कमल थापाले दर्शाए मानवाधिकारप्रति प्रतिबद्धता

कमल थापाले दर्शाए मानवाधिकारप्रति प्रतिबद्धता


Kamal-Thapa-with-UN
काठमाडौं । मानव अधिकारसम्बन्धी दायित्व एवम् प्रतिबद्धताअनुरुप नेपालले मानव अधिकारको प्रवद्र्धन एवम् रक्षा गर्ने दृढता उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले व्यक्त गरेका छन् । मानवअधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्च आयुक्त जेइद राड अल हुसेनसँग जेनेभामा भएको भेटवार्तामा उपप्रधानमन्त्री थापाले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

जनताका आधारभूत स्वतन्त्रता, समानता र न्याय प्रवद्र्धन गर्ने गरी नयाँ संविधानमा व्यवस्था गरिएको जानकारी दिँदै उनले त्यसका विशेषताबारे उच्च आयुक्तलाई अवगत गराए । उनले भने – “नयाँ संविधान लोकतान्त्रिक एवम् समावेशी छ ।”

नेपालको संविधानले परिकल्पना गरेका मानव अधिकारसम्बन्धी विभिन्न संस्थाको क्षमता अभिवृद्धि गर्न राष्ट्रसङ्घीय मानव अधिकार उच्च आयोगको सहयोगको अपेक्षा नेपालले गरेको उनले बताए । उच्च आयुक्त हुसेनले मानव अधिकारसम्बन्धी दोस्रो विश्वव्यापी आवधिक समीक्षामा नेपालको सहभागिताको सराहना गरेको बुझिएको छ । हुसेनले आधारभूत मानव अधिकार, स्वतन्त्रता, समावेशीतालगायत पर्याप्त मानव अधिकारका प्रावधान समावेश गरेर संविधानसभाबाट नयाँ संविधान जारी गरेकामा त्यसको स्वागत गरे ।