
काठमाडौं । विगत दुई दशकदेखि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा एकलौटी शासन चलाउँदै आएका गणेश थापालाई फुटबलको सर्वोच्च निकाय फिफाले दश वर्षका निम्ति प्रतिबन्ध लगाएको छ । डाक्टर कर्नेल बोर्वेली अध्यक्ष रहेको इथिक्स कमिटीले थापालाई कारबाहीका लागि सिफारिस गरेपछि फिफाको नैतिक कमिटीले सबैखाले फुटबल गतिविधिबाट थापालाई दश वर्षका लागि प्रतिबन्ध लगाउनुका साथै बीस हजार स्वीस फ्र्यांक जरिवानासमेत गरेको छ । इथिक्स कमिटीले गरेको लामो अनुसन्धानमा थापा दोषी देखिएपछि उनलाई कारबाही गरिएको हो । यसअघि थापाले आफ्नो कार्यकालमा बीस करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोप लागेको थियो ।
समितिले थापालाई सन् २००९ र २०११ मा सम्पन्न एसियन फुटबल फेडेरेसन कङ्ग्ेरस र फिफाको चुनावमा आर्थिक अनियमितता गरेको र घुस लिएको आरोप लागेको छ । साथै समितिले उक्त घुस उनले आफ्नो र परिवारको फाइदाका लागि लिएको जानकारीसमेत गराएको छ । समितिले थापामाथि फिफाको धारा १३, १५, १८, १९, २० र २१ विपरीत कार्य गरेको ठहरसमेत गरेको छ । उक्त धारामा नीति–नियमविपरीत काम गरेको, इमानदारी नदेखाएको, पारदर्शी नभएको, व्यक्तिगत स्वार्थका लागि कार्य गरेको, उपहार लिएको र भ्रष्टाचार गरेको उल्लेख छ । संसद्को सार्वजनिक लेखा समितिले थापाले करोडौँ भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी दायर गरेपछि उनलाई फिफाले चार महिना फुटबलबाट निलम्बन गरेको थियो । तर, अख्तियारले प्रमाण नपुगेको भन्दै थापालाई कारबाही नगरी तामेलीमा राखेको थियो ।
शक्ति र सम्पत्तिको आडमा सधँै बच्दै आएका थापा यसपटक भने बच्न असफल भएका छन् । सरकार, अख्तियार, राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयले उनलाई कारबाही गर्न नसके पनि फिफाले भ्रष्टाचारदेखि विभिन्न सङ्गीन आरोप लगाएर दश वर्षका निम्ति प्रतिबन्ध लगाएको छ । लाखौँ डलरको हेराफेरी गर्दासमेत कहिले व्यापार, कहिले सापटी, कहिले फिर्ता गरेको त कहिले पारिवारिक सम्बन्ध देखाएर सरकारको आँखामा छारो हाल्दै उम्कन थापा सफल भएका थिए । तर, पाप धुरीबाट कराउँछ भनेझैँ यसपटक जुन संस्थाको धाक र रवाफ देखाएर नेपाली फुटबलमा रजाइँ गर्दै आएका थिए आज त्यही संस्थाले उनलाई भ्रष्टाचारी र घुसखोरीको आरोप लगाएर फुटबलबाट घोक्रेठ्याक लगाइदिएको छ । जसले अब थापाको फुटबलजीवनमा पूर्णविराम लागेको छ ।
एन्फाको वागडोर सम्हालेपछि थापा पटकपटक विवादमा पर्दै आएका छन् । आर्थिक र आन्तरिक विवादमा परेका थापाले आठ करोड रुपैया आफूसँग रहेको जानकारी सञ्चारकर्मीसामु बताएर सबैलाई चकित पारेका थिए । तर, उक्त रकम कहाँबाट आयो ? कसले दियो ? र कुन प्रयोजनका लागि आएको थियो त्यसबारे थापाले मुख खोलेका थिएनन् । फिफा र एएफसीबाट प्राप्त विभिन्न अनुदान सीधै आफ्नो व्यक्तिगत खातामा जम्मा गर्दै आएका थापाले उक्त आठ करोड रुपैयाँ पनि आफ्नै खातामा आएको बताएका थिए । आर्थिक अनियमियता, अपारदर्शिता र तानशाही प्रवृत्ति फुटबलमा मौलाउँदै गएपछि विगत दुई वर्षदेखि उनकै कार्यसमितिका तीनजना उपाध्यक्षले थापाका विरुद्धमा आन्दोलन चलाउँदै आएका छन् । उनीहरूले थापाका विरुद्धमा सार्वजनिक लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी र राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयमा कारबाहीका लागि ज्ञापनपत्रसमेत बुझाएका थिए ।
सबैलाई ज्ञात भएकै कुरा हो, नेपाली फुटबलमा थापाको इसाराबिना पात पनि नहल्लिने ठानिन्थ्यो । तर, म्याच फिक्सिङको शृङ्खला आठ वर्षको अवधिसम्म चल्दासमेत थापाले कसरी चाल पाएनन् त्यसमा षड्यन्त्रको गन्ध आएको छ । यो प्रकरणपश्चात् थापाले खेलाडीलाई निलम्बन गरे पनि उनीहरूको विरुद्धमा एक शब्द उच्चारण गरका छैनन् । एन्फाका पदाधिकारीहरूले सानो गल्ती गर्दासमेत रौद्ररूप धारण गर्ने थापा फुटबल खेलाडीले ठूलाठूला गल्ती गर्दासमेत मौन रहने गर्दथे । कतै प्रहरीले जानकारी गराएअनुसार एन्फाका पदाधिकारीको पनि यसमा संलग्नता त छैन ? कतै थापाकै इसारामा म्याच फिक्सिङ भएको त होइन– शङ्का उत्पन्न भएको छ । अन्यथा खेलाडीले देश र मुलुकको छातीमा छुरा रोप्दासमेत थापा चुप लागेर किन बसे त्यो खोजी र छानबिनको विषय बनेको छ । केही समयअघि चारजना फुटबल खेलाडी म्याच फिक्सिङ गरी देशलाई धोका दिएको आरोपमा पक्राउ परेका थिए । उनीहरूलाई उन्मुक्ति दिलाउन पनि थापा निकै सक्रिय भएका थिए ।
प्रतिक्रिया