काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइराला उपचारका लागि अमेरिकाको पुगेका छन् । आइतबार अमेरिका पुगेका कोइरालालाई नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाली जनसम्पर्क समितिका कार्यकर्ता तथा राष्ट्रसङ्घीय नेपाली नियोगका कर्मचारीहरुले जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभापति कोइरालाले भारतले नेपालमाथि गरिरहेको अघोषित नाकाबन्दी गलत र अन्तर्राष्ट्रिय कानुन विपरीत रहेको बताउँदै समस्यालाई कूटनीतिक पहलमा समाधान गर्नुपर्ने धारणा अघि सारे । प्रधानमन्त्री पदको उम्मेदवारीको विषयमा प्रस्ट पार्दै सभापति कोइरालाले आफूले कसैको दबाब र करकापमा नभई पार्टीको निर्णयअनुसार उम्मेदवारी दिएको दाबी गरे । सार्वभौम देशको सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टीले लिएका कैयन निर्णयहरू वर्तमानमा नराम्रा देखिए पनि दीर्घकालीन रूपमा यिनै निर्णयहरू सही र दूरगामी प्रभाव पार्ने देखिएका उनको भनाई थियो ।
क्यान्सरपीडित कोइरालाको मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उपचार सुरु हुने र यसपश्चात् राष्ट्रसङ्घका महासचिव वान कि मुन तथा अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुलाई समेत भेट्ने कार्यक्रम रहेको बुझिएको छ ।
प्रतिक्रिया