काठमाडौं । सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सोमबार दिउँसो हुने भनिएको वार्ता अन्तिम समयमा आएर स्थगन भएको छ । सरकारले आफ्ना नेता तथा कार्यकर्ता नियन्त्रणमा राखेकाले उनीहरुलाई रिहा नगरी वार्तामा बस्न नसकिने तर्क मोर्चाका नेताहरुले गरेपछि वार्ता स्थगित भएको हो । मोर्चाले आइतबार सप्तरीको भारदह र रुपनीमा पूर्वपश्चिम राजमार्ग खुलाउने क्रममा आफ्ना नेता तथा कार्यकर्ता पक्राउ परेको बताउँदै वार्तामा बस्न अप्ठ्यारो परेको जनाएको बुझिएको छ ।
तराई–मधेसमा देखिएको समस्याका कारण दैनिक जनजीवन प्रभावित भएको र इन्धनलगायत दैनिक अत्यावश्यकीय वस्तुको आयात समेत प्रभावित भएकाले आजको वार्तामार्फत समस्याको समाधान गर्न पहल गर्ने विश्वास लिइएको थियो ।
वार्ता टोलीका प्रमुख तथा उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले आइतबार नै ट्वीट गरेर सोमबार १ बजे मधेसी मोर्चासँग वार्ता हुने जानकारी दिएका थिए । तर, सामान्य प्रशासनमन्त्री एवम् वार्ता कमिटीका एक सदस्य रेखा शर्माले सरकार र मोर्चाबीच अपराह्न १ बजे वार्ता हुने तय भए पनि अन्तिम समयमा आएर स्थगन भएको जानकारी दिइन् ।
ज्ञातव्य छ, नाकाबन्दीलाई आन्दोलनको हतियार बनाउँदै आएको मधेसी मोर्चाले संसदलाई समेत आफ्नो माग पूरा गराउन हतियार बनाउने रणनीति लिएको छ । मधेसी सांसदहरुद्वारा सदनको क्रियाकलाप अवरुद्ध पारिँदै आएको छ ।
प्रतिक्रिया