
काठमाडौं । कतै तपाईंले विगतमा जस्तै सार्वजनिक स्थानमा निर्धक्कसँग चुरोट, खैनी खाँदै हुनुहुन्छ भने तयार रहनुस् ! तपाईंलाई नेपाल प्रहरीका विशेष टोलीले धुम्रपान र लागु औषधले समाज र परिवारमा परेको असरबारे काउन्सिलिङ गर्ने छन् । पहिलो पटक काउन्सिलिङ, त्यसपछि कानुनबमोजिम कारवाही ! महानगरीय प्रहरी परिसर काठमाडौंले पहिलो पटक २४ गते मंगलबारदेखि धुम्रपान र लागुऔषधका साथै विभिन्न चेतनामुलक कार्यक्रमका लागि दुई सय मोटरसाइकलसवार प्रहरी खटाएको छ ।
परिसर प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक विक्रमसिंह थापाले एक विशेष समारोहबीच कार्यक्रमबारे जानकारी दिँदै मोटरसाइकलमा ड्यूटी गर्ने QRT टिमलाई परिसर प्रांगणबाट बिदाई गरे । टोलीले शहरका गल्ली–गल्लीमा विशेष गस्ती र निगरानी गर्दै सानाभन्दा साना अपराध नियन्त्रण गर्न उल्लेख्य भूमिका निर्वाह गर्ने उनले बताए । कुनै पनि लागुऔषध सेवनकर्ताको शुरुवात सुर्तीजन्य पदार्थबाट हुने भएकोले त्यसलाई नियन्त्रण गर्न सरोकारवालालाई समेत सहभागिता गराइने एसएसपी थापाको भनाई छ । चाडवाडका बेला हुन सक्ने साना–ठूला सबैखाले अपराधलाई नियन्त्रण गर्न सबै मातहतलाई निर्देशन दिएको बताउँदै एसएसपी थापाले तिहारमा १० बजेसम्म प्रशासनको अनुमति लिएर मात्र देउसीभैलो खेल्न पाउने कुरा समेत बताए ।
साना, ठूला व्यक्ति वा सांगठनिक रुपबाट खेलाइने वा खेलिन सबै जुवा निषेध गरेको बताउँदै परिसर प्रमुख थापाले त्यस्ता जुवाका अखडाहरुलाई निगरानीमा राखेको समेत बताए । काठमाडौं परिसरमातहतका प्रायः सबै प्रमुखहरुको उपस्थिति रहेको QRT टोलीलाई जिम्मेवारी वहन कार्यमा खटाउने कार्यक्रममा चाडवाडमा विभिन्न खानेकुरामा अखाद्य वस्तु मिलाउने व्यापारीलाई समेत कार्वाही गरिने भएको छ । दशैंको सुरक्षा योजना सन्तोषजनक भएको र अन्य चाडवाडमा समेत घट्न सक्ने घटनालाई मध्यनजर राख्दै एकीकृत सुरक्षा योजना ल्याइएको उक्त कार्यक्रममा जानकारी गराइएको थियो ।
परिचालित QRT लगायत मातहतका सबै यूनिटले मंगलबारदेखि नै धुम्रपान र लागुऔषधविरोधी अभियान सुरु गरेका छन् । शहरका भित्री गल्तीका एकान्त ठाँउहरुमा यूवायूवती लागुऔषधको नसामा लठ्ठीने गरेको गुनासोको आधारमा चेतनामूलक अभियान संचालनमा ल्याइएको कुरा समेत परिसर प्रमुख थापाले बताए । विगतमा पनि यस्ता योजना ल्याइने र तुहिने गरेको जिज्ञासामा प्रमुख थापाले ति सबै अनुभवलाई संगालेर योजना ल्याइएकोले अब त्यस्तो नहुने बताए ।
QRT
प्रतिक्रिया