सम्झनामा स्वीट्जरल्याण्ड

सम्झनामा स्वीट्जरल्याण्ड


babita basnet 15
– बबिता बस्नेत

०४६ को परिवर्तनपछि नेताहरूले मुलुकलाई स्वीट्जरल्याण्ड बनाउने कुरा गर्न थालेदेखि नै स्वीट्जरल्याण्डबारे जिज्ञासा थियो, कस्तो होला स्वीट्जरल्याण्ड ? विश्वका धेरै मुलुक पुगिसक्दा पनि त्यहाँ पुग्ने मेसो मिलेको थिएन । कहिलेकाहीँ जीवनमा नसोचेका संयोगहरू आउँछन् । एक महिनामा दुईपल्ट स्वीट्जरल्याण्डको सुन्दर सहर जेनेभा जाने अवसर मिल्यो, दसैँअघि र तिहारअघि । पहिलो सन्दर्भ थियो– वल्र्ड ह्युमानेटेरियन समिट र दोस्रो, युनिभर्सल पिरियोडिक रिभ्यु (यूपीआर) । यूपीआर योजनाबद्ध थियो, एफईएस जेनेभाले आयोजना गर्ने नेपालकेन्द्रित कार्यक्रमका लागि म र वरिष्ठ पत्रकार युवराज घिमिरेलाई बोलाइएको थियो । समिट भैपरी आएको भन्न मिल्ने । दुवै कार्यक्रमका आ–आफ्नै विशेषता थिए । समिट विश्वभरिका मानवीय संवेदनाले भरिएको र यूपीआर नेपालको मानव अधिकारमा केन्द्रित, नेपालको मानवअधिकार स्थितिबारे विश्वलाई सुनाउने र विश्वको प्रतिक्रिया सुन्ने अवसर, राज्यका लागि चुनौती पनि । समिटमा भूकम्पपछिको नेपालको अवस्थाबारे ओजिलो प्रस्तुति दिएर चाँदनी जोशी विश्व समुदायबीच वाहवाहकी पात्र हुनुभयो । यता यूपीआरमा समयले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई हुनै नपर्ने ठाउँमा ‘हिरो’ बनाइदियो । प्राय: मानवअधिकारको पुनरावलोकनमा बोल्दा सरकारी अधिकारी या मन्त्री स्यावासीका पात्र बन्दैनन् । तर, मुलुकको वर्तमान सङ्कट, आएका प्रश्न र त्यसको जवाफको तालमेलका कारण मन्त्री थापाले धेरैको मुखबाट ‘गज्जब’ भन्ने प्रतिक्रिया पाउनुभयो । कूटनीतिक क्षमतामार्फत वर्तमान सङ्कट पार लगाई जनतालाई सहज रूपमा गरिखाने वातावरण बनाएर त्यहाँ प्राप्त प्रशंसालाई जोगाएर राख्न सके राम्रो ।

असी लाख जनसङ्ख्या भएको स्वीट्जरल्याण्ड सङ्घीयता सफल भएको नमुना राष्ट्रको रूपमा पनि चिनिन्छ । भौगोलिक रूपमा पहाड र हिमाल रहेको त्यति सानो देशमा आफैँमा आत्मनिर्भर २६ वटा राज्य छन् । अहिले हामीकहाँ जनसङ्ख्या, भूगोलजस्ता अनेक विषयलाई लिएर सङ्घीयताका नाममा मुलुकमा यति ठूलो सङ्कट आइपरेको छ । तर, सङ्घीयता कार्यान्वयन गर्न जनसङ्ख्या, भूगोल, भाषा या यस्तै अन्य कुराहरूभन्दा ‘एटिच्युड’चाहिँ महत्त्वपूर्ण हो भन्ने कुराको उदाहरण पनि हो स्वीट्जरल्याण्ड । जबसम्म सम्बन्धित कुरालाई उपयोग गर्नेहरूको प्रवृत्तिमा सुधार हुँदैन तबसम्म चाहे त्यो जेसुकै होस् केको हातमा नरिवलसरह नै भइरहन्छ । जर्मन, फ्रेन्च, इटालियन, रोमान्स त्यहाँ बोलिने भाषा हुन् । राजधानी बेर्न भए पनि संयुक्त राष्ट्रसङ्घ मानवअधिकार उच्च आयुक्तको प्रधान कार्यालयदेखि अन्य संयुक्त राष्ट्रसङ्घीय कार्यालयहरूका कारण जेनेभा अन्तर्राष्ट्रिय समुदायको बढी चहलपहल हुने सहर हो । कमर्सियल सहरको रूपमा भने जुरिचलाई लिइन्छ जुन सांस्कृतिक रूपमा पनि सम्पन्न मानिन्छ । कृषिमा निकै अघि रहेको यो मुलुक पुग्दा यदि यहाँ जस्तै विकास हुन र ‘सिस्टम’मा चल्न पाएको भए हाम्रो देश प्राकृतिक रूपमा त योभन्दा के कम छ र ? जस्तो लाग्छ । उस्तै डाँडा, उस्तै हिमाल, चौरभरि चरिरहेका गाईवस्तु, बारीमा लगाएको खेती । जेनेभामा बसेर अन्तर्राष्ट्रिय समुदायमा काम गरिरहेकी मोना श्रेष्ठले बोटानिकल गार्डेन घुम्ने क्रममा भनेकी थिइन्– मेरी सासूले भन्नुभएको, यहाँ वर्तिर–पर्तिर फोहोर राखिदिने हो भने त स्वीट्जरल्याण्ड त नेपालजस्तै रहेछ रे । जताततै छुँदै मैलो लाग्ला कि झैं सफा र अत्यन्त व्यवस्थित सार्वजनिक यातायात त्यहाँका विशेषता नै हुन् ।

जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयहरू र अन्य अन्तर्राष्ट्रिय एजेन्सीमा काम गर्ने नेपालीको सङ्ख्या पनि राम्रै छ । करिब चारसय नेपाली स्वीजरल्याण्ड बस्दा रहेछन् । युरोपियन अर्गनाइजेसन फर न्युक्लियर रिसर्च (सर्न) मा काम गर्ने वैज्ञानिक सुयोग श्रेष्ठदेखि वल्र्ड ट्रेड अर्गनाइजेसन (डब्लूटीओ) मा बसेर नेपाललगायत ५५ मुलुक हेर्ने रत्नाकर अधिकारीसम्मको गौरवपूर्ण सहभागिता छ नेपालीको अन्तर्राष्ट्रिय समुदायमा । सुयोग र रत्नाकर दुवैसँग कुरा गर्दा फलेको हाँगो नझुकेको कहाँ छ र ? भन्ने कुराको अनुभूति भइरहन्छ । सुयोग प्राय: हरेक कुराकानीमा आफू हुर्किएको ठाउँ सिन्धुली, पढेको–बढेको काठमाडौंमा भएका घटनाहरूलाई उदाहरणको रूपमा जोडिरहन्छन् । हाम्रो गाउँमा यस्तो हुन्थ्यो, आमा यसो भन्नुहुन्थ्यो, हामीलाई पढाउने प्राध्यापकले यसो गर्नुहुन्थ्यो आदि । रत्नाकर जे–जे कुरा जहाँ–जहाँ भए पनि आफ्नो देशजस्तो कहाँ हुन्छ ? भन्छन् । धेरै मुलुक हेर्नुपर्ने भएकाले लामो समय उनको आकाशमै बित्छ, बाँकी रणनीतिक बैठकहरूमा । नेपालमा बैंकदेखि एनजीओ हुँदै दक्षिण एसियाली संस्थाको स्थापना र सञ्चालनको अनुभव संगालेका रत्नाकर अधिकारीको कुराकानीको सार केही गर्नुपर्ने त नेपालमै बसेर हो भन्ने हुने गर्छ । मुलुकका लागि केही गर्न नेपालमै बसिरहनुपर्छ भन्ने पनि होइन, ५५ वटा मुलुकमा काम गर्दा जब उनी आफ्नो परिचयसँगै म नेपाली हुँ भन्छन् देशको इज्जत स्वत: बढिरहेको हुन्छ । जेनेभास्थित इन्टरनेसनल ट्रेड सेन्टरमा रहेर विमेन एन्ड ट्रेड हेर्ने मोना इथियोपिया र कम्बोडियाका महिलाहरूको आर्थिक सशक्तीकरणमा काम गर्छिन् । व्यावसायिक रूपले मिल्दोजुल्दो काम गर्ने मोना र रत्नाकर पति–पत्नी हुन् ।

यात्राका क्रममा धेरै मानिस भेटिन्छन्, तर सबै मनमा आइरहने हँुदैनन् । यसपटक स्वीट्जरल्याण्ड भ्रमणका क्रममा भेटिएकी अर्की भद्र व्यक्ति हुन् गंगा कोइराला । पेसाले शिक्षक गंगा पहिला सिन्धुपाल्चोक र पछि काठमाडौंमा पढाउँथिन् । अहिले आफ्ना पति यादव कोइरालाको जागिरसँगै जेनेभा पुगेकी उनी दुई बच्चाको पढाइ र गृह–व्यवस्थापनमा सीमित भए पनि नेपालको हरेक कुरामा ‘अपडेट’ रहन्छिन् । राजनीतिक रूपमा के भयो, कुन मन्त्रीले के बोल्यो सबै । सिन्धुपाल्चोक माइती हुनुको दु:खद् परिणाम भूकम्पका बेला उनले पनि खेप्नुपर्‍यो । भूकम्पले घर भत्किँदा उनले आफ्नी जन्म दिने आमा गुमाइन् । आफू परदेशमा हुँदा आमा गुमाउनुपर्दाको पीडा अनुमान मात्र गर्न सकिन्छ । स्वर्गीय आमा र सासूको तस्बिरमा प्रत्येक बिहान जल चढाउने र साँझ बत्ती बाल्ने उनी नियतिलाई त स्वीकार्छिन्, तर भूकम्पले बाँचेकाहरूप्रति सरकारले देखाउन नसकेको संवेदनशीलताप्रति भने दु:खी छिन् । पहिल्यै हुनुपर्ने पुनर्निर्माणको काम अहिलेसम्म हुन सकेको छैन । भूकम्पका कारण हजारौँ बेघरबार मानिस टेन्टमा छन् । जाडो याम सुरु भयो, अब के गर्लान् उनीहरूले ? यो जाडो कसरी बिताउलान् ? उनको यो चिन्तायुक्त प्रश्न अहिले मानवीय संवेदना हुनेहरू सबैको साझा प्रश्न हो ।