
:: सानुबाबु सिलवाल
‘अचानोको पिर खुकुरीले जान्दैन’ भनेजस्तै सोचेजस्तो र भनेजस्तो कहाँ छ र अमेरिकी जीवनशैली ? वास्तवमा अमेरिकी जीवन जति बुझ्यो उत्ति कठिन छ । सपना, चाहना, इच्छा, आकाङ्क्षासँगै पाइलैपिच्छे थुप्रै खुड्किला छन् । ती खुड्किला असहज नै नभए पनि त्यति सहज भने छैनन् । अमेरिकाको जीवन वा जीवनशैली ब्याजैब्याज र बिल भुक्तानीमै बित्ने गर्छ । ब्याजैब्याज र बिल भुक्तानीको खुड्किलाबीच लामो नदीजस्तै जीवनशैली चलिरहेको हुन्छ । बिल र ब्याजको संयोजन बडो अचम्मको छ । अमेरिकामा आइतबार एक दिनबाहेक सोमबारदेखि शनिबारसम्म आफ्नो मेलबक्समा आइरहने बिल, जीवनशैलीका आवश्यकता, चाहना र परिवेशलाई सहजीकरणका लागि अत्यावश्यक र सौखिन वस्तुहरूको उपभोग गर्दा लिइएका क्रेडिट कार्ड, गाडी, घर, सामानहरू, बिमा, जग्गा, सम्पत्ति, व्यवसाय आदिको सेवा–सुविधा प्रयोग तथा उपभोग गरेबापत आफ्नो नाममा नामकरण भएपछि वा लेनदेन गर्दा लिइएका सापटी र ऋणबापतको ब्याज तिर्दातिर्दै अमेरिकामा जीवनको इहलीला समाप्त हुने गर्दछ ।
‘श्रम गर, कर तिर, सुविधा लेऊ र कानुनको पालना गर’– यो नै अमेरिकामा बुझ्नुपर्ने मुख्य चुरो न्यूनतम आधार हो । मुख्यत: अमेरिकामा बस्नका लागि घरभाडा वा घर किनेपछि बैंक वा वित्तीय संस्थालाई बुझाउनुपर्ने मासिक मोर्गेज, तिर्नुपर्ने विविध कर, बिमा, खाना, यातायात, बच्चाको हेरचाह तथा सौखिन वस्तुहरूको उपयोग आदि नै मुख्य खर्च हुने ठाउँ हुन् । साथसाथै मेडिकल तथा अस्पतालको बिल अर्को महँगो पर्छ अमेरिकामा । टेलिफोन, बिमा, बिजुली, पानी, फोहोर व्यवस्थापन, गाडी, घरभाडा तथा शुल्क, क्रेडिट कार्ड, बैंकको शुल्क, मासिक एवम् वार्षिक कर, विभिन्न सपिङ केन्द्रहरूको सहुलियत तथा सदस्यता शुल्क, अस्पतालको खर्च, खरिद गर्दा ब्याजमा लिइएका सामानहरूको मासिक, अर्धमासिक वा साप्ताहिक शुल्क आदि नै मुख्य खर्चका बिलहरू हुन्, जुन आइतबारबाहेक हरेक दिन मेलबक्समा आइपुग्छन् । जसमा रकम तिर्नुपर्ने अन्तिम दिन तोकिएको हुन्छ । तोकिएको दिनमा नतिरे ढिलासुस्तीबापतको जरिवाना लगाउँछ । त्यसभित्र पनि नतिरे सेवा नै बन्द गरिदिन्छ । सेवा बन्द भएपछि पनि नतिरे क्रेडिट इतिहास हुन्छ, क्रेडिट मापन तथा निगरानी गर्ने तीनवटा निकायलाई खराब रिपोर्टिङ पठाइदिन्छ र त्यसपछि पनि नतिरे कलेक्सन डिपार्टमेन्टमा पठाइदिन्छ । त्यस डिपार्टमेन्टले तिर्नका लागि मौका दिन्छ । त्यो मौका गुमाएमा वा अटेर गरेमा डिपार्टमेन्टका मानिसहरू आएर लिनुपर्ने रकमबराबरको जायजेथा लैजान्छन् ।
