बिचरा गणेश थापा !

बिचरा गणेश थापा !


Ganesh Thapa
सभासद् गणेश थापाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को वागडोर सम्हालेको दुई दशक बितिसकेको छ । यो अवधिमा नेपालले अन्तर्राष्ट्रियस्तरमा कुनै उपाधि जित्न सकेको छैन । यति लामो अवधिमा एउटै पनि उपाधि हात पार्न नसक्दा थापाको थुप्रै आलोचनासमेत भएको छ र अहिले पनि हुने गर्छ । फुटबलहस्तीहरू भन्थे, ‘थापाको दुर्भाग्य नै फुटबलसँग जोडिएको छ । उनी सफल खेलाडी हुन्, तर सफल पदाधिकारी होइनन् । त्यसैले अब थापाले फुटबल छोडनुपर्छ ।’ तर, अहिले यो कुरा गलत सावित भएको छ । थापाका कारणले नभई फुटबल खेलाडीका कारणले गर्दा नेपालले कुनै उपाधि जित्न नसकेको प्रमाणित भएको छ । समग्रमा भन्नुपर्दा नेपाली फुटबललाई माथि उकास्न थापाले कुनै कसर बाँकी नराखेको सर्वविदितै छ । यो अवस्थामा मह काढ्नेले हात चाट्नु पनि स्वाभाविकै हो । थापा आफूले पनि चाटे खेलाडीलाई पनि चटाए, एन्फालाई पनि समृद्ध पारे ।

तर, तिनै आफूले मह चटाएका खेलाडीले अहिले थापाको हात काटेर चाट्ने दुस्प्रयास गरेका छन् । यतिले मात्र नपुगी डलरमा र्‍याल चुहाएर फुटबललाई राष्ट्रिय, तथा अन्तर्राष्ट्रियस्तरमा बद्नाम गराएका छन् । आफूलाई घिनौलो खेलमा संलग्न गराएर देशको हुर्मत लिने कार्य गरेका छन् । जसले अहिले स्वदेश र विदेशमा फुटबलको मात्र बद्नाम भएको छैन । यसको प्रभाव राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नतिजामा पनि परेको छ । तर, खेलाडी भने दुवैतर्फ मालामाल भएका छन् भने गणेश थापा घरको न घाटको । उनलाई आफ्नै विश्वासपात्र खेलाडीले पिठ्युँमा छुरा प्रहार गरेका छन् । परिणाम नेपाल दुई दशकयता उपाधिविहीन बनेको छ । विडम्बना, यसको आरोप सबै थापाको थाप्लोमा आइपरेको छ । उपाधिको सपना देख्दादेख्दै थापाले देखेका सपना चकनाचुर भएका छन् । उनको सारा मिहिनेत बालुवामा पानी हालेसरि भएको छ । साँचो अर्थमा भन्नुपर्दा उनी अहिले बिचरा सावित भएका छन् । यतिबेला उनलाई सङ्कटमोचन हनुमानको आवश्यकता छ, तर खोज्न कहाँ जाने बत्तीमुनिकै अँध्यारोले उनलाई सताएको छ ।

नेपाली फुटबलमा थापाको इसाराबिना पात पनि हल्लिँदैन भनिन्छ, तर यति ठूलो र यति लामो समयसम्म म्याच फिक्सिङको प्रकरणको षड्यन्त्र हुँदासमेत थापाले कसरी चाल पाएनन् त्यो अलि फुटबलप्रेमीलाई हजम भएको छैन । यो म्याच फिक्सिङको घटनालाई पचाउन उनीहरूले पटकपटक हाजमोलाको प्रयोग गरे पनि पच्न सकेको छैन । उल्टै ग्यास भरिएर फुटबलजस्तै बनेको छ । जुन ग्यास तलमाथि कहीँबाट पनि जान सकेको छैन । नाकाबन्दीले नेपाली जनता छटपटाएझैँ अहिले फुटबलप्रेमी पनि छटपटाएका छन् । यो प्रकरणपश्चात् थापाले खेलाडीलाई निलम्बन गरे पनि उनीहरूबारे एक शब्दसमेत बोलेका छैनन् । एन्फाका पदाधिकारीले सानो गल्ती गर्दासमेत रौद्ररूप धारण गर्ने थापाले फुटबल खेलाडीले यति ठूलो गल्ती गर्दासमेत किन मौनता साँधेका हुन् त्यो रहस्यमय बनेको छ । कतै प्रहरीले जानकारी गराएअनुसार एन्फाका पदाधिकारीको पनि यसमा संलग्नता त छैन ? अन्यथा आफ्नो छातीमा छुरा रोप्दासमेत थापा चुप लागेर बस्ने व्यक्ति त पक्कै होइनन् । बल्ल कुरा बुझियो, उनी सभासद् भएर होला बोली नफुटाएको, बिचरा गणेश थापा ।
– श्रीविक्रम भण्डारी