
रुपन्देही । औषधी खाद्यान्न लगायत अत्यावश्यक सामाग्रीको आपूर्तिमा भइरहेको अवरोधले नागरिकको अधिकार हनन भएको भन्दै ए एमनेष्टी इन्टरनेशलन नेपालले चिन्ता व्यक्त गरेको छ । एमनेष्टी इन्टरनेशलन नेपालको बुटवलमा सम्पन्न साधारणसभाले आपूर्ति ब्यवस्थापनका लागि तत्काल पहल गर्न सरकारसँग माग गर्दै त्यसका लागि छिमेकी भारत लगायतका मुलुकहरुसँग सहयोगको आह्वान पनि गरेको छ ।
यही कात्तिक १९ देखि २१ गतेसम्म बुटवलमा एमनेष्टी इन्टरनेशनल नेपालको २४ औं वार्षिक साधारणसभा (परिषद बैठक) भएको थियो । परिषद बैठक समापनपछि शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सुर्यबहादुर अधिकारीले नेपालमा विद्यमान दण्डहीनता अन्त्यका लागि विशेष प्रस्ताव पारित गरेको बताए ।
गम्भीर प्रकृतिका मानवअधिकार उल्लङ्घन र ज्यादतीमा संलग्न जो–कोहिलाई पनि अविलम्ब न्यायिक कारवाहीको प्रकृयामा ल्याउन, यस्ता आरोपमा मुद्धा चलाइएकाहरुको सम्बन्धमा अदालतका आदेशहरुको पालना गर्न र अन्तर्राष्ट्रिय कानुनले अपराध भनी किटान गरेका घटनाका दोषीहरुको मुद्धा फिर्ता र सजाय माफी नगरिने सुनिश्चितता गर्दै पीडित र तिनका परिवारलाई न्याय र परिपुरणको ब्यवस्था गर्न नेपाल सरकार र राजनीतिक दलहरुसँग आग्रह गरिएको महासचिव करुण खनालले जानकारी गराएका हुन् ।
सधारणसभाले दण्डहीनता अन्त्यका लागि तत्काल कदम चाल्न प्रस्ताव पारित गर्दै सरकारलाई आह्वान गरेको छ । हत्या, अपहरण, यातना, वेपत्ता पार्ने कार्य तथा यौनजन्य ज्यादती जस्ता गम्भीर अपराधका घटनाका दोषीलाई कानुनी कारवाही र पीडितलाई न्याय सुनिश्चित गर्नु अनिवार्य भएको भन्दै नेपालमा त्यस अनुरुपका कामहरु हुन नसकेको पनि साधारण सभाले निश्कर्ष निकालेको छ । त्यस्तै द्वन्द्वकालमा भएका मानव अधिकार हननका एउटा पनि घटनामा अदालतका आदेशका बाबजुद कसैलाई सजाय नगरिनुले दण्डहीनताको अवस्था रहेको निश्कर्ष निकालिएको पनि पत्रकार सम्मेलनमा बताइयो ।
तीन दिनसम्म चलेको साधारण सभाले बैदेशिक रोजगारीमा जाने नेपाली आप्रवाशी श्रमिकहरु उपर भइरहेको शोषण, जवरजस्ती श्रम र मानव बेचविखन रोक्नका लागि बैदेशिक रोजगार ऐन २०६४ लगायतका कानुनहरु कार्यान्वयन र सरकारी संयन्त्रहरुको प्रभावकारी परिचालन गर्न पनि सरकारलाई आग्रह गरेको छ । एमनेष्टी इन्टरनेशलन नेपाल राष्ट्रिय कार्यसमितिका पदाधिकारीहरुले राजिनामा गरेपछि रिक्त रहेको उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र महिलासहित ३ सदस्य पदमा भएको रिक्तताको पनि परिषद बैठकबाट पूर्णता दिइएको छ । जसमा उपाध्यक्षमा ध्रुव राय, महासचिवमा करुण खनाल, कोषाध्यक्षमा हिरा शर्मा नेपाल, महिला सदस्यमा लक्ष्मी तिवारी र दुई खुला सदस्यमा पदमसुन्दर लामिछाने र धनप्रसाद रेग्मी निर्वाचित भएका थिए ।
– चन्द्रकान्त खनाल
प्रतिक्रिया