त्यसैगरी बैंकहरूले गाडी भए गाडी लगिदिने, घर भए घर लिलामीमा बेचिदिने गर्छन् । अन्य कम्पनी वा अस्पतालको बिल भए कुनै किसिमले पनि उठ्न नसकेको रकम जीवनको कुनै बेला पनि यदि कुनै हिसाबले आम्दानी गरेको खण्डमा त्यसबाट असुल गरिछाड्छन् । सरकारी कर तिर्नुपर्नेछ भने पटक–पटकको ताकेता अटेर गरेमा बैंकबाटै पैसा तानिदिन्छ वा बैंक खाता छैन भने कर विभागले घरमै आई जायजेथा उठाइदिन्छ । सेवा–सुविधा लिएपछि तिर्नुपर्ने भुक्तानी समयमै नतिर्दा अमेरिकी जीवनमा ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ । भविष्यमा अन्य लाभ लिन खोज्दा, ऋण वा सापटी लिन खोज्दा, गाडी वा घर आदि खरिद गर्न खोज्दा, क्रेडिट कार्ड वा सहुलियत कार्डहरू लिन खोज्दा सबैमा निषेध हुन्छ । ती सुविधाका लागि निवेदन दिँदा नै विगतको बिल भुक्तानी, ऋण वा सापटी नतिरेको, ढिला बुझाएको, बुझाउँदै नबुझाएको जस्ता सबै फेहरिस्त सोसियल सेक्युरिटी नम्बर, ड्राइभर लाइसेन्स नम्बर, ठेगाना वा जन्ममिति टाइप गरेपछि ती कम्पनी, संस्था वा निकायले सबै कुरा कम्प्युटरका सिक्रनमै हेर्न सक्छन् । त्यसबाटै ती सुविधा प्राप्त गर्न सक्ने वा नसक्ने भन्ने थाहा हुन्छ ।
अमेरिकामा सरकारी वा अन्य कुनै पनि निकायले तपाईं के बोल्नुहुन्छ वा के भन्नुहुन्छ भन्ने कुराको मतलब राख्दैन । तपाईंसँग भएका कागजात, तपाईंको इतिहास, तपाईंको इमानदारिता र व्यवहार कागजले बोल्दछ । र, अमेरिकी प्रणाली त्यसैमा विश्वास राख्दछ । क्रेडिट कार्डको ब्याज वार्षिक २४ देखि ३० प्रतिशतसम्म पर्न सक्छ । घरको ब्याज विगतको आर्थिक भुक्तानीको इतिहास हेरेर २५ प्रतिशतभन्दा बढीसम्म पर्न सक्छ । गाडीको पनि ब्याज त्यस्तै पर्न आउँछ । बैंक तथा फाइनान्स कम्पनीले त अधिकतम ४० प्रतिशतसम्म र समयमै तिर्न नसके ब्याजमाथि ब्याज थप्दै जाँदा मानिसको जीवनमा आर्थिक अस्तव्यस्तता सुरु हुन्छ । आम्दानी र कर, ब्याज र नियमित भुक्तानी आदि नै अमेरिकाको अत्यन्त कठिन र महँगो जीवनशैलीलाई सफल वा असफल बनाउने तत्त्व हुन् । त्यसैले आफ्नो घाँटी हेरी हाड निल्नुपर्छ । कमाइअनुसार उपभोग गर्न, आफ्ना इच्छालाई व्यवस्थित र नियन्त्रित गर्नुपर्ने हुन्छ । कमाउनै नसकिने, तिर्नै नसकिने र आँट्नै नसकिने अवस्थालाई अस्वीकार नगरे जीवन अस्तव्यस्त हुन सक्छ । एकपटक असफल भएपछिको परिणामले मानिसको चिन्तन, सोचाइ, शक्ति र क्षमतामा क्षय हुन सक्छ । सेवा र वस्तु उपभोग