प्रधानसेनापति र अमेरिकी राजदूतद्वारा तालिम निरीक्षण

प्रधानसेनापति र अमेरिकी राजदूतद्वारा तालिम निरीक्षण


sena 1
काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्री र अमेरिकी राजदूत अलाइना बी. तप्लेजले नेपाली सेना र अमेरिकी सेनाबीच तालिम शिविर नगरकोट इलाकामा सञ्चालन भइरहेको ब्यालेन्स नेल १६–०१ तालिमको संयुक्त रूपमा निरीक्षण गर्नुभएको छ । सोमबार गरिएको निरीक्षणको क्रममा प्रधानसेनापति क्षत्री र राजदुत तप्लेजलाई रेन्जर (महावीर) गणका गणपति प्रमुख सेनानी सुवास थापाले ब्यालेन्स नेल तालिमको उपयोगितासम्बन्धी प्रस्तुतीकरणसहित जानकारी गराउनुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । प्रधानसेनापति र राजदूतले तालिम टोलीद्वारा प्रस्तुत रोचक तथा ज्ञानवद्र्धक डेमोष्ट्रेसनको अवलोकन गरी तालिममा सहभागी टिमलाई सम्बोधन गर्नुभएको समेत सेनाले जनाएको छ ।

सो क्रममा प्रधानसेनापति क्षत्री र राजदुत तप्लेजले मित्रताको प्रतिकको रूपमा तालिम शिविर नगरकोटमा बृक्षारोपण गर्नुभएको थियो । गत कात्तिक १६ देखि नेपाली सेनाको विशेष तालिमप्राप्त छाउनीस्थित महावीर गण (रेञ्जर) र अमेरिकी सेनाका स्पेसल फोर्सको ‘ए’ कम्पनी, फस्र्ट बटालियन, फस्र्ट एसएफजी (ए) ग्रुपबीच विभिन्न चरणमा पूरा हुने गरी ब्यालेन्स नेल १६–०१ तालिम सञ्चालन भइरहेको छ । करिव एक महिनासम्म सञ्चालन हुने यस तालिममा ट्याक्टिकल कम्ब्याट क्याजल्टी केयर, लङरेन्ज मार्कस्म्यानसीप, सीओबी, डेमोलिसन, कम्बाइन्ड कल्मिनेसन एक्सरसाइजलगायत बिषयहरू समावेस गरिएको बताइएको छ ।

अमेरिका र नेपाल दुई मित्रदेशबीचका सैनिकहरू सहभागी भई सञ्चालन भएको यस किसिमको संयुक्त तालिम तथा अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरूको आदानप्रदान गर्न सहयोग पुग्नुको साथै नेपाली सेनाको अन्य सैनिक संगठनहरुसंग सहकार्य गरी सैनिक कारवाही संचालन गर्न सक्ने क्षमतालाई समेत अभिबृद्धि गर्न विशेष सहयोग पुग्न जाने सेनाको विश्वास छ । संयुक्त तालिम÷अभ्यासबाट दुई देशबीचको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवं सौहाद्र्ध बनाउन सहयोग पुग्ने विश्वास पनि नेपाली सेनाले लिएको छ ।