काठमाडौं । असुरक्षित गर्भपतनले प्रेमिकाको मृत्यु भएपछि प्रहरीले प्रेमी र गर्भपतनको औषधि विक्रेताविरुद्ध मुद्दा दर्ता गरेर कारबाही थालेको छ । घटना खोटाङको हो । असुरक्षित गर्भपतनले खोटाङ बुइपा–४ की १५ वर्षीया सुनिता राईको मृत्यु भएपछि उनका प्रेमी खोटाङ मङ्गलटार–९ का १९ वर्षीय दीपेन्द्र राई र हलेसीमा औषधि पसल सञ्चालन गर्दै आएका गइन्द्रकुमार राईविरुद्ध प्रहरीले कर्तव्य ज्यानअन्तर्गतको मुद्दा दर्ता गरेर कारबाही थालेको राससले जनाएको छ ।
बताइएअनुसार औषधि सेवन गरी गत साउनमा असुरक्षित तरिकाले गर्भपतन गराएकी सुनिताको चार महिनापछि कात्तिक–२० गते मृत्यु भएपछि उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर कारबाही थालिएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीका अनुसार दीपेन्द्रसँगको प्रेम सम्बन्धपछि रहेको गर्भपतन गराउने क्रममा अधिक रक्तस्राव भएकाले सुनिताको मृत्यु भएको चिकित्सकहरूले पुष्टि गरेका छन् । सोहीअनुसार सुनिताका आफन्तले दिएको जाहेरीका आधारमा दुवैजना विरुद्ध कर्तव्य ज्यानअन्तर्गतको मुद्दा दर्ता गरेर कारबाही थालिएको हो ।
निजी औषधि पसलबाट गर्भ पतनको औषधि खरिद गरेर सेवन गरी गर्भपतन गराएकी सुनिताको अधिक रक्तस्रावका कारण दुवै मिर्गौला काम नलाग्ने भएपछि मृत्यु भएको चिकित्सकको भनाइ छ । करिब तीन महिनाको गर्भ तुहाउन दुवैजनाको सहमतिमा असुरक्षित तवरले निजी क्लिनिकबाट औषधि खरिद गरेर सेवन गरेपछि अधिक रक्तस्राव भएको र रक्तस्रावकै कारण सुनिताको मृत्यु भएको बुझिएको प्रहरीले जनाएको छ । गर्भपतनपछि गत साउन ३२ गते जिल्ला अस्पताल खोटाङमा भर्ना भएकी सुनिताको अधिक रक्तस्रावका कारण जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौँ ल्याइएको थियो । शिक्षण अस्पतालमा उपचार गराएर फर्किएकी सुनिताको दीपेन्द्रसँगको प्रेम सम्बन्धलाई विवाहका लागि कानुनी रूप दिन जिल्ला प्रहरी कार्यालय खोटाङ आउँदै गरेको अवस्थामा सदरमुकाम दिक्तेलस्थित एक होटलमा मृत्यु भएको हो ।
प्रतिक्रिया