गरेपछि समयमै तिर्नुपर्छ । नतिरे त्यहीँबाट खस्किने क्रम सुरु हुन्छ । सेवा र वस्तु प्रयोगका लागि अमेरिका जति सहज छ, क्षति पनि उत्तिकै डरलाग्दा छन् । मानौँ, गाडी किन्दा, ऋण लिँदा, घर खरिद गर्दा अन्य वस्तुहरूको मासिक, अर्धमासिक वा साप्ताहिक इन्स्टलमेन्ट भुक्तानी गर्दा वस्तुको यथार्थ मूल्यभन्दा धेरै माथि पुर्याउँछ, ब्याज र समयमै भुक्तानी नगर्दाको जरिवानाहरूले ।
खरिद गर्दाकै समयमा तिर्दा भुक्तानी जति सस्तो पर्दछ, क्रमश: तिर्दै जाने र सुविधा पनि उपभोग गर्दा लाग्ने ब्याज र अन्य शुल्क बुझाउँदा भुक्तानी गर्न सहज त हुने भयो, तत्कालका लागि सुविधा प्रयोग वा उपभोग गर्न तपाईं यो तर त्यसबापत ती निकाय वा संस्थाहरूले लगाउने ब्याज र शुल्कचाहिँ अत्यन्त चर्का हुन्छन्न् अमेरिकामा बिलहरू आफ्ना नाममा नभएसम्म घर, गाडी, एपार्टमेन्ट, क्रेडिट कार्ड वा अन्य ऋणका सुविधाहरू नलिएसम्म तपाईंको क्रेडिट बढ्दैन । क्रेडिट नबढेसम्म ती सुविधा उपभोग गर्ने वा कम ब्याजदरमा ती सुविधाहरू उपभोग गर्न पाउने मौका गुम्दछ र अवसरको अन्त्य हुन्छ । ती संस्था वा निकायहरूले तपाईंका कम्तीमा तीनवर्षे इतिहास हेर्दछन् । यदि तीन वर्षसम्म तपाईंले समयमै भुक्तानी गर्नुभएको छ भने त्यहिँबाट सुरु हुन्छ तपाईंको क्रेडिट इतिहास बन्ने र वृद्धि हुने क्रम । सामान्यतया ६ देखि माथिको क्रेडिट भएकाहरू क्रमश: सुविधा प्राप्त गर्न सक्ने र ७ वा ८ भन्दा बढी हुँदा ब्याजदर कम हुने र चाँडो विश्वास गर्ने हुन्छ । यदि कम क्रेडिट छ र भर्खरै सुरु गरिएको अवस्था छ भने तपाईंलाई क्रेडिट राम्रा भएका आफन्तहरूलाई जमानी राखेर ती सुविधाहरू उपभोग गर्ने अवसर प्राप्त हुन्छ । यदि तपाईंले अरू नै जमानी बसिदिएर सुविधा लिनुभयो तर समय–समयमा ब्याज र साँवा तिर्न सक्नुभएन भने तपाईंको क्रेडिट इतिहास त ध्वस्त हुन्छ नै, तपाईंका लागि जमानी बसिदिनेको पनि क्रेडिट ध्वस्त हुन्छ । त्यसैले अमेरिकामा जमानी बसिदिने मानिस पाउनै गाह्रो हुन्छ र हरपल विश्वास गरिँदैन । आफ्नै विश्वासिला साथीभाइ र आफन्त भए मात्रै अन्यथा जो पायो उसैले जमानी बस्दैनन् ।
अमेरिकामा आम्दानी
