धनगढीमा ‘रामलीला’को तयारी

धनगढीमा ‘रामलीला’को तयारी


रामलीला
काठमाडौं । संस्कृतिलाई संरक्षण गर्न र भगवान रामको जीवन–चक्रलाई अहिलेका पिँढीमा जानकारी गराउने उद्देश्यका साथ धनपा–३ बोराडाँडीमा रामलीला ज्ञान महोत्सव सञ्चालन हुने भएको छ । नवज्योति सामुदायिक अध्ययन केन्द्र धनगढीको आयोजनामा यही कार्तिक ३० गतेदेखि १५ दिन सम्मका लागि सञ्चालन हुने उक्त रामलीला ज्ञान महोत्सवको तयारी अन्तिम चरणमा रहेको रामलीला ज्ञान महोत्सव मूल आयोजक समिति संयोजक खेमराज भट्टले जानकारी दिए ।

महोत्सव सञ्चालन गर्नका निमिक्त आवश्यक पर्ने सम्पूर्ण पात्रहरु तयार भई रामलीला ज्ञान महोत्सव सभ्य रुपमा सञ्चालन गर्नका निमिक्त चारवटा उपसमिति समेत गठन गरिएको छ । जसमा आर्थिक मण्डल, सुरक्षा र प्रचार, प्रसार समिति रहेका छन् । भगवान रामले देखाएको सत्यको बाटो अविलम्बन गर्न अहिलेका युवा पिँढीहरुको ध्यान केन्द्रित गर्न र संस्कृतिको जगेर्ना गरी अबका पिढीलाई पनि आफ्नो संस्कृति नबिर्सिउन भन्नका निमिक्त रामलीला ज्ञान महोत्सव सञ्चालन गरिएको नवज्योति सामुदायिक अध्ययन केन्द्र धनगढीका अध्यक्ष बिष्णुप्रसाद जोशीले जानकारी दिए ।

उनले पछिल्ला पिँढीहरुमा रामको चित्रण र आफ्नो संस्कृति बचाउने अभियान लोप हुँदै गएको हुँदा धनपा–३ बोराडाँडीस्थित मोडर्न सेकेन्डरी इङलिस स्कुलमा लाग्ने उक्त रामलीला ज्ञान महोत्सवले युवाहरुलाई संस्कृति बचाउनका निमिक्त बल पुग्ने धारणा व्यक्त गरे । रामलीला ज्ञान महोत्सव कार्तिक ३० गतेदेखि प्रत्येक दिन साँझ ६ बजेदेखि राती १० बजे सम्म सञ्चालन हुने मूल आयोजक समितिले जानकारी दिएको छ ।

यस्तै रामलीला ज्ञान महोत्सव अवलोकन गर्नका निमित्त समितिले सम्पूर्ण नगरवासीहरुलाई आग्रह गर्नुका साथै सहयोगको अपेक्षा समेत राखेको मूल आयोजक समितिका अध्यक्ष भट्टले बताए । रामलीला ज्ञान महोत्सवमा आउने सम्पूर्ण दर्शकहरुलाई उचित सुरक्षाको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय कैलालीसँग पनि समन्वय भइसकेको जनाइएको छ । धनपा–३ बोराडाँडीमा यस अघि पनि नवज्योति सामुदायिक अध्ययन केन्द्रको पहलमा रामलीला ज्ञान महोत्सव सञ्चालन भएको थियो ।