
स्वास्थ्य परीक्षण गर्न भन्दै अमेरिका पुगेका कांग्रेस सभापति सुशील कोइरालाले आफू क्यान्सरमुक्त भएको प्रचार अमेरिकाबाटै गराएका छन् । तिहारअघि कांग्रेस केन्द्रीय समितिको बैठक चल्दाचल्दै अमेरिका जान हतारिएका कोइराला आफू दुई साताजति अमेरिकामा रहने जानकारी केन्द्रीय सदस्य तथा पदाधिकारीहरूलाई गराएका थिए । तर, एक सूत्रले जनाएअनुसार उनी करिब एक महिना अमेरिकामा रहनेछन् र पार्टीको आगामी महाधिवेशन आफ्नो पक्षमा बनाउन आन्तरिक गृहकार्य गरिरहेका छन् । आफू क्यान्सरमुक्त भएको प्रचार गरिनुको मूल उद्देश्य पनि आउँदो महाधिवेशनलाई प्रभावित गर्नु रहेको बुझिएको छ ।
प्रधानमन्त्रीको निर्वाचनमा उम्मेदवार भएर पराजित भएपछि पार्टीभित्र सुशील कोइराला निकै अलोकप्रिय भएका छन् । अस्वस्थसमेत भएकाले उनीबाट अब कुनै गतिशील एवम् सकारात्मक काम हुन नसक्ने ठहर पार्टीका आमकार्यकर्ताले गरिरहेका छन् । अब सुशील कोइराला पार्टी राजनीतिमा क्रियाशील हुन स्वास्थ्य र नैतिकताको कारणले नसक्ने ठानिएका बेला कोइरालाले आफू सक्षम र स्वस्थ रहेको सन्देश दिन प्रयास गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनसँगको सामान्य भेटघाटलाई पनि कोइरालाले आफ्नो महत्त्व दर्शाउने अवसरको रूपमा प्रयोग गरेका छन् । जानकारहरूले भने यसप्रकारको प्रचारबाजीलाई कोइरालाको कूटनीति भनी टिप्पणी गरेका छन् ।
प्रतिक्रिया