व्यवहार र अवस्थालाई व्यवस्थित गर्न सके जीवनशैली केही हदसम्म सहज हुन सक्छ । कति कमाइ हुन्छ, कति रकम कर तिरिन्छ, आम्दानी कति हुन्छ भन्ने कुरा सरकारलाई कर बुझाउँदा र दाखिला गर्दा पारदर्शी रूपमा देख्न सकिन्छ । कसैले नगदमा गरेको श्रम वा कारोबारबाहेक कानुनसम्मत रकम करमा दाखिला गरेपछि मात्रै आम्दानी कानुनी रूपमा सनाखत हुन्छ । अन्यथा दुई हजारभन्दा बढी नगद भेटियो र कानुनसम्मत कमाएको प्रमाण बुझाउन सकिएन भने कानुनको चौघेरामा परिनेछ र कारबाही भोग्नुपर्ने हुन्छ । अमेरिकामा ब्याज र बिलको भुक्तानीमै आम्दानीको मुख्य अंश चोइटिन्छ । आम्दानीको मुख्य ठूलो हिस्सा बिल र ब्याज तिर्दैमा ठिक्क हुने भएकाले अमेरिकामा हरेक पाँचजनामा एकजनाले आम्दानी पनि गर्दैनन् र ब्याज बिल पनि तिर्दैनन् । हरेक १० जनामा एकजनाले कर दाखिला पनि गर्दैनन्न् । अमेरिकी उपभोक्ता आर्थिक संरक्षण ब्युरोका अनुसार, प्रत्येक पाँचजना अमेरिकीमा एकजनाले मेडिकल बिल तिर्न सक्तैनन् ।
अमेरिकामा अस्पताल औषधि खर्च अत्यन्तै महँगो छ । तैपनि बिमा भएकाले बिमाबाट त्यसको केही प्रतिशत आफूले नै र बिमा किन्न नसक्नेहरू ओबामा केयरको सुविधा प्राप्त गर्न सक्छन्न् गरिबहरूका त्यस्ता शुल्क चर्च वा सामुदायिक संस्थाहरूले पनि तिरिदिन्छन्न् । उक्त ब्युरोका अनुसार हरेक अमेरिकीहरू सरदर पाँच सय ७९ डलर मेडिकल बिलको ऋणी रहेछन् । सीबीएस न्यूज एजेन्सीले अमेरिकामा घरभाडा, कर, बिमा, खाना, यातायात, हरेचाह तथा अन्य आधारभूत आवश्यकता पूर्तिका लागि बुबा, आमा र दुईवटा बच्चाको पारिवारिक वार्षिक खर्चको फेहरिस्त निकालेको छ । उक्त एजेन्सीका अनुसार, परिवारका दुईजनाले मात्रै काम गर्ने एक मध्यम परिवारको वार्षिक बिल खर्च न्युयोर्कमा ९८ हजार सात सय २२, पेन्सिलभेनियामा ७६ हजार तीन सय ९३, सिकागोमा ६१ हजार एक सय ५०, क्यालिफोर्नियामा ७६ हजार नौ सय ८५, एरिजोनामा ६७ हजार चार सय ६८ डलर लाग्ने रहेछ । जीवनलाई निरन्तरता दिन, आधारभूत आवश्यकता परिपूर्ति गर्न उल्लेखित खर्च हुने बिल तिर्न रकम कमाउनैपर्छ ।
बिल र ब्याजबाट निस्सासिइरहेको अमेरिकी जीवन र जीवनशैलीको सहजता र निरन्तरता भनेको कडा परिश्रम नै हो । कडा परिश्रमसँगै आर्थिक व्यवस्थापन, खर्च कटौती, सहुलियतका अवसरहरूको खोजी, डिस्काउन्ट वा डिलका वस्तु वा सुविधाहरूको खोजीनिती र उपभोग, कम ऋण लिने, कम क्रेडिट कार्ड चलाउने, आफ्नो हैसियतभन्दा बढी आकाङ्क्षी वा महत्त्वाकाङ्क्षा नराख्ने, घरायसी व्यवसायको खर्च व्यवस्थापनमा जोड दिने, फजुल खर्च नगर्ने, सकेसम्म ऋण वा इन्स्टलमेन्टका सामानहरू नकिन्ने वा किने पनि समयमै भुक्तानी गर्नु नै उत्तम उपाय हुन्छ । जसले जान्यो, उसले मह चाट्यो । समुन्नतिका लागि आर्थिक व्यवस्थापन हाम्रो जीवनको सफलताका आधारस्तम्भहरू हुन् ।
प्रतिक्रिया