
काठमाडौं । उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले ऊर्जाको दीर्घकालीन सङ्कट समाधानका लागि सरकारले अब छिट्टै सौर्य ऊर्जा तथा स–साना लघु जलविद्युत् आयोजनालाई पनि प्राथमिकता दिने बताएका छन् । मुलुकलाई आगामी एक वर्षभित्र विद्युत्भार कटौती मुक्त बनाउन वर्तमान सरकारले पहल सुरु गरेको जनाउँदै उनले ऊर्जा सङ्कटका लागि सरकारले चीन तथा अन्य छिमेकी मुलुकसँग नतिजा देखिने गरी छलफल गरिरहेको दाबी गरे ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा आयोजित दीपावली तथा छठको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री रायमाझीले राष्ट्रिय गौरबका ठूला जलविद्युत् परियोजनालाई हस्तक्षेपमुक्त गराई निर्माणमा तीव्रता दिइने जानकारी दिए । केही महिनाअघि आएको विनाशकारी भूकम्पबाट आक्रान्त बनेका नेपालीलाई संविधान घोषणालगत्तै छिमेकीबाट भएको अघोषित नाकाबन्दीले चौतर्फी सङ्कटमा पारेको उल्लेख गर्दै उनले यस्तो जटिल अवस्थामा पनि सबै नेपाली एकजुट भई राष्ट्रियताप्रति अडिग भएकामा आफू गौरवान्वित भएको बताए ।
ऊर्जा उत्पादनका क्षेत्रमा सरकार विशेष संवेदनशील रहेकोले देशलाई एक वर्षभित्र विद्युत्भार कटौतीमुक्त गराउन पहल भइरहेको खुलासा गर्दै उपप्रधानमन्त्री रायमाझीले अब चीनका सबै नाका खोल्दै एकपक्षीय सिण्डिकेट तोडिने दाबी गरे।
प्रतिक्रिया