पिपलधारमा रहेको स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गर्दै सो संस्थाका महासचिव कृष्ण खनालले अब कुनै पनि गाउँले दाजुभाइ तथा दिदिवहिनीले तत्काल उपचार नपाएर मृत्यु भएको खबर सुन्न नपरोस् भन्ने कामना गरे ।
झण्डै ११ लाखको लागतमा गाउँमा एम्बुलन्स भित्रिएको बताउँदै संस्थाका अध्यक्ष कमल जिसीले आफुहरू परदेशमा रहे पनि गाउँको मायाले सताइरहने भन्दै त्यही मायास्वरुप गाउँका लागि एम्बुलेन्स खरिद गरिएको बताए । गाविसमा एम्बुलेन्सको महसुस गरेर समाजिक संजाल वाट्सफमार्फत गाविसका युवाहरूले यो अभियानमा साथ दिएका हुन् ।
उक्त अभियानमा संजालमार्फत स्वदेशी तथा विदेशी नागरिकहरूले पनि सहयोग प्रदान गरेका थिए । आफुहरूले एक छाक खाएर गाउँका लागि एम्बुलेन्स प्रदान गरेको भन्दै सो संस्थाका एक जना सदस्य रविन महतले एम्बुलेन्सको दुरुपयोग भए परदेशिएका युवाहरूको पाप लाग्ने भएका छन् । पिपलधारा गाविसमा एक कार्यक्रमको अयोजना गरेर उक्त एम्बुलेन्स गुल्मी क्षेत्र न ३ का सांसद गोकर्णराज विष्टको आतिथ्यतामा हस्तान्तरण गरिएको हो । पिपलधारा स्वास्थ्य चौकीका प्रमुख प्रेम खनाल र व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर थापालाई संयुक्त रुपमा एम्बुलेन्सको चाबी हस्तान्तरण गरिएको छ । कार्यक्रममा सांसद विष्टले विदेशीको मुख ताक्नुको सट्टा सबै नागरिक मिलेर पनि पुर्वाधारहरू खडा गर्न सकिने नमुना पिपलधाराका युवाले पेश गरेको बताए ।
युवाहरू मिलेमा पिपलधारा जस्तो विकासका हिसाबले पछि परेको गाविसलाई नमुना गाविसका रुपमा अघि बढाउन सकिने भन्दै सोहि गाविसमा जन्मिएका गृहमन्त्रालयका उपसचिव डा. नारायणबहादुर थापालले गाउँले दाजुभाइहरूको एकताको कामना गरे । संस्थाका अध्यक्ष कृष्ण खनालको अध्यक्षतामा भएको कार्यक्रममा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेल, कांग्रेस उपसभापति भुवनप्रसाद श्रेष्ठ, एमाले सचिवालय सदस्य हिरा एसी, एमाओवादीका निम बहादुर पाण्डेय, राष्ट्रिय जनमोर्चाका हरि न्यौपाने, कोषाध्यक्ष रामप्रसाद घिमिरे, प्रेमसागर विक, असिम महत, विक्रम केसीलगायतले परदेशी युवाहरूको उक्त कार्यको प्रशंसा गरेका थिए ।
– चन्द्रकान्त खनाल
प्रतिक्रिया