सैनिक श्रीमती संघको ३२ औं वार्षिकोत्सव

सैनिक श्रीमती संघको ३२ औं वार्षिकोत्सव


काठमाडों । प्रधानसेनापति राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा सैनिक श्रीमती संघको ३२ औं वार्षिकोत्सव कार्यक्रम त्रिभुवन आर्मी अफिसर्स क्लबस्थित सभामण्डप हलमा एक विशेष समारोहबीच सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रधानसेनापति क्षत्रीद्वारा सैनिक श्रीमती संघको मुखपत्र ‘सेवा सुमन’ ३२ औं अंकको विमोचन, बहालवाला तथा भु.पू. सैनिकका जेहेन्दार, अपांग तथा असहाय बालबालिकाहरुलाई छात्रवृत्ति वितरण, विविध गतिविधिहरुको अवलोकनका साथै उक्त कार्यक्रमलाई सम्बोधन समेत गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानसेनापति क्षत्रीले सैनिक श्रीमती संघले सामाजिक सेवालाई केन्द्रविन्दु बनाएर स्थापनाकालदेखि नै विविध सामाजिक र मानविय सेवामुलक कार्यहरु (सैनिक परिवारका सदस्यहरुको शैक्षिकस्तर अभिबृद्धि, आयमुलक सीप विकास, वीरगति प्राप्त सैनिक व्यक्तिहरुको परिवारलाई सहयोग, अपांग तथा असहायहरुलाई सहयोग एवं बाढीपहिरो जस्ता विविध प्राकृतिक विपत्तिमा तत्काल राहतलगायत विविध किसिमका सहयोगात्मक कार्यहरु आदि) गर्दै आएको कुराको प्रशंसा गर्नुभएको थियो । यस्तै, उहाँले वार्षिक मुखपत्र ‘सेवा सुमन’ का उत्कृष्ट लेख रचनाका रचनाकारहरु तथा मुखपत्र प्रकाशनार्थ सहयोग पु¥याउनु हुने महानुभावहरुलाई प्रमाणपत्र तथा पुरस्कार समेत वितरण गर्नुभएको थियो ।

कार्यक्रमको शुभारम्भमा प्रधानसेनापति क्षत्रीले सैनिक श्रीमती संघको प्रांगणमा नयां निर्माण भएको विन्ध्यवासिनी भगवती मन्दिरको विधिपूर्वक समुद्घाटन गर्नुभएको थियो भने सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती रीता क्षत्रीले संघको ३२ औं बार्षिकोत्सवको अवसरमा विधिपूर्वक पूजा अर्चना गर्नुभई झण्डोत्तोलन गर्नु भएको थियो ।